राप्रपाको एकता ‘सञ्चालित’ हो कि स्वचालित ?

पार्टीहरूमा बहुअध्यक्षीय अभ्यास नैतिक शक्ति होइन नैतिकहिन आशक्ति हो, नेतृत्वको संकट, विश्वासको संकट र चरित्रको संकट (त्रिदोष) हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा यतिबेला एकताको मौसम छ । त्यसो त २०४७ सालमा जन्मिदै जुम्ल्याहा रुप र नाममा राजा महेन्द्रको जन्मजयन्तीकै दिन स्थापित पूर्वपञ्चहरूको बर्चश्व रहेको राप्रपामा जुट्ने र फुट्ने सन्धी र विग्रहको खेल अद्यापि चलिरहेको प्रक्रियाकै रुपमा छ । लामो समयसम्म पार्टीका नाममा ‘बाक्लो दाल खान’ छुट्टिएका राप्रपाका दुई गुटबीच अहिले फेरि भएको आधारातको पार्टी एकताका लागि १० बुँदे प्रतिबद्धता र त्यसमा तीन अध्यक्षको हस्ताक्षर कुन धरातलीय यथार्थले वा बाथमरुम ब्रम्हज्ञानले वा ‘आकाशवाणी’ पाएपछि निर्देशित रुपमा हुनपुगेको हो, यसै भनिहाल्न सकिन्न, तर टालटुले एकता नै सही, मुलुकमा राजनीतिको धमिलो पानी र सत्ताबाट दुर्गन्धित झोल बगिरहेको अवस्थामा एकै नामका दुई पार्टीबीच एकता देखापरेको छ । देशैभरि राप्रपाको बर्चश्व उल्लेखनीय रुपमा छ । त्यसैले अहिलेको एकताको सन्देश पनि गाउँगाउँसम्म पुगिसकेको छ ।

राप्रपाका यी तीनैजना शीर्ष नेताहरू नेपाली काँग्रेसका संस्थापक राजनेता तथा नेपाली राजनीतिका सर्बाधिक अग्ला नेता बीपी कोईरालाका अनुयायीजत्तिकै प्रशंसक भएको रुपमा देखिन्छन् र नेपाली राजनीतिक व्यवस्थाको मिलनविन्दु बीपी विचारधारालाई बनाउने संकल्प गर्छन् । नेपालको वर्तमान राजनीतिमा २०६२–६३ को जनआन्दोलनको औचित्यलाई तोड–मरोड र निकम्मा पार्ने काम जनआन्दोलनका हर्ताकर्ताहरूबाट भइरहेको परिवेशमा राप्रपा बीपी कोइरालाको वैचारिक धरातलमा उभिन बचनबद्ध हुनु नेपाली राजनीतिको अनौठो अवस्था हो । उक्त जनआन्दोलनलाई कल्पबृक्षको रुपमा हेरेकाहरूले पनि विषवृक्षको रुपमा अर्थ लगाउन थाल्नुले परिस्थिति अनियन्त्रित भईरहेको जनाउँछ । राप्रपाले यही बिन्दुबाट जनतालाई नौलो जागरण गराउन प्रस्थानविन्दु खोज्नथालेको पार्टीका रुपमा आफूलाई देखाउने गरिरहेको छ ।

राप्रपाका तीन हस्तीहरू पशुपति शम्शेर, डा. प्रकाशचन्द्र लोहनी र कमल थापा अध्यक्ष भएका छन् । पहिले अध्यक्ष भएका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द राप्रपाभित्रै छन्, तर छोरा जयन्त चन्दलाई अघि बढाएर उनी पछाडि बसेका (ब्याक बेन्चर भएका) छन् । राप्रपाको यो एकीकरण प्रयास नेपाल कम्युनिष्ट पार्टी सत्तामा साथै हिंसात्मक द्वन्द्वकालका पीडक एवं संदीग्ध व्यक्तिहरू सत्ता र जङ्गल दुवैतिर हावी भइरहेको बेला गैरकम्युनिष्ट शिबिरमा सकारात्मक पक्ष हो । यसले प्रजातान्त्रिक आन्दोलनलाई बल त दिन्छ नै । तर पूर्वपञ्चहरूको नश्ल भएको त्यो पार्टी नेपाली राजनीतिमा संस्कृतिको रुपमा कति र विकृतिको मात्रा कति लिएर उभिएको देखापर्ने हो त्यसैबाट उसको औचित्य र प्रयोजन आँक्न सकिन्छ ।

राप्रपाको यो ‘भरतमिलाप’ उनीहरूको सहज र सैद्धान्तिक एकताको द्योतक हो कि निर्देशित एकताको तिलश्मी रुप हो यसको पनि परीक्षा हुनैछ । किनभने कमल थापाले २८ फागुनको एकता घोषणासभामा गीता छोएर “अब म पार्टी फुटाउनतिर लाग्दिन” भनी कसम खाएको कार्यकर्तालाई भन्दा पनि अन्यत्र कतै देखाएको हो भन्ने प्रतिक्रिया राप्रपाकै कार्यकर्ताहरू बताउने गर्छन् । साथै पार्टी फुटाउँदिन भनी तामो–तुलसी छोएझैँ गीता हातमा लिएर कसम खानुपर्ने विश्वासको संकटजन्य अवस्था किन आयो ? विश्वासको वातावरण छैन भन्ने त यसैबाट पुष्टि भयो । किनकि विगतमा संसदभित्र ‘मुसा प्रवृत्ति’ भनी उपनाम पाएका कमल थापालाई विश्वास गरिहाल्ने अवस्थाको सहज वातावरण बनिसकेको छैन । राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन गर्दा राप्रपा फुटाएर कमल थापा नेतृत्वको चोक्टे राप्रपालाई आफ्नो शासनसत्तामा सामेल गराएर जनआन्दोलन दबाउने पात्रका रुपमा उपयोग गर्दाको सम्झनाले त्यसपार्टीभित्रका जनमुखी कार्यकर्ताहरूले पचाउन सकेको देखिन्न । मुसा प्रवृत्ति भनी उनलाई औँल्याउने तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द सोही पार्टी घोषणासभामा मौजुद थिए । पार्टी एकताको घोषणासभामा अर्का थापा सूर्यबहादुरपुत्र सुनिलबहादुरको अनुपस्थिति सैद्धान्तिक मतभेद भन्दा पनि आफ्नो भाऊ बढाउँदै एकीकृत राप्रपामा आफ्नो यथेष्ट ‘स्पेश’ सुनिश्चितताको लागि बार्गेनिङका रुपमा देखिन्छ ।

पार्टी एकता पशुपति शम्शेरलाई भन्दा पनि कमल थापालाई चाहिएको हो । थापालाई प्रधानमन्त्री बनाउन सकिने ‘दक्षिण’ को आश्वासनले उनको हैसियत उँचो देखाउन तीन नेता महाधिवेशनसम्म पार्टी अध्यक्ष हुने निर्णय गर्न तयार बनायो । यही आश्वासन र सम्भावना अर्का थापा सुनिललाई नपेचको हो भन्ने देखिन्छ । जे भए पनि नेपालको राजनीतिमा परम्परागत धारको प्रतिनिधित्व गर्ने त्यो पार्टी लोकतन्त्रान्त्रिक वृत्तमा एउटा आकर्षक समूह भएर रहनेमा कुनै शंका छैन । तर कमल थापाको सनातनी प्रवृत्ति हावी हुन थाल्यो भने ०७० को संविधानसभामा २४ सभासद जिताउन सफल भएको कमल नेतृत्वको राप्रपाले धुलो चाट्नुपरेको वास्तविकता पनि नमेटिएको हुनाले पुनरावृत्त हुन बेर छैन ।

राप्रपाको उक्त एकताले पनि के झल्कायो भने नेपालको राजनीतिमा बहुअध्यक्षवाला परिपाटीलाई सहज ढङ्गले हेर्न थालिएजस्तो छ । एकमुखे अध्यक्ष (सभापति) भएको नेपाली काँग्रेस, दुईमुखे अध्यक्ष भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र तीनमुखे अध्यक्ष भएको पार्टी राप्रपा भएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको छमुखे अध्यक्ष, पोहोर राष्ट्रिय एकता दिवस (पृथ्वीजयन्तीकै दिन) मा फुटेको विवेकशील साझा पार्टीमा त्यो बेलासम्म दुईमुखे अध्यक्ष र हाल डा. बाबुराम भट्टराई र उपेन्द्र यादब नेतृत्वको संघीय समाजवादी पार्टीमा पनि प्रकारान्तरले दुईमुखे अध्यक्षको अभ्यास चलिरहेको नेपाली राजनीतिमा यसलाई सैद्धान्तिक निष्ठा र विश्वासको वातावरणका रुपमा होइन, त्रिदोष– नेतृत्वको संकट, विश्वासको संकट र चरित्रको संकटको द्योतकका रुपमा जान्नुपर्ने हुन्छ । यो नैतिक शक्ति किमार्थ होइन नैतिकहिन आशक्ति नै हो । यसले त्यो पार्टीका अगुवाहरूमा पदप्रतिको आशक्ति कति रहेछ भन्ने देखाउँछ । तर उनीहरूको अध्यक्ष पदको आशक्ति कार्यकर्ताको लागि लज्जाको विषय बनेको छ ।

राप्रपाले आफ्ना मान्यता र अडान फेरेन, पिपलपाते, दहिचिउरे र अवसरवादी भएन भने जनस्तरमा उसको औचित्य स्वतः बढेर आउँनसक्छ । यसले २०५१ को मध्यावधि संसदीय निर्वाचनमा २० सिट जित्न सफल भएकै हो । संवैधानिक राजतन्त्र, हिन्दु अधिराज्य र एकात्मक प्रजातान्त्रिक राज्यव्यवस्थाको पक्षमा उसको झुकावले जनतामा सकारात्ममक अर्थ राख्ने गरेको छ । नीति र सिद्धान्तबारे जनतामा कुनै भ्रम नरहोस् भन्ने हेतुले सहज इमानदारी र निष्ठाको आवश्यकता जनस्तरमा भन्दा नेतृत्वस्तरमा बढ्ता आवश्यक छ । किनभने राप्रपाको राजनीतिक समस्या जनस्तरमा छैन, नेतृत्व स्तरमै छ ।

३० वर्षे पञ्चायती व्यवस्थामा काम गरेर भिजेका यसका अधिकांश नेताहरू दलीय संस्कारमा भन्दा व्यक्तिवादी र निर्दलीय आचरणमा अभ्यस्त रहेका छन् । यो अभ्यास र शैली मेटाउनु नै उनीहरूले आफ्नै मनोवृत्तिसँग संघर्ष गरेर विजय हासिल गर्नु गुणात्मक राजनीतिको जीत हुनेथियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?