राँझा । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम हुन नदिन बाँकेको ग्रामीण सीमानाका कटकुइँयास्थित सुइयामा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको छ ।
नरैनापुर गाउँपालिकाको सहयोगमा सोमबारदेखि सञ्चालनमा आएको सो कक्षमा भारतबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षण शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए । आवश्यक औषधि, उपकरण र पूर्वाधारसहित स्वास्थ्य परीक्षण कक्ष स्थापना गरिएको उनले बताए। सो कार्यालयले भारतसँगको अन्य सीमावर्ती नाकामा समेत सो सहायता कक्ष स्थापनाको तयारी गरेको जनाएको छ ।
भारतसँगको मुख्यनाका जमुनाहामा एक महिनाअघिदेखि नै सो कक्ष स्थापना गरी जाँच हुँदै आएको छ । नेपालगञ्ज विमानस्थलमा गत हप्तादेखि जाँच कक्ष शुरु गरिएको थियो । नेपालगञ्जस्थित भेरी अस्पतालमा पनि कोरोनाको आशङ्कामा आउने बिरामीलाई उपचारका लागि विशेष व्यवस्था मिलाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश थापाले जानकारी दिए । उनका अनुसार अस्पतालमा कोरोनाविरुद्ध उच्च सतर्कता अपनाउँदै आइसोलेसन वार्डको व्यवस्था गरी पाँच शैया मिलाइएको छ । अस्पतालमा अहिलेसम्म कोरोनाकै आशङ्कामा कुनै पनि बिरामी परीक्षणका लागि आएका छैनन् ।
सो भाइरसको जोखिमको हल्लासँगै नेपालगञ्जमा लाग्दै आएको होली बजारमा प्रभाव परेको छ । होली बजारमात्रै नभई अन्य बजारमा समेत अत्यावश्यकबाहेक अन्य खरिद बिक्री कम भएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले बताए । नेपालगञ्जमा हरेक वर्ष होलीलाई लक्षित गरी गरिने कार्यक्रम पनि स्थगित भएका थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया