खल्ती र सिटी एक्सप्रेसबीच सम्झौता, अनलाइनबाटै पैसा पठाउन र निकाल्न सकिने !

काठमाडौं । खल्ती डिजिटल वालेट र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच खल्ती एप तथा वेबसाईटबाटै रेमिट्यान्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्तीका निर्देशक अमित अग्रवालले कमलादी स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफरको मुख्य कार्यालयमा आयोजित एक समारोहबीच सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त सेवाको थालनी गरेका हुन् ।

सम्झौता अनुसार अब खल्ती एप तथा वेबसाईटमा रहेको रेमिट्यान्स आइकनमा क्लिक गरी खल्ती प्रयोगकर्ताले आफ्ना साथीभाई तथा परिवारलाई पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन् । यसरी पैसा पठाईसकेपछि पाउनुपर्ने पाउने व्यक्तिले आफ्नो मोबाईलमा एसएमएस मार्फत एउटा पिन प्राप्त गर्न सक्नेछन् । प्राप्तकर्ताले सिटी एक्सप्रेसका देशैभरी रहेका ७५०० भन्दा बढि रेमिट्यान्स एजेन्ट मध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त पिन देखाएर सहज तथा सरल रुपमा पैसा निकाल्न सक्नेछन् ।

यसका साथै खल्ती प्रयोगकर्ताले अब छिट्टै नै देशैभरी रहेका सिटी एक्सप्रेसका रेमिट्यान्स एजेन्ट मार्फत खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

सिटी एक्सप्रेससँगको उक्त सम्झौताका बारेमा बोल्दै खल्तीका निर्देशक अमित अग्रवालले भने, “हामी सिटी एक्सप्रेससँग यस प्रकारको सहकार्य गरी खल्ती प्रयोगकर्ताहरुलाई एपबाटै सिधै पैसा पठाउन र देशैभरी रहेका सिटी एक्सप्रेसका ७५०० भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत भुक्तानी लिने सेवा प्रदान गर्न पाउँदा उत्साहित छौँ । यस सहकार्य सँगै नेपालमा नविनतम डिजिटल फाइनान्सियल सेवा मार्फत मानिसको जीवन सहज बनाउने हाम्रो लक्ष्य तर्फ एक कदम अगाडी बढेको भान भएको छ ।”

त्यस्तै, सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भने, “प्रविधि व्यवसायमा संलग्न नेपाली युवाहरुको समूहले सुरु गरेको र निकै रुचाइएको खल्ती जस्तो एक फिन्टेक स्टार्टअपसँग सहकार्य गर्न पाउँदा हामी खुशी छौँ । वालेट एपबाटै पैसा पठाउने र एजेन्ट मार्फत पैसा निकाल्ने उहाँहरुको अप्रोच हामीलाई राम्रो लाग्यो । आन्तरिक मनी ट्रान्सफर सेवा सँगै बिना अतिरिक्त शुल्क खल्ती वालेटमा पैसा लोड गर्न र विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्न हामी आतुर छौँ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?