ईयू आबद्ध देशहरूको सीमा नाका बन्द : संक्रमण घट्ने अनुमान

काठमाडौं – युरोपियन युनियन (ईयू) आबद्ध देशहरूले ३० दिन सीमा नाका बन्द गर्ने निर्णय गरेका छन् । तर लामो अवधिको बासिन्दा, ईयूका परिवारका सदस्य, कूटनीतिज्ञ, स्वास्थ्यकर्मी र सामान ढुवानी गर्ने मानिसहरूका हकमा भने प्रतिबन्ध लागू नहुने बुझिएको छ । बीबीसी समाचारमा जनाएअनुसार प्राणघातक कोरोनाविरुद्ध जुधिरहेका ईयूका मुलुकहरूले थप सतर्कता अपनाउँदै नाका बन्द गर्ने निर्णय गरेका हुन् ।

सीमा बन्द गर्ने यो निर्णय आइसल्यान्ड, लिकस्टेन, नर्वे र स्विट्जरल्यान्डसहित ईयू आबद्ध २६ देशले अवलम्बन गर्ने अपेक्षा गरिएको छ । प्रतिबन्धले गैरईयू नागरिकहरूलाई भ्रमण गर्नबाट असर पार्नेछ ।

हुबेई प्रान्तको उहान उद्गम भएर फैलिएको कोरोना भाइरसको संक्रमणले चीनपछि युरोपेली देशहरूलाई समातेको छ । युरोप क्षेत्रको इटली, स्पेन र फ्रान्समा यसले महामारीको रूप लिइरहेको छ ।

इटलीमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २५ सय ३ पुगेको छ । मंगलबार मात्रै यहाँ थप ३४५ को ज्यान गएको छ । ३१ हजार ५ सय ६ जना संक्रमित छन् । त्यहाँ सबै सार्वजनिक स्थलमा आवागमनमा रोक लगाइएको छ । चीनको वुहान सहरबाट गत डिसेम्बर अन्तिम सातादेखि सुरु भएको कोरोना भाइरस ‘कोभिड १९’ को त्रास विश्वभर महामारीको रुपमा फैलिरहेको छ ।

उद्गमस्थल चीनमा नियन्त्रणउन्मुख भइरहेको भाइरस ‘कोभिड १९’ अहिले विश्वमै महामारी बनेको छ । युरोप र अमेरिका निकै आक्रान्त हुँदै गएका छन् । ईटलीमा मृतक संख्या २५ सय नाघेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ७ हजार ९ सय ८७ जनाको मृत्यु भइसकेको छ । एक लाख अन्ठानब्बे हजार ४ सय २२ केसहरु देखिएको छ । यो संक्रमितको संख्या हो । ८२ हजार ७ सय ६२ जनामा संक्रमण भएर उपचारपछि स्वास्थयलाभ गरी घर फर्किएका छन् । यो रोग एक सय ६५ देशमा फैलिएको छ ।

स्पेनमा एकै दिन १९१ मानिसको ज्यान गएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३३ पुगेको छ । फ्रान्समा १ सय ७५ र जर्मनीमा २६ जनाको ज्यान गएको छ ।

कोरोनाविरुद्ध लड्न विभिन्न उपाय अवलम्बन गरेका ईयू सम्बद्ध राष्ट्रहरूले मृत्युदर ह्वात्तै बढेपछि लिएको नाका बन्द गर्ने निर्णयले संक्रमण घट्ने ठानिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी समस्याको रुपमा घोषणा गरिसकेको छ । यो महामारी घोषणा भएपछि विश्व दुनियाँ झनै डराएको छ । तर डराउनु भन्दापनि यस रोगसँग लड्न सचेतना र साबधानी अपनाउनुपर्छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी चीनका नागरिक रहेका छन्। चीनपछि इटली, इरान र स्पेनमा धेरैको मृत्यु भएको छ। मार्च १७ अर्थात् मंगलबार फिलिपिन्समा ४५ जनामा नयाँ केस देखिएको छ।बिबिसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?