हाम्रो इन्द्रेणी राष्ट्र नेपाल अनेकौँ जाती, भाषा र संस्कृतिरुपी फूलबारी हो । यी सबै फूलहरूको विविधता नै हाम्रो पहिचान, सौन्दर्य, सुवास र सम्पदा हो । यो पहिचानबाट कहिलेकहीँ रमाईलो प्रकट पनि हुनेगर्छ । अनेकौ राष्ट्रिय भाषाहरूको प्रचलन भईरहेको नेपालमा ती भाषाबीच अर्थ र बुझाईका अनेक सन्दर्भहरु पनि छन् ।
यिनमा कतै लज्जित हुनुपर्ने, कतै आँखिभौँ उचालिने र कतै रमाईलो लाग्ने कुराहरु पनि आउँछन् । दिमाग निचोरेर मौलिक विचार निकाल्नु लरतरो काम होइन ।
नेपाली भाषाको मूल स्रोत वा जननी भाषा संस्कृत नै हो । त्यसपछि हिन्दी, अँग्रेजी, बंग्ला, तिब्बती, अरबी, फारसी, ऊर्दू भाषाहरूबाट पनि धेरै शब्द आएका छन्, जसलाई आगन्तुक शब्द भनिन्छ । नेपाली भाषामा अरबी, फारसी र ऊर्दू भाषाका धेरै शब्द प्रचलित छन्, खासगरी कानुनी विषयमा । संस्कृत परिवारका भाषाबाट पनि अन्य भाषामा शब्दहरू गएका छन् । जस्तै संस्कृत वा नेपाली भाषाको विज्ञान शब्दलाई युरोपको च्जेक भाषामा वेद भनिन्छ । अँग्रेजीमा ‘घी’, ‘पाईजामा’, ‘लाठिचार्ज’, ‘डकैत’, ‘हड्ताल’, ‘योगा’, ‘जङ्गल’ आदि धेरै शब्द गएका छन् । नेपाली भाषामा अंग्रेजीका सयौँ आगन्तुक शब्द प्रचलित छन्– स्कूल, स्वेटर, अफिस, कोट, पिउन, सिपाही, गार्ड इत्यादि ।
नेपालीको ढोका शब्दलाई ईजिप्सियन भाषामा दैलो भनिन्छ भनी बताईएको छ । बर्मा, थाईल्याण्ड हुँदै इन्डोनेशीयासम्मका भाषामा संस्कृतको प्रभाव र संस्कृतकै शब्दहरू आगन्तुक रुपमा प्रचलित छन् । ध्यान दिएर हेरौँ भने थाईल्याण्डका धेरै मानिसहरूको नाम संस्कृत शब्दबाट टिपेको देखिन्छ । जस्तै प्रेम तिन्सुलानन्द, भूमिबोल अदुल्यतेज (संस्कृतको अतुल्य तेज), हाम्रो लुम्बिनी जस्तै त्यहाँ लुम्पिनी, अयोध्यालाई अयोथ्या भन्छन् । त्यो त स्थानीय भाषाको प्रभाव र अपभ्रंशको परिणाम पनि हो । संस्कृतको ठूलो प्रभाव त्यो क्षेत्रमा प्रष्टै छ ।
भाषाको रमाईलो
एक पूर्वमन्त्रीले बोलेको प्रसंगलाई सम्झिँदै हिजोआज हाम्रो सचेत समाजमा एउटा शब्द व्यंग्यपूर्वक उच्चारण भईरहने गर्छ ‘हेप्नी !’ तिरस्कारको अर्थमा यो शब्द आएको हो, तर लिम्बु भाषामा ‘हिप्ने’ भन्यो भने ‘पिट्छु’ भन्ने अर्थ लाग्छ, ‘खेने हिप्ने !’ भन्यो भने तँलाई पिटुँ ? भनेको हुन्छ । पूर्वी नेपालको भोजपुरमा एउटा गाउँको नाम छ, ‘छिनामखु’ । यो नाम कतिपय नेवारभाषीहरुलाई सुनाउँदा उनीहरु आश्चर्य मान्दै र हाँस्दै सोध्छन्, ठाऊँको नाम त्यस्तो पनि हुन्छ ? नेवार भाषामा ‘छिनं मखु’ भन्नाले ‘तपाईँ पनि होइन’ अर्थ लाग्छ भने गाउँको नाम नै ‘तपाईँ पनि होइन’ !
कुनै अँग्रेजीभाषीले लिम्बु साथीलाई सोधेछ, “क्यान यु सी मी ?” (मलाई भेट्न सक्छौ ?) साथैमा भएकी अँग्रेजी नजान्ने लिम्बुभाषी उनकी पत्नीले आफ्नै भाषाअनुरुप बुझिछन् ‘केः नुसीबी ?’ (सञ्चै छौ ?) । त्यसैगरी नेपालीको ‘हिरा’ शब्द लिम्बु भाषामा अमर्यादित शब्द हुन्छ स्त्री जननेन्द्रीयबोधक रुपमा । त्यसैले लिम्बु समुदाय खासगरी महिलाहरू भएको ठाउँमा हिरा भन्ने शब्द उच्चारणै नगर्नु वेश हुन्छ ।
नेपाली भाषाको जलपानलाई नेवार भाषामा ‘तुच्छा’ भन्नुपर्छ । तर यसो भनियो भने नेपालीमा नीच, चुत्थो, छोटो, नगण्य, अल्प, क्षुद्र, मन्द आदि अर्थको नजिक पुगिन्छ । यस्ता अनेकौँ प्रसंग हाम्रा राष्ट्रिय अन्तरभाषाका रमाईला पक्ष पनि हुन् ।
कतै भाषाको अपभ्रंशले लज्जास्पद अर्थ दिइरहेको हुन्छ । जस्तै प्रसिद्ध नेवार जातिभित्र एउटा प्रतिष्ठायुक्त थर छ, ‘कंसाकार’ । वास्तबमा यो हुनुपर्ने ‘काँस्यकार’ (काँस धातुको काम गर्ने शील्पी) हो । तर शब्द विचार गर्ने हो भने ‘कंसको आकार’ भन्ने अर्थ लाग्न पुग्छ । त्यसै गरी ‘राज कर्णकार’ हुनुपर्नेमा अपभ्रंश भएर ‘राजकर्णिकार’ अर्थात राजपरिवारमा करणी गर्ने भन्ने हुनपुगेको छ । लिच्छवीकालदेखि आएको ‘स्थपति’ (कर्मी) शब्द अपभ्रंश भएर ‘स्थापित’ हुनपुगेको छ । यो प्रसंग उदाहरणको लागि मात्र प्रस्तुत गरिएको हो, कृपया अन्यथा नमानियोस् ।
अर्को त्यस्तै उदाहरण छ, पाकिस्तानका सैनिक शासक जनरल जिया उल–हकले समकालीन भारतीय प्रधानमन्त्री ईन्दिरा गान्धीलाई पठाएको जन्मदिनको शुभकामना सन्देशमा ”I Cordially extend my best wishes to you on the SUSPICIOUS ( हुनुपर्ने AUSPICIOUS) occasion of your Happy Birthday” भएको थियो ।
शब्दको उल्टोपाल्टो भएर पनि अर्थ र आसय फरक पर्न जान्छ । जस्तै, “पोखरामा प्रहरीले जुवा खेलेको अभियोगमा ६ जनालाई पक्राउ ग-यो” समाचार । झट्ट सुन्दा जुवा खेल्ने प्रहरी, पक्राउ पर्ने ६ जना भन्ने अर्थ लाग्छ । भाषा शैलीमा यस्ता उदाहरण बनिरहन्छन् ।
नेपाली भाषा प्रस्तुतिमा भईरहने अर्को विसंगति पुनउक्ति दोष पनि हो, अर्थात उही अर्थ र आशय दिने शब्द अनावश्यक ढङ्गले दोहोरिन जाने समस्या । यसले गर्दा भाषामा भद्दापन आउन सक्छ । तलको उदाहरण हेरौँ र उही अर्थ र आसय कसरी दोहोरिने गरेको छ, बुझौँ ः इन्दिरा बाईरोडको बाटोबाट रातीको नाइट बस चढेर बिराटनगर गईन् । प्लेनको हवाई टिकट पाईएनछ । टिकटै नकाटी बसमा गएर बसिन् । बाटामा बस परिचालकसँग टिकटको दर रेट नमिलेर विवाद भयो । हेटौँडामा गाडी रोकियो, प्रहरीले सबैका टिकट चेक जाँच ग¥यो । बढी लिएको भाडाको पैसा फिर्ता गरायो । ड्राईभभरले गाडी पछाडि ब्याक त गरेन । तर पथलैयाको जंगलमा पुनः फेरि त्यस्तै भयो । बस अचानक रोकियो । बाहिर हेर्दा सडकमा महिलाको मरेको लाश रहेछ । यस्तै झमेला झेल्दै उनी बिहान झिसमिसेमा बिराटनगर पुगिन । बिहानको मर्निङ् वाकमा धेरै पुरुष र महिला नारीहरू सडकमा हिँडिरहेका थिए ।
माथिको उदाहरणमा कति ठाउँ शब्दहरू अनावश्यक रुपमा दोहोरिएका छन् पाठकले आफैँ पनि पत्ता लगाउन सक्नुहोला ।
नेपाली भाषाको अर्को समस्या हिन्दी शब्दको अनावश्यक उपयोग । तल चिन्ह लगाएका हिन्दी शब्दहरूको नेपालीमै उपयुक्त शब्द छन् । तर नजिकको भाषाको यो एउटा अग्राह्य प्रभाव हो ।
अर्को उदाहरण : दिनेशलाई आजकल सरिताको यादले सताउने गरेको छ । विवाह भए बावजूद उनीहरूको जीवन जिउने सवालमा विवाद हुँदैआयो । रोजरोजको लफडा हदै भएपछि आखिर उनीहरूलाई तलाकको नौवतमा पु¥याएकै हो, परन्तु तलाक भइहालेको छैन । परन्तु, सरिता दिनेशलाई अकेलै छोडेर गईसकिन् । आज दिनेशलाई महशुश भइरहेछ, आखिर म किन जिन्दगीबारे उपयोगी सवालमा छलफल नगरेर विवादको लफडामा फसेँ ? उ आजकल एक्लै गम खाएर बस्नेगर्छ । विवादले गर्दा दाम्पत्य जीवनको सुखलाई बरकरार राख्न नकसेको महसुस हुनथालेको छ । उसले सोच्यो, सरितालाई टेलिफोन गरेर जीवन अझै लामो जिउनुपर्ने बारे याद दिलाउँ र वापस बोलाउँ कि ? या ससुरा बुबालाई फोन गरेर सरितालाई सम्झाउन भनुँ कि ? उ आफ्ना कमि–कमजोरीबारे महसुस गर्दै आजभोली नै सुनितालाई सम्पर्क गर्नेवाला छ ।
भाषा, शब्द र विचार
विचारको घोडामात्र होइन, शब्द ब्रम्ह हो, शब्द नै शक्ति हो । एउटा शब्दको गलत उपयोगले कति फरक पार्छ भन्ने उदाहरणबाट बुझौँ । अमेरिकी राजदूत स्कट एच. डेलिसीले तिब्बती शरणार्थीको पक्षमा (५ मंसिर ०६८ मा) लेखेको लेख कान्तिपुरले छाप्दा ‘नेपाल सरकार र उसका नेपाली जनताले तिब्बती शरणार्थीहरूलाई ‘अमानवीय’ (हुनुपर्ने ‘अमापनीय’) सहयोग प्रदर्शन गरेका छन् भएर छापिएको र पछि सच्याउनु परेको थियो ।
ज्ञान र विज्ञानमा फरक छ । ज्ञानले भन्छ, रगत सबैको समान हो, सबैको रगत एउटै हो । तर विज्ञानले भन्छ, होइन । रगत सबैको समान हुनै सक्दैन । रगत विभिन्न ग्रुपमा हुन्छ । ए ग्रुपको रगत बि ग्रुपको रगत भएको मानिसमा दिईयो भने रगत पाउने मान्छे मर्छ । त्यसैले भाषालाई पनि ज्ञानको दृष्टिलेमात्र होइन विज्ञानको दृष्टिले पनि चलाउनु पर्छ ।
मानिस आज प्राकृतिक रुपमा आफ्नै मौलिक चिन्तनबाट जन्मेको बुद्धिमा भन्दा क्रित्रिम बौद्धिकता (आर्टिफिसियल ईन्टेलिजेन्स्) मा बढ्तै आश्रित हुन थाल्यो । आफ्नै बुद्धिको प्राकृतिक मान्छे मर्दैगएको छ, क्रित्रिम बौद्धिकताको गुलाम भएको प्राविधिक मानव बाँचेको छ । अध्ययनले मानिसको मौलिक चिन्तनलाई प्रबद्र्धन र परिमार्जित गर्छ ।
हामी माक्र्सवादी प्रभावका रचना पनि पढ्ने गर्छौँ । उहाँहरूका चिन्तनको उत्कृष्टताले उन्मुक्त विचारको फराकिलो सेरोफेरो खोज्छ, तर उहाँहरू त्यस्तो उन्मुक्तता अपनाउन थाल्नुभयो भने म माक्र्सवादी कहलाईन्न कि ! बुर्जुवा चिन्तन हावी भएको मानिएला कि ! यस्तो डरको मनोविज्ञान पनि छ त्यहाँ ।
अन्त्यमा : नेपालमा ९० लाखले दैनिक रुपमा र मातृभाषाको रुपमा, र देशबाहिर भारतका विभिन्न ठाउँमा ३० लाख, भूटानमा ६० प्रतिशत, अमेरिकामा करिब ५ लाख जनसंख्याले प्रचलन गर्ने भाषा हो नेपाली । भारतको सिक्किम, दार्जिलिङ्ग, अरुणाचल, असम, मणिपुर, मिजोरम, उत्तराखण्ड आदि प्रदेशमा नेपाली भाषाको ब्यापक प्रचलन छ । युरोप, अमेरिका, कोरिया, जापान, मध्यपूर्व जताततै पुगेका नेपालीहरूले यो भाषाको प्रचलन धेरै वा थोरै मात्रामा पु¥याएका छन् । भाषा यसैगरी फैलिँदै जाने हो । विदेशी भाषाको रुपमा नेपाली सिक्ने विदेशीको संख्या पनि उल्लेखनीय रुपमा बढिरहेको छ । यसको विकास र सुखद विशेषतालाई निर्वाध फैलाउँदै लैजानु जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया