कोरोना भाइरसविरुद्ध सार्क सहकार्य भिडियो कन्फरेन्समा के भने प्रधानमन्त्री ओलीले ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस (कोभिड १९) को कुनै संक्रमण नरहेको बताएका छन् । उनले कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि नेपाल सरकारले पर्याप्त सावधानी अपनाएको पनि जानकारी दिए ।
मिर्गौला प्रत्यारोपणपछि आज पहिलो पटक प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भिडियो कन्फेरेन्समा सहभागी भएका हुन् ।

कोरोनाभाइरस विरुद्ध सार्क सहकार्यः भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री ओलीले रोग भित्रन नदिन सरकारी संयन्त्र ‘अलर्ट’ रहेको जानकारी दिए ।  

उनले कुनै पनि विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ रद्द गरिएको, पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको मेडिकल रिपोर्ट पेश गर्नुपर्ने र गैरआवासीय नेपालीका हकमा पनि यही व्यवस्था गरिएको बताए ।

यस्तै उनले सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक, गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गर्दा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य व्यवस्था गरिएको पनि जानकारी दिए ।

उनले स्थानीय, प्रदेश र केन्द्र सरकारले पर्याप्त सावधानी अपनाएको भन्दै सीमा नाकाबाट तेस्रो मुलुकका नागरिकलाई प्रवेश प्रतिवन्ध लगाइएको पनि जानकारी गराए ।

स्वास्थ्यका कर्मचारीलाई सुरक्षित उपकरणको व्यवस्था गरिनुका साथै विमानस्थलमा स्कृनिङका साथै अन्य स्वास्थ्य परीक्षणको व्यवस्था गरेरमात्रै भित्रन दिने व्यवस्था गरिएको प्रधानमन्त्रीले बताए । उनले यसवर्षको आरोहण रद्द गरिएको पनि बताए ।

कोरोनाभाइ (कोभिड-19) को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० सदस्य मुलुकका राष्ट्राध्याक्षरप्रधानमन्त्रीबीच आज भिडियो कन्फरेन्स भएको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले (कोभिड-19)को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई गत फागुन ३० गते गरेको ट्विटको स्वागत गर्दै नेपालका प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीसहित सदस्य मुलुकका नेताहरु कन्फरेन्समा सहभागी भएका छन् । उनीहरुले आ -आफ्नो देशको धारणा राखिरहेका छन् ।
अहिले कन्फरेन्स जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?