पहिलो उपप्रधानमन्त्री शैलजा आचार्य : २०५५ सालमा मात्र नेपालले महिला उपप्रधामन्त्री पाएको हो । आजीवन अविवाहित रहेर राजनीतिमा होमिएकी शैलजा आचार्यले पहिलो उपप्रधानमन्त्री, कृषि र जलस्रोत मन्त्री, उच्चस्तरीय सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्षजस्ता ओहोदा सम्हालिन् । लोकतन्त्रका आदर्श, मूल्य र मान्यताप्रति समर्पित साहसिक नारी व्यक्तित्वका रुपमा इतिहासमा उनको सम्मानजनक स्थान छ ।
पिता डा. (चिकित्सक) पिनाकीप्रसाद आचार्य र आमा इन्दिराकी छोरी शैलजा नाताले विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसादकी भाञ्जी हुन् । मामा गिरिजाप्रसाद प्रधानमन्त्री र आपूm सोही मन्त्रिमण्डलमा कृषिमन्त्री भएकै बेला उनले ‘प्रधानमन्त्री निवासदेखि सिंहदरबारसम्म भ्रष्टाचारको दबदबा छ’ भनेर सनसनी मच्चाइन् । उनलाई त्यो भनाई फिर्ता लिन भनियो, तर उनले अडान छोडिनन् बरू राजिनामा दिन तयार भइन् र सरकारबाट बाहिर आइन् ।
२००१ जेठ अन्त्यतिर विराटनगरमा जन्मेकी शैलजा सानै उमेरदेखि लोकतान्त्रिक आन्दोलन र पार्टी राजनीतिमा लागेकी हुन् । २०१७ सालमा पञ्चायत ब्यवस्थाको विरोधमा राजा महेन्द्रलाई काठमाडौँको टुँडिखेलमा कालोझन्डा देखाउने महिलाको नेतृत्व गर्दा उनको उमेर मात्र १७ वर्षको थियो । त्यसपछि उनले धेरै वर्ष लोकतान्त्रिक आन्दोलनका क्रममा जेल जीवन बिताइन् । नेपाली काँग्रेसको उपसभापति हुने पहिलो महिला पनि उनै हुन् । अल्जाइमर्स्का साथै निमोनियाबाट उनको २०५६ जेठमा ६५ वर्षको उमेरमा उनको निधन भयो ।
मङ्गलादेवी सिंह : नेपालको लोकतान्त्रिक आन्दोलनका सन्दर्भमा मङ्गलादेवी सिंहलाई स्मरण गरिएन भने सन्दर्भ अधुरो र अपूर्ण हुन्छ । १९९७ सालमा बिवाह भएको चार महिना पनि नबित्दै पति गणेशमान सिंह राजकाज मुद्दा लागेर राणा शासनको चरम शारीरिक यातना सहँदै फाँसीको दिन गन्नुपरेको अवस्था नेपाली नारीहरूमा बिरलै आइलाग्ने सङ्कट हो, जुन मङ्गलादेवीले भोगिन् ।
पतिको त्यही गिरफ्तारीले उनलाई राजनीतितिर तान्यो, उनी शुरूदेखि नै विद्रोही महिलाका रूपमा प्रस्तुत भइन् । उनी बिवाहका गहना फुकालेर विद्रोही राजनीतिमा होमिइन् । उनी नेपाल महिला संघका संस्थापक हुन् । महिला आफ्नै व्यक्तित्वले चिनिनुपर्छ भन्ने मान्यताबाट प्रेरित भएर उनले आफ्नो नाममा कहिल्यै ‘श्रीमती’ लेखिनन् । उनलाई ‘प्रथम महिला’ पनि भनिन्थ्यो ।
बि.सं १९८२ मंसिर २५ गते न्ह्योँखा (तजाफः) टोलमा बग्गी मर्मत गर्ने पेशा भएका उच्च चेतनशील तथा कुलिन परिवारमा पिता बद्रीलाल र माता पूर्णदेवी श्रेष्ठबाट उनको जन्म भएको थियो । मङ्गलबार जन्मिएकी हुनाले उनको नाम मङ्गला राखिएको बताइन्छ । २०५२ भदौ २ गते वीर अस्पतालमा मधुमेह तथा मिर्गौलाको बिमारबाट उनको निधन भयो ।
पहिलो मन्त्री द्वारिकादेवी ठकुरानी : नेपाली संसदीय प्रजातन्त्रको इतिहासमा पहिलो जननिर्वाचित महिला सांसद बनाउने श्रेय सुदुरपश्चिमाञ्चलका जनतालाई जान्छ । २०१५ सालको संसदमा उनी एकजनामात्र महिला सांसद थिइन् । डडेलधुरा क्षेत्रबाट निर्वाचित भएकी द्वारिकादेवी ठकुरानीले २००३ सालमा नेपाली काँग्रेसबाट राजनीतिक जीवन शुरू गर्दा पुरूषप्रधान रूढीग्रस्त स्थानीय समाजका अनेक निन्दा, तिरस्कार र अपहेलना सहनुप¥यो । यति भए ता पनि उक्त आमचुनावमा ४४ वर्षकी उनी शानदार मतले विजयी भएकी थिइन् ।
द्वारिकादेवी २००७ जनक्रान्तिमा डडेलधुरा क्षेत्रमा सक्रियरूपले खटेकी, घरका निजी बन्दुकहरू क्रान्तिकारीहरूलाई दिने, क्रान्तिकारीहरूलाई गाँस र बास दिने, पार्टीका राजनीतिक कुरा लिएर गाउँगाउँ पुग्ने, परोपकार तथा समाजसेवामा जोड दिने, कार्यकर्ताहरूलाई स्नेही ब्यवहार गर्ने, पार्टीप्रति अविचलित आस्था र निष्ठा राख्नेजस्ता नेतृत्वमा हुनुपर्ने सहज गुणकी धनी द्वारिकादेवीले ऊ
बेला आमाबाट पाएको छःहजार रूपैयाँमध्ये चारहजार रूपैयाँ डडेलधुरामै विद्यालय स्थापना गर्न खर्च गरेकी थिइन् ।
२०१६ सालमा बीपी कोइरालाको मन्त्रिमण्डलमा उनी पञ्चायत तथा स्थानीय स्वायत्तशासन उपमन्त्री भइन् । उनका विभागीय (क्याबिनेट स्तरीय) मन्त्री काशीनाथ गौतम थिए । डेडवर्षको मन्त्रित्वकालमा उनले परिवार नियोजनका लागि सरकारी प्रयासको प्रारम्भ गरिन् ।
उनी नेपाल परिवार नियोजन संघका संस्थापक अध्यक्ष भइन् । १९७२ साल मंसिर १४ गते डडेलधुरामा जन्मिएकी द्वारिकादेवीलाई महाकाली अञ्चलाधीशले पञ्चायतको समर्थन गराउन अनेक प्रलोभन, त्रास र दबाब दिए पनि त्यसको परवाह नगरी पञ्चायतको विरोधमा सदैव आफुलाई उभ्याइरहिन् । ८८ वर्षको उमेरमा क्यान्सर रोगबाट २०५९ मंसिर २४ गते उनको निधन भयो ।
पहिलो कलेज प्रिन्सिपल अङ्गुरबाबा जोशी : २०११ सालमै पद्मकन्या कलेजको लेक्चरर र २०१९ सालदेखि ११ वर्षसम्म सोही कलेजको प्रिन्सिपल भएकी श्रीमती अंगुरबाबा जोशी प्रसिद्ध बैज्ञानिक प्रा.डा.(स्व.) बलराम जोशीकी पत्नी हुन् । बनारस हिन्दु विश्वविद्यालयबाट २०११ सालमा राजनीतिशास्त्रमा एम्.ए., दुई वर्षपछि पटना विश्वविश्वविद्यालयबाट बी.एल्. र २०१८ सालमा अक्सफोर्ड विश्वविद्यालयबाट बी.लिट. पूरा गरेकी यिनी साहित्य, धर्म, दर्शनशास्त्र, राजनीतिशास्त्र, संस्कृत भाषामा समेत गहिरो दखल भएकी महिला व्यक्तित्व हुन् ।
२०३३ सालमा राष्ट्रसंघले अन्तर्राष्ट्रिय नारी वर्ष मनाउने घोषणा गरेपछि नेपालमा पहिलोपटक महिलासम्बन्धी गतिविधि हुनथालेको बेला यिनी नारी वर्ष नेपाल समितिकी पहिलो अध्यक्षा बनेकी थिइन् ।
तारागाउँ विकास समिति र तारागाउँ होटेलकी संस्थापिका, अन्तर्राष्ट्रिय महिला अधिवक्ता संगठनका सदस्य (२०३१–३३), २०३२ सालमा तीन वर्षका लागि राष्ट्रिय पंचायत सदस्य मनोनित, पहिलेको ‘सामुदायिक सेवा समन्वय परिषद’ को अध्यक्षजस्ता महत्वपूर्ण ओहोदाद्वारा यिनले यथेष्ट योगदान पु¥याएकी छन् ।
बि.सं. १९९२ साल असोजमा जन्मेकी अंगुरबाबाको हाल मुखका ग्रन्थीमा संक्रमित क्यान्सरका कारण अपरेशन गरेपछि मुखमा परिवर्तन देखिन्छ । आफ्नो जमानाकी एक जल्दोबल्दो, प्रभावशाली र प्रेरणादायी महिलाका रुपमा लिइन्छ यिनलाई ।
पहिलो महिला सगरमाथा आरोही पासाङ्गलाह्मु शेर्पा : नेपाली महिला पनि अरुभन्दा कम छैनन् भन्ने उदाहरणको नाम हो प्रथम सगरमाथा आरोही पासाङ्गलाम्हु शेर्पा, जसले यसैबाट विश्वमा नेपाली महिलाको गौरव बढायो । तर सगरमाथा चढेर फर्किँदा सगरमाथाको बीच बाटोमा उनको निधन भयो । राजा वीरेन्द्रले उनलाई मरणोपरान्त बिरलै दिइने वीरताको विभूषण ‘नेपाल तारा’ प्रदान गरे ।
उनका नाममा हुलाक टिकट, राजमार्ग, शालिक, पर्वतारोहण तालिमकेन्द्र आदि स्थापित भएका छन् । कृषि मन्त्रालयले ‘पासाङ्गलाम्हु गहुँ’ नामक उन्नत बिऊ नामकरण, झापाको धुलाबारीमा पासाङ्गलामु स्मृति हल, जसम्बा हिमाललाई उनैको नाममा पुनःनामाकरण पनि भयो ।
२०१८ सालको ‘विश्व मानवअधिकार दिवस’ (डिसेम्बर १०) मा उनी पर्वतारोही परिवारमा जन्मेकी र किशोरावस्थादेखि नै हिमाल आरोहणतिर आकर्षित भएकी थिइन् । सन् १९९३ अप्रिल २२ का दिन उनले सगरमाथाको सफल आरोहण गर्नुअघि मोन्ट ब्लाँ र चो ओयु हिमाल चढिसकेकी हुन् । निधनको बेला उनको उमेर ३२ वर्षको थियो ।
पहिलो गायिका मेलवादेवी गुरूङ् : पुरानो जमानामा ग्रामोफोन रेकर्ड गराउने पहिलो नेपाली गायिका मेलवादेवी गुरूङ् थिइन् । बि.सं. १९८५ सालमा उनले भारतको कोलकातामा पुगेर ग्रामफोन रेकर्डमा गाएको गीत “सवारी मेरो रेलै……” मा थियो, जुन चन्द्र शम्शेरलाई निकै मनपर्ने गीत थियो ।
ओखलढुङ्गाको रुम्जाटार काफलबोट गाउँमा पिता ज्ञानबहादुर लामिछाने गुरूङ् र माता सप्तदेवीकी जेठी छोरी मेलवाको जन्म बि.सं. १९५६ सालमा भएको थियो ।
बाल्यावस्थादेखि नै गायन प्रतिभा भएकोले उनलाई आमा र दिदी बलमायाले १९६५ सालमा काठमाडौँ ल्याएर प्रधानमन्त्री चन्द्र शम्शेरको दरबार (सिंहदरबार) मा प्रवेश गराए । पछिल्लो कालखण्डमा उनले आफ्नो नाम फेरेर ‘सुलभा’ राखे पनि मेलवादेवी नेपाली संगीतको क्षेत्रमा आज पनि सम्झिइने नाम हो ।
उनले तत्कालीन दरबारका रंगमञ्चमा नौवर्षको उमेरमै गाउन थालिन् । उनको गायन प्रतिभाबाट चन्द्र शम्शेर र उनका छोरा केशर शम्शेर यति प्रभावित भए कि मेलवालाई शास्त्रीय संगीतका वस्तादहरूबाटै दरबारभित्र थप तालिम दिन थालियो । त्यसपछि त मेलवादेवीको प्रतिभाको बयान भारतसम्म पनि पुग्यो ।
चन्द्र शम्शेरकहाँ भोजभतेर र पाहुना सत्कार हुँदा भव्य रंगमञ्चमा मूख्य गायिकाका रुपमा प्रस्तुत हुनेमा मेलवादेवी नै थिइन् । यस परिवेशबाट दरबारका अर्काथरि रीसले जल्न थाले र उनको स्वर बिगार्ने षड्यन्त्र हुनथाल्यो, उनले खाने पानमा सिंदुर हालियो ।
उनको स्वर अचानक खस्किएपछि चन्द्र शम्शेर अति दुःखी भए । स्वरको उपचार गर्न बेलायती डाक्टर झिकाए, तर जति कोशिश गरे पनि मेलवाको स्वर पहिलेजस्तो भएन, तै पनि चन्द्र शम्शेर उनलाई गाउन लगाइरहन्थे ।
दरबारभित्रको षड्यन्त्रका कारण मेलवादेवी आखिर दरबारबाट विदा भएर चन्द्र शम्शेरले बिजयेश्वरीमा किनिदिएको घरमा बस्न थालिन् । त्यहीँ रहँदा दरबारका तबला वादक भक्तकृष्ण मानन्धरसँग उनको प्रेम विवाह भयो र विमला र शान्ति नामका दुई छोरी जन्मे ।
अन्तर्जातीय विवाह गरेकोमा भक्तकृष्णलाई दरबारमा प्रवेश निषेध भयो र मेलवादेवीलाई आफ्नो समुदायबाट पनि बञ्चित गरियो । त्यसपछि मेलवा (शहीद) शुक्रराज शास्त्रीको सल्लाहमा दुईटी छोरीका साथ एकमहिनाको सुत्केरी अवस्थामै घर बेचेर कोलकाता गइन्, एउटा स्कूलको संगीत शिक्षिका बनिन् र घरमा पनि संगीत कक्षा चलाएर गुजारा गर्नथालिन् ।
षड्यन्त्रले स्वर बिग्रेको भए पनि भारत पुगेपछि गायन प्रतिभाबाटै उनी सुपरिचित भइन्, धेरै पुरस्कार पाइन् । इलाहावाद संगीत सम्मेलनले उनलाई ‘ठुमरीकी रानी’ उपाधीले सम्मान ग¥यो । २०१२ साल मंसिरमा खाना पकाइरहेको स्टोभ अचानक पड्केर उनी जलिन् । छिमेकीहरूले उनको डडेको लाश कोठाभित्रै फेला पारे ।
मदन पुरस्कार पाउने पहिलो महिला साहित्यकार ‘पारिजात’ : यिनको वास्तबिक नाम विष्णुकुमारी वाइबा हो । प्रभावशाली महिला साहित्यकार, यिनका शिरिषको पूmल, महत्ताहिन, परिभाषित आँखाहरू, बैँशको मान्छे, तोरीबारी, बाटा र सपनाहरू, आदि १० उपन्यास, चारवटा उत्कृष्ट कथासंग्रह, विभिन्न (संस्मरणात्मक) निवन्ध आदि २०वटा कृति लेखेकी छन् । ‘शिरीषको फूल’ उपन्यासले उनलाई मदन पुरस्कार पाउने पहिलो महिलामात्रै बनाएन, अँग्रेजीभाषी मुलुृकका पाठ्यक्रममा पनि समावेश गरिएको छ ।
१९९४ सालमा दार्जिलिङ्गमा जन्मेकी पारिजातको सानै उमेरमा आमा अमृत मोक्तानको निधन भएपछि हजुरबा मनोविज्ञानविद् डा. के.एन. मोक्तानले हुर्काए ।
स्कूलको अध्ययन दार्जिलिङ्गमै सकेपछि उनी १७ वर्षकै उमेरमा २०११ सालमा नेपाल आइन् । उनका बहिनी–ज्वाईँ कम्युनिष्ट नेता निर्मल लामा २००७ सालको क्रान्तिमै सक्रिय सरिक, र २००८ सालमा बडाहाकिम भएका थिए ।
पद्मकन्या कलेजबाट बीए उत्तीर्ण गरिन् । २६ वर्षकै उमेरमा उनी पक्षाघातले पीडित भएर कुँजिइन् । भारतको पश्चिम बंगालस्थित सिलिगुढी र नेपालका विभिन्न स्थानमा उनको शालिक खडा गरिएको छ भने सरकारले हुलाक टिकट पनि प्रकाशित गरेको छ । वामपन्थी विचारधाराकी पारिजात आजीवन अविवाहित रहिन् र २०५० सालमा धर्तीबाट विदा भइन् ।
पहिलो पार्टी–अध्यक्ष पम्फा भूसाल : नेपालको पार्टी राजनीतिमा अविवाहित पम्फा भूसाल ०५२ जेठमा पहिलो महिला पार्टीप्रमुखका रुपमा संयुक्त जनमोर्चाको अध्यक्ष भइन्, जसलाई भूमिगत नेकपा एकताकेन्द्रको खुला फाँट मानिन्थ्यो । नेकपाकी अग्रपंक्तिकी नेता, पम्फाले जनमोर्चा हुँदै एकताकेन्द्र र नेकपा (माओवादी) को संस्थापकमध्ये एक भएर काम गरिन् । पूर्वमाओवादी (पार्टीको उपनाम ‘बिजुली’) को पोलिटब्युरोसम्म पुग्ने २ मात्र महिलामध्ये उनी एक हुन् ।
२०६३ सालमा बृहत् शान्ति सम्झौतापछि २०६४ सालमा उनी पहिलोपटक तत्कालीन सरकारमा माओवादी पनि सामेल हुँदा उनी महिला, बालबालिका तथा समाजकल्याण मन्त्री नियुक्त भइन् । सोही वर्ष उनलाई फ्रान्सको लागि नेपाली राजदूत नियुक्त गरिएको थियो । फ्रान्स सरकारले स्वीकृति नदिएपछि नियुक्ति रद्द भयो र मन्त्री बनाइयो ।
छोरा पाउन जन्मेका धेरै दिदीबहिनीमध्ये काईँली छोरीको रुपमा, माता इन्द्रकला र पिता गोविन्द भूसालबाट २०१९ सालमा अर्घाखाँचीको किमडाँडामा पम्फाको जन्म भएको हो । छोरीलाई पढाउनु हुन्न भन्ने आफ्नो घरपरिवारको तत्कालीन मान्यताको विपरित संघर्ष गरी विद्यालय जाने गाउँकी पहिलो छात्रा बनिन्, र एस्.एल.्सी. परिक्षा उत्तीर्ण गरेपछि उनले इन्जिनियरिङ् कलेज (पुल्चोक)बाट आईएस्सी ईन्जिनियरिङ् उत्तीर्ण गरेर ओभरसियर बनिन् । केही समय उनी साना जलविद्युत आयोजना र अर्घाखाँचीकै सार्वजनिक निर्माण शाखामा ओभरसियर भए काम गरिन् ।
पहिलो जिल्ला प्रशासक उषा नेपाल : पहिलो प्रमुख जिल्ला अधिकारी, बाल्यकालदेखिकै निर्भिक र साहसी महिला उषा नेपालले २०४९ सालमा नेपालगञ्ज लगायत बाँके जिल्लाका विभिन्न स्थानमा भएका हिन्दु–मुसलमान दंगालाई कुसलतापूर्वक दबाएर पुरुषले पनि गर्न नसकेको कुशल प्रशासकको रुपमा आफ्नो सक्षमता र साहस प्रमाणित गरेकी छन् ।
बि.सं. २००० असोजमा महोत्तरीको जबाख गाउँको ब्राम्हण परिवारमा जन्मेकी उषाले घरमै संस्कृतका गुरुबाट शिक्षा प्रारम्भ गरिन् र बनारस, जनकपुर, बिराटनगरका धेरैवटा विद्यालय परिवर्तन गर्दै शिक्षा पूरा गरिन् । नेपालमा पहिलो मोन्टेशोरी विद्यालय ‘शिशु निकुञ्ज’ की संस्थापक यिनले बनारस हिन्दु विश्वविद्यालय, इलाहावाद र पटना विश्वविद्यालयहरूबाट उच्चशिक्षा पूरा गरिन् र २०२४ सालदेखि त्रिचन्द्र कलेज, रत्नराज्य लक्ष्मी कलेजलगायत धेरै कलेजमा अध्यापन गरिन् ।
महिला प्रशिक्षण केन्द्रकी अध्यापिका, धनकुटा र संखुवासभामा महिलाको क्लब स्थापना, ती जिल्लामा अल्लो र ढाका बुनाई कार्यमा एक दशकजति बिताएपछि उनी आपूर्ति मन्त्रालयको उपसचिवमा सरुवा भईन् ।
२०४८ सालमा गृहमन्त्रालयमा सरुवा भएपछि पहिले भक्तपुरमा र बाँकेमा सरुवा भएर उनले निर्वाचन अपराधसम्बन्धी कारवाही हेर्नुपरेको थियो । प्रजिअपछि उनी भूटानी शरणार्थीको संयुक्त प्रमाणीकरण समुहमा नेपालको तर्फबाट खटिन् ।
उनको जन्म प्रमाणमा विवाद उठाईएपछि तीनदशक लामो सरकारी सेवाबाट राजिनामा दिइन् । यस बीचमा उनी निर्वाचन आयुक्त पनि भइन् । योग्य, कर्मठ र साहसी उषा नेपालको तुलना पुरुष प्रशासकसँग पनि हुन सक्दैन ।
नेपाली साहित्यकी पहिलो विद्यावारिधि र साझा पुरस्कार पाउने पहिलो महिला बानिरा गरि, पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठ, पहिलो महिला राजदूत विन्देश्वरी शाह, पहिलो महिला ईन्जिनियर शान्ति मल्ल, पहिलो महिला प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) बिमला थापा शर्मा, नेपाली सेनामा पहिलो महिला मेजर (बहालवाला) सुलोचना पौडेल, पहिलो महिला पाईलट रक्षा राणा, वि.सं. २००८ मा पहिलो महिला प्रहरी कन्स्टेबल चैत्यमाया डङ्गोल आदि महिलाको बारेमा अझै लेख्न बाँकी नै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया