काठमाडौं । आज रङ्गहरुको पर्व होली । विभिन्न जात, भाषा, धर्म, लिङ्ग, शत्रु–मित्र नभनी एकअर्कालाई रङ्ग लगाइदिएर मनाइने सौहार्दपूर्ण पर्वका रुपमा लिइन्छ होलीलाई ।
यसलाई प्रजनन, रङ्ग, प्रेम, र दुष्टमाथि विजय हासिल गरेको अवसरको रुपमा लिइन्छ । त्रेतायुगमा हिरण्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने वरदान पाएकी होलिका भने सो अग्नी कुण्डमा जलेर नष्ट भएको किंवदन्ती होली पर्वसँग जोडिएको छ । यही कारणले पनि यस दिन नकारात्मक शक्तिहरुमाथि सकारात्मक शक्तिले जित हासिल गर्छ भन्ने मान्यता रहिआएको हो ।
नेपालको पहाड तथा तराई दुवै क्षेत्रमा मनाइने यस पर्वमा विभिन्न सार्वजनिक स्थलहरुमा खुब भीड लाग्छ । यद्यपि, काठमाडौंसहित पहाडी जिल्लाहरुमा अघिल्लो दिन नै होली मनाइन्छ भने तराईका जिल्लाहरुमा भोलिपल्ट ।
काठमाडौंका वसन्तपुर, टुँडिखेलजस्ता खुल्ला स्थानहरुमा पाइला राखी नसक्ने गरी भीड हुन्छ मानिसको । तर, यो वर्ष अपवादमा परेको छ । किनकी यसपालि त्यस्ता धेरै कुराहरु देखिएनन् जुन पहिलाको होलीमा देखिन्थे । जस्तै :
पर्यटक :
होलीको पर्वले देशवासीलाई मात्र नभएर विदेशबाट आएका आगन्तुकहरुलाई पनि लोभ्याउँथ्यो । पर्यटकहरु उल्लासमय ढङ्गले सामेल हुन्थे होलीमा । कसैले रङ्ग दल्न खोज्दा तर्किंदैनथे र आफै पनि हातमा रङ्ग बोकेर अरुलाई लगाइदिन तम्सिन्थे । यसपालि भने होलीका दौरान पर्यटकको सङ्ख्या निकै पातलो देखियो काठमाडौंमा । कारण हो कोरोना भाइरस ।
गत डिसेम्बर अन्तिम साता चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस(कोभिड १९) यो सामाग्री तयार पार्दासम्म १ सय ६ देशमा फैलिसकेको छ । कोरोनाका कारण ३८ सय भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने १ लाख भन्दा बढी यस भाइरसबाट संक्रमित छन् । हजारौं मानिस उपचारपछि घर फर्किसकेका छन् । विश्वलाई नै त्रासदीमा राखेको यस भाइरसविरुद्धको औषधि खोजी जारी राखिएतापनि कुनै उपलब्धि हासिल भएको छैन । हरेक देशले हवाइ र स्थलमार्गका सीमा, एयरपोर्ट, सार्वजनिक स्थलमा कडाइ गरेतापनि यो रोग फैलिने क्रम रोकिएको छैन ।
विश्व स्वास्थ्य संगठनले आपतकालीन स्थिति घोषणा गर्दै यही अवस्था रहे करोडौं मानिसको ज्यान जाने चेतावनी सहित सावधानी अपनाउन बारम्बार विश्व समुदायलाई अनुरोध गरिरहेको छ । पछिल्लो २ सातादेखि नेपाल सरकारले पनि सबै सरकारी कार्यालयदेखि सार्वजनिक कामकाज, भेला, समारोह, गोष्ठी, सेमिनार, अन्तर्राष्ट्रिय सम्मेलन स्थगित गर्दै नेपाल भ्रमण वर्ष २०२० समेत रोकिसकेको छ । विश्वमा आक्रामक रुपमा फैलिएको कोरोना हालसम्म नेपालमा भने देखिएको खबर बाहिरिएको छैन । १ जनामा शुरुवाती दिनमा संक्रमण देखिएको भनिएतापनि उनी स्वास्थ्यलाभ भइ घर गइसकेको अवस्था छ । करिब ४ सय ३२ जनाको नमुना परीक्षण भइ कोरोना नभएको पुष्टि भइसकेको छ ।
यो विषम परिस्थितिलाई मध्यनजर गर्दै होली नखेल्न अनुरोध गरेको थियो । जसले गर्दा पर्यटकको सङ्ख्यामा ह्वात्तै कमी आएको देख्न सकिन्छ ।
चहलपहल :
पर्यटकको मात्र होइन यसपालिको होलीमा सर्वसाधारणको चहलपहल समेत तुलनात्मक हिसाबले कम देखियो । धेरै तडकभडक र तामझामका साथ होली नमनाउने आग्रह सरकारबाटै भएकाले प्रायले आफ्नै घरपरिवारलाई मात्र रङ्ग लगाइदिएर र घरभित्रै रमाइलो गरेर होली मनाएका छन् ।
रङ्गको बजार :
होली नजिकिँदै गर्दा राजधानीका सडक, गल्लीहरु रङ्गको रमझममा रमिसक्थ्यो, पसलहरुमा विभिन्न रङ्ग र होलीका टिसर्टहरुको चाङ देखिइसक्थ्यो, बजारमा पाइलै टेक्ने ठाउँ नहुने गरी चहलपहल हुन्थ्यो । तर, यसपालि त्यस्तो भएन ।
राजधानीका अत्यन्तै व्यस्त बजार : असन, इन्द्रचोक, न्यू रोड, जमल लगायत क्षेत्रहरुमा अघिल्ला वर्षहरुजस्तो व्यापार भएन । न अरु वर्षजस्तो बेच्नेको चाप छ न त किन्नेकै !
साङ्गीतिक कार्यक्रम :
हरेक वर्ष होलीमा विभिन्न चोकहरुमा होली विशेष कार्यक्रम आयोजना हुन्छन् । स्थानीय तथा राष्ट्रिय म्युजिकल ब्यान्ड साथै कलाकारहरुको पनि जमघट हुन्छ । वातावरण संगीतमय बन्छ । तर, यसपालि त्यसो भएन । काठमाडौंको असन, ठमेल, दरबारमार्ग, वसन्तपुरमा बीच सडकमा स्टेज कार्यक्रमहरु आयोजना गरिन्थे । यसपालि यी सबै दृश्य हराएका छन् ।
सरकारले नै यस्ता कार्यक्रमहरु आयोजना गर्नबाट रोक लगाएको छ । सरकारले यस वर्ष भीड जम्मा भएर होली खेल्न प्रतिबन्ध लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको फागुन २१ गते बुधवार बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौंमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रम गर्नका लागि स्वीकृति समेत नदिइने भएको छ ।
फोटो र भिडियोमा हेर्नुस् :
तस्वीर/भिडियो : गोकुल पौडेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया