सरकार लुटतन्त्र मच्चाउने बिचौलियाको सहायक बन्योः नेता केसी

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुन नरसिंह केसीले सरकार लुटतन्त्र मच्चाउने बिचौलियाको सहायक बनिरहेको आरोप लगाएका छन् ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा शुभकामना दिँदै नेता केसीले स्वतन्त्र बजारको नाममा गुणस्तरहिन तथा छाडा बजार, छनोटको असुविधा, बासी, सडेगलेको, मिसावट तथा विषादियुक्त, प्रदूषित र अस्वस्थकर खाद्य र पानीले मानव जीवन आक्रान्त भईरहेको अवस्थामा यो दिवसले विशेष अर्थ राख्ने बताएका छन् ।

उपभोक्ता सरोकारलाई समेट्दै, संविधानसहित करिब ३५ वटा कानुनहरू हाल कार्यान्वयनमा भइसकेपनि सरकार उपभोक्ताको सरोकारमा गम्भीर बन्न नसकेको केपीले आरोप लगाए ।

‘आपूर्ति व्यवस्थामा संविधान र कानुन मिच्दै तस्कर, भ्रष्ट, आर्थिक अपराधी, कालाबजारीया र कृतिम महँगी खडा गर्दै लुटतन्त्र मच्चाउने बिचौलियाको दबदबाले उद्यमी, किसान र उपभोक्ताहरूको एकैसाथ शोषण गरिरहेको परिस्थितिमा विद्यमान दण्डहिनता र अराजक गतिविधिको निर्ममताका साथ अन्त्य गर्नुको विपरीत त्यस्तै तत्वहरूको साम्राज्यको सहायक बन्नमा रमाईरहेको देखिन्छ वर्तमान २–३को कम्युनिस्ट सरकार ।’ केसीले भनेका छन्, ‘यसमाथि हाल विश्वब्यापी सन्त्रास र महामारी बन्नथालेको कोरोना भाईरसको समस्याले नेपाललाई समेत आर्थिक सामाजिक संकटलाई थप अस्तब्यस्त बनाउन लागेकोले उपभोक्ताको अधिकार प्रतिको सतर्कताको आवश्यकताको झन् बढी जरुरी भएको छ ।’

नेता केसीले आजको दिनले चरम बेथितिमाथि कठोर नियन्त्रण र आमूल सुधारको अनिवार्यतालाई औँल्याउने बताएका छन् ।
तर, विगत दुई वर्षे कम्युनिस्ट शासनले सर्वत्र जनतामा निरासा मात्र पैदा गरेको भन्दै उनले बताएका छन् ।

नेता केसीले बजार व्यवस्थाको महत्वपूर्ण अंग उपभोक्ता वर्गको सचेतना र जागरुकतामा जोड दिँदै उपभोक्ताको उच्चतम हितलाई समेट्दै सरकारले बजारको सुधार, सुव्यवस्थापन र उपभोक्ताको हक हित र संवैधानिक अधिकार रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

सन् १९२० देखि उपभोक्ताका अधिकार र आवश्यकताप्रति जागरुक भएर यो दिवस मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?