कोरोनाको संक्रमण ब्लड ग्रुप ‘ए’लाई धेरै र ‘ओ’लाई कम हुने चिनियाँ शोधकर्ताको दाबी

काठमाडौं । चीनका मेडिकल शोधकर्ताहरूले मानिसको रगत समूहका आधारमा कोरोना भाइरसको संक्रमण फरक-फरक हुने बताएका छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार कोरोनाको उदगम थलो हुवेई प्रान्तको वुहान र सेन्जनमा गरिएको अध्ययनले ब्लड ग्रुप ‘ए’ भएका मानिसमा कोरोनाको संक्रमण धेरै देखिने र रोग लागिसकेपछि अवस्था पनि गम्भीर हुने देखिएको छ।

तर ब्लड ग्रुप ‘ओ’ भएका मानिसहरुमा भने कोरोनाको संक्रमण कम हुने पाइएको अध्ययनको प्रारम्भिक निस्कर्ष रहेको छ।

वुहान विश्वविद्यालय अस्पतालको सेन्टर फर एभिडेन्स बेस्ड एन्ड ट्रान्सलेसनल मेडिसिनको सहकार्यमा गरिएको उक्त अनुसन्धानमा २ हजारभन्दा धेरै मानिसको रगतको नमूनाको विश्लेषण गरिएको थियो।

वुहानमा कोरोना भाइरसबाट मृत्यु भएका २०६ जनाको रक्त समूह छुट्याउँदा ८५ जनाको ए थियो भने ५२ जनाको ‘ओ’ समूह थियो। अर्थात् ओभन्दा ब्लड ग्रुप ‘ए’ भएका ६३ प्रतिशत भन्दा धेरै मानिसको मृत्यु भएको अध्ययनको दाबी छ ।

उक्त अध्ययनमा लेखिएको छ, ‘ब्लड ग्रुप भएका मानिसहरूले संक्रमण नहोस् भनेर व्यक्तिगत सावधानीमा धेरै नै ध्यान दिनु जरूरी हुन्छ,’ ‘यो रक्त समूहका बिरामीलाई उपचारका क्रममा पनि विशेष निगरानी गर्नुपर्दछ।’

अहिले अमेरिकामा ४४ प्रतिशत मानिसको रक्त समूह ‘ओ’ छ भने ४१ प्रतिशतको ‘ए’ छ। १ करोड १० लाख मानिस रहेको वुहानमा रक्त समूह ‘ओ’ भएका मानिस ३२ र ‘ए’ भएका ३४ प्रतिशत छन्।

यो अध्यनन बेइजिङ, वुहान, सांघाइ र सेन्जेन सहरका डाक्टर र वैज्ञानिकहरू मिलेर गरेका हुन् तर यसको यसको ‘पियर रिभ्यू’ हुन बाँकी नै रहेको छ।

अनुसन्धानकर्ताहरूले पनि अहिले नै यसलाई कोरोनाविरूद्धको मार्गनिर्देशक मान्न नहुनेतर्फ सचेत गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?