कक्षाकोठा नहुँदा विद्यालय सञ्चालनमा समस्या

बागलुङ । कक्षा कोठा निर्माण गर्न नसक्दा बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा रहेको कञ्चनापुर आधारभूत विद्यालयको पठनपाठन प्रभावित हुने भएको छ ।

कक्षा ७ सम्म पठनपाठन सञ्चालन भइरहेको विद्यालयमा बार्षिक परीक्षा चलिरहेको छ । नयाँ शैक्षिकसत्रसँगै कक्षा ८ सञ्चालन गर्नुपर्ने भए पनि कक्षाकोठा अभाव रहेको विद्यालयले जनाएको छ । विसं २०३६ देखि सञ्चालनमा रहेको विद्यालयले विसं २०७५ देखि कक्षा ६ र चालू वर्षदेखि कक्षा ७ को पठनपाठन सञ्चलान गरिरहेको छ ।

“कक्षा ८ सञ्चालनको आवश्यकता छ तर कक्षाकोठा चुनौती बन्नेभो”, विद्यालयका प्रधानाध्यापक पुनराम गिरीले भने, “भवन नै छैन कक्षाकोठा कसरी व्यवस्थापन गर्नु ।” नयाँ खुल्ने कक्षाको लागि समस्या देखापरेको र तत्कालै दुई कोठाको भवन चाहिएको उनले बताए ।

“विद्यालयकै एउटा कोठामा बालशिक्षा सञ्चालित छ, हामीसँग अब एउटा पनि कोठा छैन”, उनले भने, “आउने शैक्षिकसत्रदेखि त भुँइमै राखेर पढाउनुबाहेक विकल्प छैन ।” विद्यालयमा १४२ छात्रछात्रा पढ्छन् । चालू आवमा शिक्षा तथा समन्वय एकाइ र गाउँपालिकाको सहयोगमा चारकोठे भवन सम्पन्न भएको छ । अहिले विद्यालयमा आठ मात्र कक्षाकोठा छन् ।

कक्षा कोठा थप गर्नका लागि स्थानीय पालिका, प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनप्रसाद शेरचनले बताए । “स्रोतको अभावले पूर्वाधारको अवस्था उदेकलाग्दो छ”, उनले भने, “शैक्षिक सामग्री भुइँमा राख्नुपर्ने अवस्था छ ।”

साविक सिसाखानी गाविस वडा नं ७, ८ र ९ मा पर्ने सो क्षेत्रमा दलित समुदायको बाहुल्यता रहेकाले त्यहाँको चेतनास्तर वृद्धिका लागि शैक्षिक विकास गर्न जरुरी रहेको उनको भनाइ छ । कोठा अभावमा पढाइ प्रभावित हुन नहुने अभिभावक बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?