नेपाल इन्सुरेन्सले लाभांश वितरण गर्ने, चैत ४ गते मंगलवार बुक क्लोज हुँदै

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट ७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शेयरधनीले उक्त लाभांश प्राप्त गर्नका लागि चैत ३ गते सोमवारसम्म शेयरधनी कायम भएको व्यक्ति मात्र त्यसको लागि योग्य हुने मापदण्ड तोकेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत २१ गते कम्पनीको ७१ औं वार्षिक साधारण सभाका लागि आह्वान गरेको छ । भने त्यससँगै कम्पनीले चैत ४ गतेदेखि बुकक्लोज गर्दैछ। यसअनुसार चैत ३ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनुको साथै साधारण सभामा प्रतिनिधित्व गर्न सक्नेछन्।चैत २ गते आइतबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता ४०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

कम्पनीको ७१ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर सहित २ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित अनुमोदन गर्नेछ। यसअनुसार कम्पनीले ५ करोड ४७ लाख ७६ हजार ८३३ रुपैयाँ बराबरको बोनस र ३ करोड १७ लाख १२ हजार ९०३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

साथै आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण उपर छलफल गरि पारित गर्ने तथा आव २०७६/७७ को लागि लेखापरिक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव साधारण सभामा रहेको कम्पनीले जनाएको छ ।

शेयरधनीहरुलाई बोनस वितरण गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार ४८५ रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?