वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान रामनारायण बिडारीको राजीनामा ?

काठमाडौं । राजनीतिक बृत्तमा एउटा नयाँ विषयले प्रवेश पाएको छ । अर्थमन्त्रीमा युवराज खतिवडाले पुनर्नियुक्ति पाइसकेको अवस्थामा राजनीतिक बृत्तमा फेरि उनले राष्ट्रियसभामा पनि स्थान पाउने चर्चा सुरु भएको हो ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामै नियुक्ति गर्न चाहेको र पार्टीले बामदेव गौतमलाई लैजाने निर्णय गरेको अवस्थामा नयाँ विषयले चर्चा पाएको हो ।

नेकपामा अहिले खतिवडा र बामदेव दुबैलाई राष्ट्रिय सभामा लैजाने विषयमा छलफल भएको बाहिर आएको छ । तर, यस विषयमा नेकपाले आधिकारिक धारणा बाहिर ल्याएको छैन ।

अहिले सामाजिक सञ्जालसमेतमा यसबारे बहस भइरहँदा नेकपा भने मौन छ । केपी ओली सरकारले रामनारायण बिडारीलाई फिर्ता बोलाएर उनको ठाउँमा बामदेवलाई मनोनयन गर्ने चर्चा छ । सरकारले राष्ट्रपतिले नियुक्त गर्ने कोटामा खतिवडालाई जस्तै बिडारीलाई पनि सिफारिस गरेको थियो ।

अहिले पार्टीभित्रको समीकरण मिलाउन बिडारीको ठाउँमा गौतमलाई लैजाने र खतिवडाले पनि निरन्तरता दिने गरी समझदारी नेकपामा भएको दावी गरिएको छ ।

यस विषयमा नेकपा उपाध्यक्ष समेत रहेका बामदेव गौतमको सचिवालयले खण्डन गरेको छ । गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले विडारीलाई फिर्ता बोलाएर बामदेवलाई राष्ट्रियसभामा लैजाने कुरा हल्लामात्रै भएकाले यसमा कुनै सत्यता नरहेको बताए ।

आजै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने पार्टी सचिवालयको निर्णय अनुसार प्रधानमन्त्रीले अस्पतालबाट फिर्ता भएपछि बामदेवलाई नै सिफारिस गर्ने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?