कुन पेशामा कति जनशक्ति तालीम प्राप्त छन् भन्ने आँकडा पाउन पहिला मुस्किल थियो। पछिल्लो समयमा सरकारले सम्बन्धित निकाय र संस्थाबाट उत्पादित तालीम प्राप्त जनशक्तिको एकीकृत विवरण सङ्कलन शुरु गरेको छ ।
समयको मागसँगै प्राविधिक र व्यावसायिक शिक्षालाई क्रमशः प्राथमिकता दिन थालेको सरकारले आवधिकरुपमा यस प्रकारको एकीकृत तथ्याङ्क सङ्कलन र विश्लेषण गरी प्रकाशनको थालनी गरेको हो । सरकारले यसअघि कुन क्षेत्र वा पेशामा मुलुकका लागि कति जनशक्ति आवश्यक पर्छ भन्ने जनशक्ति सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिसकेको छ । सो प्रतिवेदनमा औपचारिक र अनौपचारिक शिक्षाका विधामा आगामी २५ वर्षसम्मको जनशक्ति प्रक्षेपण गरिएको छ ।
सरकारले प्राविधिक शिक्षा, व्यावसायिक एवं सीपमूलक तालीमलाई प्राथमिकता दिई लगानी बढाउने नीति लिनुका साथैै तालीम प्राप्त जनशक्तिको सङ्ख्या बढ्दा थाल्दा रोजगारदातालाई श्रम बजारको विश्लेषण गर्न सहज हुने ठानिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प लिएको वर्तमान सरकारले गत कात्तिकमा जारी गरेको राष्ट्रिय शिक्षा नीति, २०७६ मा प्राविधिक शिक्षालाई विश्वविद्यालय तहसम्म प्राथमिकता दिने उल्लेख गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद बहाली गर्दा सबै स्थानीय तहमा कम्तीमा एक प्राविधिक शिक्षालय स्थापनाको निर्णय गरेका थिए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सीप कार्यक्रमको प्राविधिक सहयोगमा तयार गरेको ‘प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमको एकीकृत वार्षिक प्रतिवेदन, २०७६’ मा आर्थिक वर्ष २०७५ र ७६ मा सङ्घीयस्तरका १० मन्त्रालय र मातहतका १८ निकायले सञ्चालन गरेका विभिन्न तालीमको विश्लेषण गरिएको छ । ती निकायबाट कूल ८४ हजार ६५० ले लामो, छोटो अवधिको व्यावसायिक तथा प्राविधिक शिक्षा र तालीम दिइएको जनाइएको छ ।
सो अवधिमा उत्पादित जनशक्तिमध्ये सबैभन्दा बढी विल्डिङ इलेक्टिसियन (१० दशमलव ८५ प्रतिशत) र टेलरिङमा १० दशमलव ०७ प्रतिश) देखिएका छन् । यसपछि असिस्टेन्ट ब्यूटिसियनमा ६ दशमलव ५८ प्रतिशत, अफ सिजन भेजिटेल प्रोड्युसियरमा ५ दशमलव ११ प्रतिशत र ब्रिक लेयर मेशिनमा ४ दशमलव ३१ प्रतिशत जनशक्ति सो अवधिमा तालीम प्राप्त भएका छन् । चार प्रतिशतभन्दा कम प्रतिशतमा उत्पादित जनशक्तिमा मेसन, जुनियर प्लम्बर, कमिस तेस्रो, जुनियर कम्प्युटर हार्डवेयर टेक्निसियन, डे«स मेकर टेलरिङ, सामुदायिक पशु सहायक र मोबाइल टेक्निसियन प्रमुख पेशा देखिएका छन् ।
यसैगरी त्यसपछि न्यून प्रतिशतमा सामुदायिक कृषि सहायक, पर्यटक रुट गाइड, कमिस दोस्रो, फर्निचर मेकर, पर्यटक गाइड छन् । यीबाहेक अन्य विविध पेशामा ३५ दशमलव १६ प्रतिशत जनशक्ति सो अवधिमा उत्पादिन भएका छन् ।
तालीम प्राप्तमध्ये ४१ दशमलव १ प्रतिशतअर्थात् ३४ हजार ७६८ ले लामो अवधिका र बाँकी ५८ दशमलव ९ प्रतिशतअर्थात् ४९ हजार ८८२ ले एकदेखि छ महिनासम्मका व्यावसायिक तालीम कार्यक्रमबाट लाभ लिएका छन् । विषयगत विश्लेषणका आधारमा हेर्दा यसरी तालीम लिनेमा सबैभन्दा बढी १६ हजार २५५ अर्थात् ३२ दशमलव ६ प्रतिशत पर्यटन तथा अन्य सेवाका तालीम दिइएको पाइएको छ ।
यस्तै निर्माण क्षेत्रमा ३२ दशमलव २ अर्थात् १६ हजार ५६, कृषि तथा वन क्षेत्रमा १७ प्रतिशत अर्थात् आठ हजार ३०७, उत्पादनशील क्षेत्रमा १६ प्रतिशत अर्थात् सात हजार ९६० ले तालीम पाएका छन् । मन्त्रालयगत आधारमा कूल तालीम प्राप्तमध्ये शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबैभन्दा बढी ७३ दशमलव ९ प्रतिशतलाई तालीम शिक्षा दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १० दशमलव ८ प्रतिशतलाई तालीम दिएको छ ।
शिक्षा मन्त्रालय सचिव महेशप्रसाद दाहालले प्राविधिक र व्यावसायिक क्षेत्रमा एकीकृत तथ्याङ्क सङ्कलनको निरन्तरताका साथै निकायगत समन्वयको खाँचो रहेको बताए । मन्त्रालय मातहतको प्राविधिक तथा व्यावसायिक तालीम परिषद्ले विभिन्न विषयमा प्राविधिक शिक्षा दिइरहेको छ भने विश्व बैंकको सहयोगमा व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (दोस्रो) सञ्चालन गरिरहेको छ ।रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया