नेपालको सबभन्दा जेठो, परिवर्तन तथा लोकतन्त्रका लागि सबभन्दा लामो, गम्भीर र निर्णायक संघर्ष चलाएको र अन्तर्राष्ट्रिय जगतले पनि एकमात्र लोकतान्त्रिक पार्टी भनेर मानेको नेपाली कांग्रेस आगामी वर्षको फागुन ७ गतेदेखि १४ औँ महाधिवेशन गर्न लागेको छ ।
तर हालका गतिविधिहरूमाथि विचार गर्दा ‘महाधिवेशन’ के भन्ने, धेरै भए ‘राष्ट्रिय भेला,’ नत्र ५ वर्षे हाट बजारजस्तो, यसपाली पनि केवल स्थापित नेतृत्वलाई रबर स्टाम्पको अनुमोदन गरेर सकिने छाँट छ भन्नु अतिशयोक्ति नहोला । वैचारिक रुपले मुर्छित र संगठनात्मक रुपमा स्खलित पार्टीमा विचारले पार्टी हाँक्ने कुरा हराएर जाँदो रहेछ । त्यो अवस्थामा पार्टीको विधान नै सबभन्दा पीडित हुने रहेछ । त्यहाँ त खाली मुडेबल, यान्त्रिक र अराजक किसिमले गुट चल्ने गर्छन्, जस्तो कि पार्टी निरिह हुन्छ पार्ट हावी हुन्छ ।
पार्टीको नीति, सिद्धान्त, रणनीति, लक्ष्य, संकल्प जस्ता विषयमा अध्ययन, अनुसन्धान, छलफल, बहस, चिन्तन र मन्थन गर्ने मन कसैमा हुँदैन । नेतृत्व नै त्यसका लागि अनुकूल भईदिँदैन भने कसैको केही लाग्दैन । आजको काँग्रेसमा वैचारिक अनिकाल नै किन विशेषता हुनपुग्यो, जहाँ पदको तानातान र हानथाप छ ।
नेताहरूसमक्ष रचनात्मक र नौलो बुद्धिको कुरा गर्ने कार्यकर्ताको ५ मिनेट कुरा सुन्ने धैर्यता नेताहरूमा प्रायः मरिसकेको छ । त्यसैले बुद्धि–विवेक र विचारले काम गर्न चाहने कार्यकर्ताको कुरा सुन्नतिर नलागी चिडचिडाहट शैलीमा “लल भो अब, मैले बुझेको छु” भनेर पन्छाउन बल लगाउँछन् । सिद्धान्त सिद्धिएर रित्तो देखिन्छ, जसका नेताहरू लोकतन्त्रका रित्ता ढ्वाङ् जस्तो लाग्छ । के यही भद्रगोल र लथालिङ्ग दुर्दशा यस पार्टीका पाँचलाख बढी सक्रिय सदस्यहरूलाई सहजरुपले मान्य छ ? छ भने यी हरफहरूको पनि दुईकौडीको मोल छैन, पक्का !
यतिबेला गिनेचुनेका सबैजसो काँग्रेस नेताहरू कम्तिमा केन्द्रीय समिति सदस्य, नत्र सभापति, उपसभापति, महामन्त्री पद ताकेर उठ्ने भन्दै हिँडेका छन् । पार्टीको महाधिवेशन वा जनप्रतिनिधित्वको निर्वाचन होस्, सबैले आफ्नो भाउ बढाउन खोज्नु त स्वाभाविक हो । काँग्रेसको यस ‘हाट–बजार’मा पनि सबै चालुपूर्जा नेताहरू आफ्नै भाउ बढाउनमात्र ध्याउन्नरत छन् । विचार र बुद्धिको ठेक्का कुनै नेतालाई दिइन्छ । उसले महाधिवेशनमा झारा टार्न एउटा कागज तयार पारेर ल्याउँछ । महाधिवेशन सकिएपछि त्यसलाई कसले हेरोस् ! महाधिवेशन प्रतिनिधिहरू आफ्नो दुनो सोझ्याउन हिँड्छन् ।
पार्टी भनेको चुनाबको समयमा उम्मेद्वारीको टिकट हत्याउने सिनेमाको टिकटघरजस्तो हुनपुगेको छ, टिकट लिईसकेकोलाई टिकटघरसँग के वास्ता !
बहालवाला सभापति शेरबहादुर देउबा र बरिष्ठ नेता रामचन्द्र पौडेलमध्ये एक काँग्रेसका नवौँ सभापति होलान् नै । तेस्रो गुटले शर्मनाक हार ब्यहोर्नुपर्ने अवसर सुरक्षितै छ । महाधिवेशनमा काँग्रेसले पार्टीभन्दा पनि दायित्वविहिन भीडका रूपमा आपूmलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्छ । काँग्रेसप्रति यथावत रहेको जनआकर्षणलाई हेर्दा जनमतले होइन, सङ्गठन निर्माण तथा परिचालन गर्ने नेताहरूले नै जनसमर्थन फ्याँक्दै हिँडेको कारणले काँग्रेस कमजोर भएको अर्थ र दोष नेतृत्वमाथि जान्छ । महाधिवेशनका क्रममा काँग्रेसको दलीय आचरण र सामुहिकताको भावनालाई होइन, असहमत हुने सबैलाई पछारेर आपूm बलियो हुन निर्दलीय आचरण र खुट्टा तान्ने मनोवृत्ति अभिब्यक्त हुने परिपाटी नै बसिसक्यो । पार्टीभित्र वैचारिक बहस होइन, नसुध्रिएको आपसी ‘रगडा’को पराकाष्टा भएर महाधिवेशन आइरहेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले सभापति निर्वाचित भएको ४ वर्षसम्म सिन्को भाँच्ने बराबरको काम पनि नगरी कार्यकाल बिताउनु भयो । अहिले आएर चौधौँ महाधिवेशनको तिथि घोषणा गरिसकेको र काम गर्ने मौका नरहेको चरणमा केन्द्रीय विभागहरूको गठन गर्न थाल्नुलाई सभापति पद हत्याउने हत्कण्डा नभनेर के भन्ने ? यी विभागहरू गठन गर्दा पार्टीको विधानलाई पूरै कुल्चिने काम भएको छ । पार्टी विधानमा २८ वटा विभागको व्यवस्था छ, तर सभापति देउबाले विभागको संख्या ४७ वटा पु¥याउनु भयो, किन ? पार्टी कब्जा गर्नबाहेक यसको अरु जवाफ नै हुनसक्दैन ।
अहिले पनि काँग्रेसबारे जनतामा सकारात्मक चासो र आकर्षण बढेर आएको यथार्थ गत मंसिरमा सम्पन्न उपचुनाबमा धरानको मेयर, भक्तपुरमा वाग्मती प्रदेशको सांसद र अन्य ७ वटा नयाँ वडाअध्यक्ष निर्वाचित भएर आएको धरातलीय यथार्थ हो । जनताले पार्टी (हरू)बारे आफ्ना धारणा ब्यक्त गरिरहेको हुन्छ । तर जनभावनलाई संस्थागत रूपले समेट्ने र जनताका मनसँग खेल्ने कला नेतृत्वले देखाउने गरेको छैन । महाधिवेशनमात्र नयाँ हो, नेतृत्वका अनुहारहरू प्रायः पुरानै हुन् । अब पनि बासी विचार, नसुधे्रको प्रवृत्ति र यसका सिद्धान्त तथा मान्यतासँग तालमेल नहुने स्वभाव बोकेर पार्टी हाँक्छु भनी कसैले सोचेको छ भने त्यो साह्रै अनर्थ हुन्छ ।
सङ्गठन जसको पनि हुनसक्छ । तानशाहको पनि पार्टी हुन्छ । मौरी, कमिला आदि समुहमा बस्ने प्राणी हुन् भने सलह, धमिरा, अरिँगाल, बाँदरहरू पनि समुहमै बस्ने प्राणी हुन् । तर धमिरा र मौरीको सङ्गठनात्मक आचरण वा गतिविधि फरक हुन्छ । आतङ्ककारी सञ्जाल, अण्डरवल्र्ड वा डाँकाको पनि सङ्गठन हुन्छ । त्यसकारण पार्टी हुनका लागि सङ्गठन हुनुपर्छ भन्दैमा त्यसको सामाजिकता र मानवीयता बिर्सन मिल्दैन ।
कम्युनिष्टहरूको पार्टी हुन्छ र लोकतन्त्रमा विश्वास राख्ने शक्तिको पनि पार्टी हुन्छ । तर त्यो पार्टीको जनतासापेक्ष नियत कस्तो छ, त्यसैले नै त्यस पार्टीको अल्पायु वा दीर्घायु निर्धारण गर्दछ । लोकतन्त्र भनेको घोक्ने कुरा होइन, गरेर देखाउने कुरा हो । ‘समाजवाद’ किताबमा लेख्ने (मात्र) कुरा नभै पार्टीको सामाजिकीकरण प्रक्रियाको मार्गदर्शन हो । त्यसकारण काँग्रेसले आफुलाई समाजवादी भनाउन समाजवादप्रतिको उसको धारणा र आचरण प्रष्ट पार्नुपर्छ । लोकतन्त्रमा पार्टीतन्त्र हावी भयो भने त्यहीँबाट तानाशाहको उत्थान हुन्छ । आज त्यसको आभास झनै बढ्दै गएको छ ।
काँग्रेसले आफ्ना आधारभूत सिद्धान्त र मार्गदर्शनको पुनःपरिभाषा गर्ने बेला आएको छ । परिभाषाको घोषणाले मात्र हुन्न त्यसमा टिक्ने आचरण र इच्छाशक्ति पनि देखाउन सक्नुपर्छ । १४ औँ महाधिवेशनमा उसले नीति र कार्यक्रममा भन्दा निर्वाचन र नेतातिर सम्पूर्ण ध्यान एकोहो¥याइरहेकोले बैचारिक पक्ष मृतप्रायः भएको छ । काँग्रेसले अब अर्को संघर्ष चलाउनुपर्छ ।
यसले आफ्नै नियत, मनोवृत्ति र कार्यशैलीसँग संघर्ष गरेर जित्न सक्नुपर्छ । १४ औँ महाधिवेशनमा यो प्रश्न जरुर उठ्ला (उठ्नुपर्छ) ः आजको काँग्रेसलाई ‘मरेका नेताहरूले बचाएको, बाँचेका नेताहरूले डुबाईरहेको पार्टी’ किन भनिँदै छ, यसका नेताहरूले यो दोषबाट आँखा खोल्न सकेका छन् ?
जुनसुकै पार्टी होस्, त्यसले निर्वाचन र नीतिगत रूपमा दुई छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने पाठ काँग्रेस र सत्तारुढ पार्टीका महाधिवेशनहरूमा देखिएका कमजोरीले सिकाएका छन् । नत्र निर्वाचनको कोलाहलले नीतिगत पक्षलाई अन्धकारतिर धकेल्ने रहेछ । नीतिबिनाको नेतृत्व ब्यर्थ मात्र होइन, खतरनाक पनि हुनसक्छ । नीतिगत कार्यप्रक्रिया नहुँदा ‘हुकुमी’ वा ‘हैकमी’ कार्यशैलीले प्रश्रय पाउँछ ।
खासगरी पञ्चायत आएपछि काँग्रेसमा नीतिमुखी नभएर नेतामुखी एवं हैकमी शैलीले यसरी पश्रय पाउँदै गयो कि आखिर त्यो नै काँग्रेसको परम्परा बन्नपुग्यो । अब यस पार्टीले वस्तुस्थितिका साथै मनस्थितिमा पनि परिवर्तन भएको देखाउन सक्नुपर्छ । चौधौँ महाधिवेशनमा पुग्नलागेको काँग्रेस अब पार्टीजस्तो होइन, पार्टी नै बनेमात्र त्यसले दिग्विजयी बन्न र दीर्घायु पाउन सक्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया