एसईई तालिका अनुसार नै हुन्छ, यसरी पढौं (टिप्ससहित)

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को त्रासका कारण विद्यालय तथा शैक्षिक संस्थानहरुले धमाधम परीक्षा लिइरहेका छन् यसवेला । अरुवेला चैतको दोस्रो हप्तातिर शुरु हुने विद्यालयको वार्षिक परीक्षा यसपालि पहिलो हप्तादेखि शुरु भइसकेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुलाई चैत ५ गतेभित्र परीक्षा सक्न आग्रह समेत गरेकाले यतिवेला प्राय विद्यालयमा परीक्षाको माहोल छ ।

फेरि यस वर्षको एसईई परीक्षा पनि यही चैत ६ गतेबाट शुरु हुने भएकाले कक्षा १० का विद्यार्थीहरु कम्मर कसेर पढाइतिर लागेका छन् ।
एसईई परीक्षा विद्यार्थीका लागि अत्यन्तै महत्वपूर्ण हुन्छ । यो अत्यन्तै संवेदनशील समय हो । यसवेला उनीहरुको शरीर र मनोविज्ञान दुवै निकै अतालिएको र अनियन्त्रित भइरहेको हुन्छ । त्यसैले उनीहरुलाई भरपुर आराम र शान्तिको आवश्यकता पर्दछ । तर, कोरोना भाइरसले यस्तो त्रास फैलाएको छ कि यसले धेरै विद्यार्थीहरुको मनोविज्ञानमा असर पार्नसक्ने अनुमान गरिएको छ ।

सरकारले भीडभाड, सिनेमा हल तथा मलमा, सार्वजनिक स्थलमा नजाने अनुरोध गरिरहेका वेला विभिन्न स्थान र विद्यालयबाट आएका विद्यार्थीहरु एउटै ठाउँमा बसेर परीक्षा दिनुले उनीहरुको स्वास्थ्य सुरक्षामा प्रश्न उठाउने नै भयो । यही डरले उनीहरुलाई विचलित बनाउन सक्छ । यस्तो अवस्थामा विद्यार्थीहरु आफै कसरी संयमित हुने र अभिभावकले कस्तो भूमिका निर्वाह गर्ने भन्ने बारेमा केही टिप्स तयार पारेको छ लोकपथले ।

  • भरपर्दो समाचार माध्यमका समाचारहरु पढ्ने र कोरोना भाइरसको बारेमा नियमित अपडेट भइरहने तर नआत्तिने
  • पढिरहँदा यसको बारेमा नसोच्ने बरु गीत सुनेर, केही समय बाहिर स्वच्छ हावामा हिँडेर दिमाग डाइभर्ट गर्ने
  • नेपालमा अहिलेसम्म संक्रमण नभेटिएकाले नआत्तिने तर, सतर्कता अपनाउने
  • परीक्षा दिन जाँदा नियमित रुपमा मास्क लगाउने
  • रुघा, खोकी, ज्वरो जस्तो मिल्दाजुल्दो लक्षण देखिएको छ भने अरु विद्यार्थीभन्दा छुट्टै कोठामा बसेर परीक्षा दिने, विद्यालयले त्यस्तो कोठाको व्यवस्था गरिदिने
  • ह्यान्ड स्यानिटाइजर बोकेर जाने, समयसमयमा त्यसले हात सफा गर्ने
  • परीक्षा केन्द्रको शौचालय प्रयोग गरेपछि, डेस्क बेन्च छोएपछि, अरु साथीसँग हात मिलाएपछि सकेसम्म साबुन पानीले हात धुने र यदि सम्भव नभए ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने
  • रोग प्रतिरोधात्मक क्षमता बढाउन दुध, सागसब्जी जस्ता पौष्टिक खानेकुरा खाने, जंक फुड खाँदै नखाने

के गर्नुपर्छ अभिभावकले ?

  • नेपालमा कोरोना भाइरस देखा नपरेकाले त्यस्तो भयावह स्थिति छैन भनेर बुझाउने
  • छोराछोरीले अभिभावकले भनेको कुरा भन्दा पनि उनीहरुको गतिविधिबाट बढी सिक्छन् त्यसैले आफ्नो मनोबल पनि दह्रो बनाउने र कोरोनाबाट भयवित नभएको जस्तो देखाउने
  • नियमित हात धुने, मास्कको प्रयोग गर्ने, ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने जस्ता सतर्कता घरबाटै अपनाउन शुरु गर्ने
  • छोराछोरीसँग कोरोना भाइरसका बारेमा कुनै जिज्ञासा छ भने त्यसलाई समाधान गर्ने कोसिस गर्ने
  • साथीभाइ, छरछिमेकसँग कोरोना भाइरसका बारेमा छलफल गर्दा, कुराकानी गर्दा छोराछोरी वरिपरि भए/नभएको हेक्का राख्ने

***

अब परीक्षा तयारी नै चाहिँ कसरी गर्ने ? पढ्ने तरिका, पढ्ने समय, पाठ्य योजना, विषयवस्तु लगायत ‘कोर स्टडी’ कसरी गर्ने भनेर विभिन्न शिक्षाविदसँगको कुराकानी पश्चात् लोकपथले टिप्स तयार पारेको छ ।

पूरा अध्ययन

विद्यार्थीले हरेक शीर्षक पूरा अध्ययन गर्नुपर्छ । किताबका सबै पाठ पढ्ने समय छैन भनेपनि कम्तीमा पढेका शीर्षकहरुको चाहिँ पूर्ण अध्ययन गर्नुपर्छ ।

पुराना प्रश्नपत्रको अध्ययन

परीक्षा तयारी गर्दा विद्यार्थीले सधैं ध्यानमा राख्नुपर्ने कुरा हो, पुराना प्रश्नपत्रको अध्ययन । यसले परीक्षाको फरम्याट कस्तो हुन्छ भन्ने मात्र प्रष्ट पार्दैन उत्तर कसरी दिने वा कस्ताकस्ता प्रश्नहरु बढी महत्वपूर्ण छन् भन्ने जान्न सहज हुन्छ । कुन प्रश्नलाई कति समय दिने भन्ने पनि यसले सहयोग पु याउँछ । यस्तै प्रत्येक समूहमा दिइएका कति प्रश्नमध्ये कतिवटा प्रश्न कति समयावधीमा हल गर्नुपर्ने र तिनका पूर्णाङ्क कति हुन् भन्ने बारे जानकारी हुन्छ ।

समूह बनाएर पढ्ने

परीक्षाको तयारीमा जुटेका विद्यार्थीले समूह बनाएर अध्ययन गर्दा राम्रो हुन्छ । कहिले आफूले प्रश्न सोध्ने र कहिले आफूलाई प्रश्न सोध्न सकिन्छ । यसो गर्दा आत्मविश्वास बढ्छ । यसका अतिरिक्त पढेको कुरा स्पष्टसँग बुझ्न सकिन्छ । त्यसबाहेक साथीहरुको नोटबाट पनि नयाँ जानकारी वा ज्ञान पाउन पनि सकिन्छ ।
फेरि कसैको बानी हुन्छ एकान्तमा पढ्ने । यसो हो भने समूहमा नपढेकै बेस हुन्छ । आफूलाई कसरी पढ्दा सहज हुन्छ त्यही गर्ने ।

लेख्दै अध्ययन गर्ने

पूरै पाठ कण्ठ गर्ने वा पाठ वाचन गर्ने शैली त्यति प्रभावकारी मानिँदैन । आफूले पढेको कुरा सम्झन वा बुझ्नका लागि लेख्ने विधि उपयुक्त हुन्छ । लेख्ने तरिका छिटो र सजिलो माध्यम हो स्मरण गर्नका लागि । पढ्दै गर्दा सँगसँगै लेख्ने ग¥यो भने लेखन गति पनि बढ्दछ ।
कक्षामा शिक्षकले पढाएको विषयलाई घरमा आएर राम्रोसँग अध्ययन गर्ने बानी विद्यार्थीका लागि उपलब्धिमूलक हुनसक्छ । परिक्षामा मात्र पढ्ने विदार्थीहरुले भने कठिन सामग्रीहरु बिहानै उठेर पढ्नुपर्छ । फ्रेस दिमागले पढ्दा सम्झन सजिलो हुने विभिन्न अध्ययनमा देखिएको छ ।

चार्ट र डायग्रामको प्रयोग

कुनै विषयवस्तु पढ्दा श्रव्यदृश्य सामग्रीले सम्झन निकै सहयोग पु¥याउँछ । यदि यस्तो उपकरण नभएको खण्डमा महत्वपूर्ण विषयलाई चार्ट वा डायग्राममा उतार्नुपर्छ ।

पर्याप्त सुत्ने

परीक्षाका नाममा निद्रा मारेर पढ्दा भोलिपल्ट दिमाग फ्रेस नहुने समस्या हुन्छ । यसले स्वास्थ्यमा पनि समस्या निम्त्याउन सक्छ । त्यसैले पर्याप्त सुत्नु राम्रो हुन्छ ।

स्वास्थ्यको ख्याल गर्ने

परीक्षाको तनाव, अनिन्द्रा, खानपानमा अनियमितताको कारण धेरै बिद्यार्थीलाई यसबेला स्वास्थ्य समस्या देखापर्न सक्छ । केही विद्यार्थीहरु परीक्षाको समयमा बिरामी परेर परिक्षा नै छुटेको समाचारहरु पनि हामीले सुनेका छौँ । त्यसैले परीक्षामा पनि आफ्नो दिनचर्यालाई सन्तुलित राख्ने प्रयास गर्नुपर्छ । सही समयमा सुत्ने, उठ्ने खाने तालिका अनुसरण गर्नुपर्छ ।

खानेकुरामा ध्यान दिने

परीक्षाको बेलामा ताजा खानेकुरा खाने, पर्याप्त पानी पिउने गर्नुपर्छ । किनभने शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य भइयो भने नै पढेको कुरा मस्तिष्कले ग्रहण गर्छ । र, त्यसलाई आफूले सरल ढंगमा प्रस्तुत गर्न सकिन्छ ।

नियमित ब्रेक लिने

परीक्षा आयो भन्दैमा विद्यार्थीहरू निरन्तर पुस्तक र नोट बुकमा मात्र केन्द्रित हुनुहुँदैन । नियमित रुपमा ब्रेक लिनुपर्छ । रातमा पढ्दा सम्झन सजिलो हुने विद्यार्थीले दिनमा धेरै थकाइ मार्ने र दिनमा पढ्दा सम्झन सजिलो हुने विद्यार्थीले रातमा थकाइ मार्ने गर्नुपर्छ । जुन समयमा पढे पनि नियमित ब्रेक भने लिनुपर्छ ।

आफूले जानेको कुरा साथीहरुलाई भन्ने

भनाइ नै छ, विद्यार्थीलाई सिक्नको लागि पुस्तक अध्ययन गरेर भन्दा आफूले जानेको कुरा अरुलाई भन्दा बढी प्रभावकारी हुन्छ । त्यसैले साथीहरुलाई आफूले पढिरहेको विषयको प्रश्न आफैंलाई सोध्न लगाउनुपर्छ । यसो गर्दा सम्झन कठिन भएको विषय स्पष्ट हुने र परीक्षामा लेख्न अल्मलिने समस्याबाट मुक्ति पाइन्छ ।

परीक्षाको दिन विशेष तयारी

परीक्षाको दिन दिमागलाई प्रेसर दिनु कदापी सही होइन । त्यसैले परीक्षाको दिन अगावै मिहिनेत गरेर नियमित पठनपाठन गर्नुपर्छ भनिएको हो । परीक्षाको दिन सखारै उठेर केही बेर ध्यान गरेर ब्रेकफास्ट लिनुपर्छ । समयको हेक्का राख्नुपर्छ । परीक्षाको समय आवश्यक पर्ने पेन, पेन्सील, इरेजर, स्केल, एडमिट कार्ड अर्थात् प्रवेश पत्र जस्ता सामाग्री भुल्नुहुँदैन । परीक्षाको दिन परीक्षा समयभन्दा ठिक २० मिनेट अगाडि परीक्षास्थल पुग्नुपर्छ । र प्रशनपत्र राम्ररी अध्ययन गरेर मात्रै उत्तर दिनुपर्छ । नभुलौँ एउटा प्रश्न पूर्ण रुपमा बुझ्नु भनेको ४० प्रतिशत उत्तर आउनु बराबर हो ।

सामान्य लाग्ने तर, अत्यन्त महत्त्वपूर्ण टिप्स

नियमित नुहाउने

प्रशस्त पानी पिउने

धेरै पिरो खानेकुरा सकेसम्म नखाने किनकी यसले मस्तिष्कलाई छिटो थकाउँछ

पढ्ने कोठा उज्यालो र सफा राख्ने

स्वच्छ हावामा हिँडडुल गर्ने

पढेको कुरालाई आफूलाई मनपर्ने गीतको संगीतमा ढालेर याद गर्ने

शब्दहरुलाई तस्वीर तथा दृश्यमा ढालेर पनि स्मरण गर्न सकिन्छ

अभिभावकको भूमिका

विद्यार्थीहरुको परीक्षाको नतिजा राम्रो वा नराम्रो हुनुको पछाडि उनीहरुको एकल भूमिका भने हुँदैन । तयारीका लागि अभिभावकले पनि घरमा त्यहीअनुसारको वातावरण सिर्जना गरिदिनुपर्छ ।

आफ्ना नानीबाबुहरु परीक्षाको तयारी गर्दैगर्दा बाबुआमाले यसरी उनीहरुलाई मद्दत गर्नसक्छन् :

अध्ययनको वातावरण

परीक्षाको समय विद्यार्थीहरु मानसिक रुपले थकित हुन्छन् । उनीहरुमा परीक्षामा राम्रो अंक कसरी ल्याउने भन्ने चिन्ता हुन्छ । यस्तो बेला अभिभावकहरु घरमा झै–झगडा गर्छन् भने छोराछोरीको मन मस्तिष्कमा नकारात्मक प्रभाव पर्छ ।

झैझगडा मात्र होइन अभिभावकको हरेक नकारात्मक गतिविधिले अध्ययनमा जुटेका छोराछोरीमा गम्भीर असर पर्छ । त्यसैले अध्ययनको राम्रो वातावरण सिर्जना गरिदिनुपर्छ । राम्रो वातावरणका लागि शान्त ठाउँ भएर मात्र पुग्दैन, घरपरिवारको व्यवहार पनि आत्मीय र प्रेरणादायी हुन जरुरी छ । तर रिस डर धम्की देखाउनु कदापी हुँदैन ।

मनोविज्ञान बुझ्ने

हरेक बालबालिकाको मनोविज्ञान, क्षमता र रुचि फरक हुन्छ । अर्कातिर कक्षा १० मा पुगेका बालबालिकाको उमेरका कारण, शरीरमा हुने वृद्धि विकास, हर्मोनको कारण एवम् मनोविज्ञान फरक तरिकाको हुन्छ । त्यसैले अभिभावकले आफ्ना छोराछोरीको सोचाइ, व्यवहार मध्यनजर गर्दै त्यहीअनुसारको व्यवहार गर्नुपर्छ ।

मैत्रीपूर्ण व्यवहार

परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई सधैं नै असल साथीको खाँचो हुन्छ र त्यो अभाव अभिभावक स्वयंले पूरा गर्न सक्छन् । आफू कति कमजोर छु, कुन–कुन विषयमा कमजोर छु भन्ने जस्ता कुरा उनीहरु आफ्ना साथीलाई मात्र भन्न सक्छन् । शिक्षक वा अभिभावकका अगाडि डरले पनि यस्ता कुरा लुकाउँछन् । त्यसैले उनीहरुको कमजोरी थाहा पाउन उनीहरूसँग मित्रवत् व्यवहार गर्नुपर्छ ताकि उनीहरु आफ्नो कमजोरीका सम्बन्धमा सजिलै खुल्न सकून् । छोराछोरीको कमजोरी बुझेर सोहीअनुरूपको शिक्षाको प्रबन्ध गर्न सकिन्छ ।

कक्षा १० मा पुगेका छोराछोरीको उमेर भनेको सुन्दर देखिन खोज्ने, स्मार्ट बन्न खोज्ने उमेर हो । यसलाई अभिभावकले बुझेर हौसला र आवश्यक सल्लाह दिनुपर्दछ । परीक्षा र नतिजामा मात्र ध्यान दिने होइन, उनीहरुका इच्छा र स्वतन्त्रतालाई पनि ध्यान दिनु असल अभिभावकको गुण हो ।

शिक्षकको भूमिका

अभिभावकले शिक्षकको भूमिका खेल्नुपर्ने हुन्छ । छोराछोरीलाई अनुशासनमा बाँधेर, उनीहरूले नबुझेको कुरा आफूलाई आउँछ भने सहज रुपमा सिकाइदिनु अभिभावकको कर्तव्य हो ।

प्रेरणाको स्रोत

छोराछोरीका निम्ति प्रेरणादायी भूमिका सधै अभिभावकले नै निभाउनुपर्छ । प्रेरणाले छोराछोरीहरुमा नयाँ ऊर्जा थपिन्छ, केही गर्छु भन्ने जोस आउँछ । ‘तिमी परीक्षामा सफल हुन्छौ, तिमीले गरेको प्रयास राम्रो छ’ जस्ता प्रेरणादायी बोली व्यवहार उनीहरुमाथि झल्काइरहनुपर्छ । अध्ययनका क्रममा उनीहरूमा हीनताबोध सिर्जना हुन दिनु हुँदैन । उचित हौसला एवम् प्रेरणाको अभावमा पनि विद्यार्थीहरु कमजोर हुन्छन् ।

सहयोगी

अध्ययन गरिरहेको बेलामा अभिभावकले बारम्बार डिस्टर्व गर्नु हुँदैन । धेरै पढ्–पढ् भनेर दबाव दिँदा विद्यार्थीहरु निरास हुन सक्छन् । त्यसैले पनि उनीहरुको स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ ।

समय दिने

आजभोलिका अभिभावक प्राय व्यस्त हुन्छन् तर, प्रत्येक दिन केही समय छुट्ट्याएर छोराछोरीसँग संवाद गर्नुपर्छ । परीक्षाको तयारी केकस्तो छ भनेर बुझ्नुपर्छ ।

लोकपथबाट प्रकाशित यी समाचार पढ्नुभएको थियो ? पढ्नलाई हेडलाइनमा क्लिक गर्नुहोस् :

आमाबुबाको व्यस्तताले ‘आत्महत्या’ गर्न बाध्य बनाउँछ छोराछोरीलाई

पढाइमा किन रुचि छैन बालबालिकालाई ?

मोबाइल फोनको ‘वेभ’ले बच्चाहरुमा डरलाग्दो प्रभाव, होसियार ! अभिभावकले ध्यान दिनैपर्छ केही कुरा

बालबालिकालाई लोभ देखाएर काम गराउनु कतिको सही ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?