मन्त्री नेम्बाङको प्रदेश २ मा दुई दिन, के-के गरे ?

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले प्रदेश नं. २ का विभिन्न आयोजनाहरु अनुगमन गरेका छन् । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सञ्चालित आयोजनाहरुको स्थलगत अनुगमन निरिक्षण गरेका हुन् ।

मन्त्री नेम्बाङले जनकपुर जयनगर रेल्वे स्टेशन, पूर्वपश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण राजमार्ग लगायत एक दर्जन आयोजनाहरुको निरिक्षण गरे । आयोजनाहरुलाई समयमै अगाड बढाउन र प्रभाकारी बनाउन निरन्तर अनुगमन गरिरहनु भएका मन्त्री नेम्बाङले पछिल्लो पटक प्रदेश नं. २ मा सञ्चालित आयोजनाहरु अनुगमन गरेका हुन् ।

शुक्रबार जनकपुर पुगेर मन्त्री नेम्बाङले यहि आर्थिक बर्षमा रेल सञ्चालनमा आउने उद्घोष गरे । उनले ३–४ महिना भित्र रेल सञ्चालनमा आउने बताउँदै भने ‘रेलमार्ग तयार भइसकेको छ विदेशबाट दक्ष कर्मचारी मगाएर पहिलो चरणमा कुर्थासम्म र त्यसपछि बर्दिबास र निजगढसम्म रेल गुड्नेछ ।’

उनले ५–७ जना प्राविधिक मात्र भारतबाट झिकाइने र बाँकी नेपाली जनशक्ति नै प्रयोग गरिने बताए । अनुगमनको क्रममा बर्दिबास पुगेर जयनगर बर्दिबास रेल सेवा विस्तारका क्रममा स्थानीयबाट जग्गा मुआब्जा सम्बन्धि नेम्बाङले जानकारी दिएका थिए । उनले रेलसेवा विस्तारको क्रममा प्रस्तावित जग्गाको मुआब्जा सम्बन्धि समस्या चाडै टुङ्याइने स्थानीयलाई आश्वासन दिए ।

अनुगमनको पहिलो दिन शुक्रबार जनकपुर जयनगर रेल्वे स्टेशन, जनकपुर ढल्केबर निर्माणाधिन सडक, औरही नदीको पुल, सिराहा र धनुषा जिल्ला अन्तर्गत हुलाकी सडक, हुलाकी सडक अन्तर्गत कमला नदी पुल निरिक्षण गरिएको थियो । दोस्रो दिन पूर्वपश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास खण्ड, हुलाकी सडकको सर्लाही र रौतहट खण्ड र त्यस अन्तर्गतका पुलहरु, उत्तर–दक्षिण राजमार्गको सर्लाही रौतहट खण्ड, रौतहटको बागमती नदीका विभिन्न स्थानमा रहेका पुल, विरगंज पथलैया ६ लेन सडक अनुगमन गरिएको थियो । त्यस्तै आइतबार मन्त्री नेम्बाङले बारा जिल्ला स्थित दुधौरा खोला पुल उद्घाटन समेत गरे ।

नेम्बाङले अनुगमन निरिक्षणका क्रममा सरोकारवाला निकाय र स्थानीयहरुसंग छलफल गरेका थिए । अनुगमनमा मन्त्री नेम्बाङसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, पूर्व मन्त्री तथा नेकपा २ प्रदेश अध्यक्ष प्रभू शाह, नेकपा २ प्रदेश सचिव तथा राष्ट्रियसभा सदस्य सुमन प्याकुरेल, नेकपा साँसद तीलानाथ क्षेष्ठ, नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंह, राजपा अध्यक्ष मण्डलका सदस्य तथा साँसद महेन्द्रराय यादव, मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, मन्त्रालय अन्तर्गतका विभिन्न आयोजना प्रमुखहरु लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?