विद्यालय भवन बनाउन भारतले दियो दश करोड अनुदान

काठमाडौं । दार्चुला, धनुषा र कपिलवस्तुमा नयाँ विद्यालय भवन निर्माणका लागि भारत सरकारले १० करोड ७० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज काठमाडौंस्थित भारतीय राजदूतावास र सम्बद्ध निकायका अधिकारीले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नाका साथै एउटा विद्यालयलाई पहिलो किस्ताको रकम पनि हस्तान्तरण गरिएको छ ।

दार्चुलाको धापस्थित मालिकार्जुन उच्च माध्यमिक विद्यालय र धनुषाको तुलसियाहीस्थित वैद्यनाथ देवनारायण जनता उच्च मावि र कपिलवस्तुको महाराजगञ्ज नगरपालिकास्थित शिवभारी विद्यालयको भवन निर्माणका लागि महाकाली नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र महाराजगञ्ज नगरपालिकाबीच बेग्लाबेग्लै सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यी विद्यालयहरुको निर्माणका लागि आर्थिक सहयोगको जिम्मा भारत सरकारले लिएको छ भने बोलपत्र आव्हान, कार्य हस्तान्तरण, दैनिक निरीक्षण लगायतका निर्माण कार्य नेपाल सरकारले कार्यान्वयन निकायका रुपमा तोकेका महाकाली नगरपालिका, दाचुर्ला एवम् मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषाले गर्नेछन् । यस परियोजनालाई सङ्घीय तहमा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावासले अनुगमन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?