जब उद्योगमन्त्री ग्राहकको भेषमा अनुगमन गर्न बजार गए…

काठमाडौं । साधारण ज्याकेट, पाइन्ट र स्पोर्ट्स जुत्ता लगाएर एक व्यक्ति शुक्रवार साँझ पोखराका पसल तथा डिपार्टमेन्टल स्टोरमा जान्छन् । सामानहरुको मूल्य, उपलब्धता, उत्पादन मिति र उपभोग्य मितिबारे निरीक्षण गर्छन् ।

यही क्रममा उनले पसलेलाई नुन र चिनीको भाउ पनि सोध्छन् । पसलेले एक किलो नुनको मूल्य २५ रुपैयाँ भएको बताउँछिन् । साल्ट ट्रेडिङले तोकेको मूल्य भन्दा ५ रुपैयाँ बढी किन राखेको भन्दै उक्त व्यक्तिले प्रश्न गर्दा पसलेले आफूले ल्याउने ठाउँबाट सोही मूल्यमा ल्याउने गरेको बताउँछिन् । ती व्यक्तिले पसलेसँग उनले खरिद गर्ने ठाउँको सम्पर्क नम्बर माग्छन् ।

यसैगरी ती व्यक्ति अनुगमनका लागि पोखराका अन्य पसलहरुमा पनि पुग्छन् । उनी अरु कोही नभइ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट हुन् ।
उनले साधारण ग्राहकको भेषमा रहेर बजारको छड्के अनुगमन गरेका छन् ।

उनले आफै उपभोक्ता भएजसरी पोखराका पसल तथा डिपार्टमेन्टल स्टोरमा अनुगमन गरेका थिए ।

मन्त्री भट्टले बढी मूल्य लिइएको, कालोबजारी गरेको वा बजारमा अनियमितता भ्रएको थाहा पाउनासाथ तत्काल आवश्यक कारवाही गर्न आफ्ना सचिवलाई निर्देशनसमेत दिइसकेका छन् ।

कोरोना भाइरसको संक्रमणको त्रासले नेपालमा दैनिक उपभोग्य सामानका साथै ग्यास, मास्क, स्यानिटाइजरको अभाव भइरहेको अवस्था छ । यस्तो वेलामा कालोबजारी, मूल्य वृद्धि लगायतका समस्याहरु सिर्जना हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?