काठमाडौं । काभ्रेको पनौतीमा प्रशासनले अनिश्चितकालका लागि कर्फ्यू लगाएको छ । सोमबार टिपपरको ठक्करबाट आमा, छोरीको मृत्युु भएपछि आज विहानैदेखि त्यहाँ तनाबग्रस्त स्थित छ ।
बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको पनौतीका एसपी रवि पौडेलले लोकपथलाई भने, हिजो दुर्घटना भएपछि आक्रोशित भएका स्थानीय र मृतकका आफन्तले बिहानैदेखि टायर बालेर प्रर्दशन गरेका कारण स्थिती नियन्त्रणबाहिर नजाओस् भन्नको लागि सर्तकतास्वरुप कर्फ्यू लगाइएको हो ।
सोमबार दिउँसो पनौती बसपार्कमा टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मारिका गोलेको घटना स्थलमै मृत्यु भएको थियो । जुनीमाया स्कुलको प्रिन्सिपल भएको र उपचारका लागि छोरीलाई पनौती आएकी थिइन् ।
मंगलबार बिहानैदेखि हजारौंको संख्यामा स्थानीयहरु प्रदर्शमा उत्रिएर टायर बाल्दै विरोध गरेका छन् । सोमबार पनि स्थानियले विरोध प्रदर्शन गरेका थिए ।
६ दिन अघि बाँकेको कोहलपुरमा टिप्परले ठक्कर दिँदा साइकल यात्री महिलाको मृत्यु भएको थियो । कोहरलपुर नगरपालिका ९ स्थित झण्डाहावा चोकमा रा १ ख २१८८ नम्वरको ट्रिपरले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेकी सोही ठाउँकी महिलाको मृत्यु भएको थियो । सुर्खेतमा टिपरको ठक्करबाट गत माघ १४ गते एक युवकको मृत्यु भएको थियो ।
‘टिप्पर सहरी क्षेत्रमा गुडाउनका लागि हुँदै होईन’
पछिल्लो समय टिप्परको ठक्करबाट दिनहुँजसो मानिसहरुले ज्यान गुमाउनुपरेको छ । कतिपय अवस्थामा टिप्परले ठक्कर दिएर भागेको घटना समेत छ । यसैबिच माघ १४ गते काठमाडौंको शान्तिनगरमा टिप्परको ठक्करबाट एक महिला घाइते भएकी थिईन् । शान्तिनगर सडकमा जेब्राक्रसिङबाट बाटो काट्दै गरेकी महिलालाई टिप्परले ठक्कर दिएको थियो । घाइते महिलाको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
टिप्पर दुर्घटनाका प्रमुख कारण के हो ?
बढ्दो टिप्परको चाप र तिव्र गतिका कारण पछिल्लो समय टिप्परको ठक्करबाट भएका दुर्घटनाको संख्या बढ्दै गएको छ ।
अव्यवस्थित तथा साँघुरो बाटो, तिव्र गति र कम उमेरका चालक, बढ्दो सवारी चापका कारण टिप्पर दुर्घटना बढीरहेको छ ।
टिप्परः शहरमा गुडाउन बनेकै हैन
शहरी क्षेत्रमा हुने गरेका टिप्पर दुर्घटना तिव्र गति र माथि प्रस्तुत गरिएका कारणबाट नै हुने गरेका छन् । ‘अफरोड’ का लागि बनाइएको टिप्पर चलाउने अधिकांश कम उमेरका छन् । हेभी गाडी’ भए पनि शक्तिशाली हाइड्रोलिक इन्जिन, तुरुन्तै गति लिनसक्ने क्षमता आदिका कारण टिप्परमा युवाहरूको आकर्षण छ । तिनमा भएको जोशले शहरी परिवेशमा कसरी सवारी हाँक्ने भन्ने चेत हराईदिन्छ र दिनहुँ दुर्घटनाको समाचार आईरहन्छन् । त्यतिमात्रै होईन नियमित सवारी चेकजाँच नहुनु, मोबाइल फोनको प्रयोग गरिनु पनि दुर्घटनाका कारण हुन् ।
केहि समय अघि अत्याधिक दुर्घटना हुन थालेपछि विहान र दिउँसो काठमाडौँ, भक्तपुरमा पनि टिप्पर नगुडाउन भनिएको छ । टिप्परका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले गत २७ असारमा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा दिउँसो टिप्पर चलाउन प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार उपत्यकामा राति ८ बजेपछि मात्रै टिप्पर चल्न पाउने भनिएको छ ।
भूकम्पपछिको पूनर्निमाणको लागि गिटि बालुवा, ढुंगा ओसारपसार गर्नको लागि अत्याधिक मात्रामा टिप्परको प्रयोग भइरहेको छ । बिहानको समय तोकिएको छैन । तर रातको समयमा उनीहरुको गतिले अन्य सवारी चालक आत्तिन्छन् । विभिन्न मुलुकमा सडक अनुसार कुन गतिमा सवारी हाँक्ने भन्ने मापदण्ड तोकिएको हुन्छ । तर हाम्रोमा त्यसो नहुँदा टिप्परले हेपेर लेन मिचेर हाँकिरहेका छन् ।
हाम्रा गाउँ–शहरमा ६७०० सीसी इन्जिन र ३१ टनसम्म भारवहन क्षमता भएका टिप्पर गुडिरहेका छन् । एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) नभएका, ठूलो पांग्रा भएका, ६ सिलिण्डर सहित हाइड्रोलिक इन्जिनयुक्त यस्ता टिप्परहरू शहरी बाटोमा गुडाउन प्राविधिक रूपले उपयुक्त नहुने विज्ञहरु बताउँछन् ।
असुरक्षित सडक : पैदल यात्रु यसरी मारिन्छन्, बढ्दैछ ‘हिट एण्ड रन’ का घटना
मङ्सिर २८ गते काठमाडौंको बुढानिलकण्ठमा बिहानै मन्दिरबाट फर्किदै गरेकी ४२ वर्षीय लीला देवकोटालाई चारजना सवार गाडीले ठक्कर दिएर फरार भयो । गाडीमा सवारमध्ये एकजना थिइन् मोडल परमिता आरएल राणा र चालक थिए २१ वर्षीय पृथ्वी मल्ल । लीलाको घटनास्थलमै मृत्यु भयो । रातभरि मदिरा सेवन गरेका पृथ्वीले त्यसैको ‘ह्याङ ओभर’मा अनियन्त्रित रुपमा गाडी चलाएका थिए । सडकपेटीमा हिँडिरहेकी देवकोटाको ज्यान मल्लको लापरवाहीकै कारण गएको थियो । उनी अहिले प्रहरी हिरासतमा छन् ।
त्यसकै केही समयअघि नयाँ बानेश्वर चोकमा मर्निङ वाकमा निस्किएका डा।पुष्प जोशीको पनि सवारीसाधनकै ठक्करबाट मृत्यु भएको थियो ।
त्यस्तै, २०७६ मङ्सिर ११ गते, टेकुमा राति २ बजेर ५२ मिनेटमा भ्यानको ठक्करबाट १८ वर्षीय जीवनबहादुर सिंहको घटनास्थलमै मृत्यु भयो । सवारी चालक कुमार श्रेष्ठलाई प्रहरीले ६ दिनपछि पक्राउ ग-यो ।
उपत्यकामा अहिले ‘हिट एण्ड रन’का घटनाहरु निकै बढेका छन् ।
सवारी चालकको चरम् लापरवाहीका कारण आजभोलि यस्ता घटना बढेको बताउँछन् महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता जीवनकुमार श्रेष्ठ । पुस मसान्तसम्मको तथ्याङ्क हेर्दा उपत्यकामा जम्मा ३ सय १८ वटा ‘हिट एण्ड रन’ घटनाका निवेदनहरु दर्ता भएका छन् । ‘जसमध्ये २ सय १४ वटा घटनामा संलग्न व्यक्तिलाई प्रहरीले कारवाहीको घेरामा ल्याइसकेको छ,’ प्रवक्ता श्रेष्ठ भन्छन्, ‘१ सय ४ वटा घटनाका अभियुक्त भने अझै फरार छन् ।’
हिट एण्ड रन घटनाको कारण ?
उपत्यकामा भएका हिट एण्ड रन घटनाको अनुसन्धान अनुसार यस्ता घटनाको मुख्य कारण चालकको चरम लापरवाही नै रहेको देखिन्छ । प्राय सम्भ्रान्त परिवारका सदस्य राति अबेरसम्म क्लब, डिस्को वा पार्टीमा मदिरापान गर्ने र नसामा अनियन्त्रित भइ सवारी चलाउँदा अरुलाई ठक्कर दिने प्रवक्ता श्रेष्ठले खुलाए ।
‘त्यस सँगसँगै प्राय घटना सवेरै झिसमिसेमा हुनुले के पनि देखाएको छ भने सवारी चालकले मौसमका कारण वा अनिदोका कारण पनि प्रष्टसँग देख्दैनन् र दुर्घटना हुन पुग्छ,’ उनले लोकपथसँग कुराकानीका क्रममा भने ।
फेरि हिट एण्ड रन घटनामा प्राय पैदलयात्रुकै ज्यान जाने गरेको पनि उनले बताए ।
काठमाडौंमा मात्रै ६ हजार ४ सय ३६ वटा दुर्घटना
प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार पुस मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने यस आर्थिक वर्ष २०७६र७७ मा ९ हजार २ सय ४३ वटा दुर्घटना भइसकेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ६ हजार ४ सय ३६ वटा दुर्घटना भएको छ । जसमा ९१ जनाले ज्यान गुमाएका छन् भने १ सय ५६ जना गम्भीर घाइते भएको देखिन्छ ।
उपत्यकामा भएको दुर्घटनामा मृत्यु हुने ९१ जनामा ३८ जना पैदल यात्रु रहेका छन् ।
अघिल्लो वर्ष सवारीसाधनको ठक्करबाट ९३ जना पैदल यात्रुको मृत्यु भएको थियो उपत्यकामा ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता जीवनकुमार श्रेष्ठका अनुसार उपत्यकाका सडकहरु निकै साँघुरा र अव्यवस्थित भएकाले पनि यस्तो घटनामा वृद्धि भएको हो । पैदलयात्रुका लागि फुटपाथ, सडकपेटीहरु बनेकै छैनन् कतिपय सडकछेउमा । जोखिम मोलेरै सडकबाट हिँड्नुपर्ने बाध्यता छ ।
‘उपत्यकाको जनसङ्ख्या दिनानुदिन वृद्धि हुँदैछ तर, सडकहरु जस्ताको त्यस्तै अनि हिँड्नेलाई पनि सास्ती, कुदाउनेलाई पनि सास्ती,’ उनी भन्छन् ।
‘फेरि हाम्रो शहर योजना बनाएर विकास भएको होइन, शुरुमा विकास भयो अहिले बल्ल योजना बन्दैछ त््यसैले पनि सडक अव्यवस्थित छ,’ श्रेष्ठ अगाडि थप्छन्, ‘त्यसमाथि सबैभन्दा ठूलो समस्या भनेको चालकहरुको लापरवाही हो, आफ्नो मोजमस्तीका लागि टन्न रक्सी खान्छन्, रातभरि पार्टी गर्छन् अनि गाडी हुइँकाउँछन् किन नहोस् दुर्घटना ?’
कहिलेकाहीँ पैदलयात्रुकै गल्तीले पनि दुर्घटना हुने बताउँछन् उनी । ‘आकाशे पुलबाट नहिँड्ने, जेब्रा क्रसिङबाट बाटो नकाट्ने, जहिल्यै हतार हुने आदिजस्ता गलत प्रवृत्ति पैदल यात्रुले पनि हटाउनु जरुरी छ,’ प्रवक्ता श्रेष्ठ भन्छन् ।
त्यसैले, पैदलयात्रु, सवारी चालक, सहयोगी, विद्यार्थी आदि सबैजनामा सडक अनुशासन सम्बन्धि जनचेतना जगाउन महानगरीय ट्राफिक प्रहरीले ‘ट्राफिक उज्यालो अभियान’ पनि शुरु गरेको छ ।
त्यस सँगसँगै ट्राफिक नियम उल्लङ्घन गर्नेलाई जरिवाना चिट काट्ने नियम पनि चुस्त दुरुस्त रुपमा लागू गरिरहेको उनले सुनाए । चालु आवमा मात्रै ट्राफिक प्रहरीले काठमाडौंमा २ लाख ९५ हजार ६ सय ९७ वटा चिट काटेको तथ्याङ्क छ ।
यो पनि पढ्नुहोस्
टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएपछि काभ्रेमा तनाव, प्रहरीले गोली चलायो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया