काठमाडौं । भोलिदेखि देशव्यापी रुपमा माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु हुँदैछ । कक्षा १० का विद्यार्थीहरुको निमित्त ‘फलामको ढोका’ मानिने यस परीक्षालाई विद्यार्थी जीवनकै सबैभन्दा महत्वपूर्ण परीक्षाका रुपमा लिइन्छ ।
तर, यसपालिको एसईई परीक्षा केही विवादका बीच शुरु भएको छ । कारण हो, कोरोना भाइरस ।
हाल विश्वका १ सय ६७ वटा राष्ट्रहरुमा फैलिएको यस महामारीको उच्च जोखिममा नेपाल पनि परेको कुरा विश्व स्वास्थ्य संगठनले समेत बताइसकेको छ ।
यसबीच एसईई सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा केही मतभेद पक्कै देखिएको थियो । तर, त्यसका बावजुत परीक्षा तालिका बमोजिम शुरु हुने भएको छ ।
अक्सर एसईई परीक्षा दिन जानुअघि घर वा विद्यालयबाट टिका र आशीर्वाद थापेर विद्यार्थीहरु परीक्षा केन्द्रतर्फ जाने चलन छ । यसपालि पनि विभिन्न विद्यालयहरुमा यस्तै दृश्य देखिनेछ ।
तर, त्यो सँगसँगै यसपालि केही फरक दृश्य पनि देखिने निश्चित छ । विद्यार्थीहरुले विद्यालयको पोशाक सँगसँगै मास्क पनि लगाउने छन् । कोरोनाको त्रासका बीच परीक्षा दिन जान लागेका विद्यार्थीहरुको लागि उनीहरुका अभिभावकले मास्क जोहो गरेका छन् । केहीले सामाजिक सञ्जालमार्फत् बजारमा मास्क नै नपाइएको गुनासो गरिरहेका छन् ।
भलै अहिलेसम्म नेपालमा यसको संक्रमण भेटिएको छैन तर, यसको मतलब हामी सावधानी अपनाउनबाट चुक्नु चाहिँ हुँदैन ।
कोरोना भाइरसबाट बच्न अपनाइने सबैभन्दा प्रभावकारी र उपयुक्त तरिका हो, अरु मानिसको सम्पर्कमा नै नरहने । सकेसम्म धेरै मानिसको संगत, सम्पर्क त्याग्नु पर्ने बताइन्छ । विश्वका धेरै राष्ट्रमा ‘क्वारेन्टाइन’ स्थापना गरिएको, लक डाउन गरिएको कारण पनि यही हो ।
तर, विभिन्न विद्यालयबाट, विभिन्न स्थानमा बसोबास गर्दै आएका विद्यार्थीहरु एकै ठाउँ भेला भएर परीक्षा दिनु उनीहरुको स्वास्थ्य सुरक्षामा ठूलो चुनौती पैदा गरेको भन्दै विश्लेषकहरुले बताउँदै आएका छन् ।
सरकारले हरेक परीक्षा केन्द्रमा स्वास्थ्य डेस्क स्थापना गरेर विद्यार्थीहरुको स्वास्थ्य जाँच गर्ने अनुरोध ७ सय ५३ वटै स्थानीय तहलाई गरिसकेको छ । तर, उपकरण र जनशक्ति नभएको अवस्थामा के यो सम्भव होला ?
यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण विश्वभरिमा ८ हजार १२ जनाको मृत्यु भइसकेको छ भने २ लाख २ हजार २ सय ८४ जना संक्रमित छन् । कोरोना भाइरस विश्वका १ सय ६७ राष्ट्रमा फैलिसकेको छ ।
एसईईका परीक्षार्थीहरुले जानी राखौं यी पूर्व तयारीका बारेमा…
- भरपर्दो समाचार माध्यमका समाचारहरु पढ्ने र कोरोना भाइरसको बारेमा नियमित अपडेट भइरहने तर नआत्तिने
- पढिरहँदा यसको बारेमा नसोच्ने बरु गीत सुनेर, केही समय बाहिर स्वच्छ हावामा हिँडेर दिमाग डाइभर्ट गर्ने
- नेपालमा अहिलेसम्म संक्रमण नभेटिएकाले नआत्तिने तर, सतर्कता अपनाउने
- परीक्षा दिन जाँदा नियमित रुपमा मास्क लगाउने, टिस्यु पेपर बोक्ने
- रुघा, खोकी, ज्वरो जस्तो मिल्दाजुल्दो लक्षण देखिएको छ भने अरु विद्यार्थीभन्दा छुट्टै कोठामा बसेर परीक्षा दिने, विद्यालयले त्यस्तो कोठाको व्यवस्था गरिदिने
- ह्यान्ड स्यानिटाइजर बोकेर जाने, समयसमयमा त्यसले हात सफा गर्ने
- सम्भव भएसम्म अरु साथीहरुसँग हात मिलाउने, अंकमाल गर्ने जस्ता गतिविधि नगर्ने
- परीक्षा केन्द्रको शौचालय प्रयोग गरेपछि, डेस्क बेन्च छोएपछि, अरु साथीसँग हात मिलाएपछि सकेसम्म साबुन पानीले हात धुने र यदि सम्भव नभए ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने
- रोग प्रतिरोधात्मक क्षमता बढाउन दुध, सागसब्जी जस्ता पौष्टिक खानेकुरा खाने, जंक फुड खाँदै नखाने
अब परीक्षा तयारी नै चाहिँ कसरी गर्ने ? पढ्ने तरिका, पढ्ने समय, पाठ्य योजना, विषयवस्तु लगायत ‘कोर स्टडी’ कसरी गर्ने भनेर विभिन्न शिक्षाविदसँगको कुराकानी पश्चात् लोकपथले टिप्स तयार पारेको छ ।
पूरा अध्ययन
विद्यार्थीले हरेक शीर्षक पूरा अध्ययन गर्नुपर्छ । किताबका सबै पाठ पढ्ने समय छैन भनेपनि कम्तीमा पढेका शीर्षकहरुको चाहिँ पूर्ण अध्ययन गर्नुपर्छ ।
पुराना प्रश्नपत्रको अध्ययन
परीक्षा तयारी गर्दा विद्यार्थीले सधैं ध्यानमा राख्नुपर्ने कुरा हो, पुराना प्रश्नपत्रको अध्ययन । यसले परीक्षाको फरम्याट कस्तो हुन्छ भन्ने मात्र प्रष्ट पार्दैन उत्तर कसरी दिने वा कस्ताकस्ता प्रश्नहरु बढी महत्वपूर्ण छन् भन्ने जान्न सहज हुन्छ । कुन प्रश्नलाई कति समय दिने भन्ने पनि यसले सहयोग पु याउँछ । यस्तै प्रत्येक समूहमा दिइएका कति प्रश्नमध्ये कतिवटा प्रश्न कति समयावधीमा हल गर्नुपर्ने र तिनका पूर्णाङ्क कति हुन् भन्ने बारे जानकारी हुन्छ ।
लेख्दै अध्ययन गर्ने
पूरै पाठ कण्ठ गर्ने वा पाठ वाचन गर्ने शैली त्यति प्रभावकारी मानिँदैन । आफूले पढेको कुरा सम्झन वा बुझ्नका लागि लेख्ने विधि उपयुक्त हुन्छ । लेख्ने तरिका छिटो र सजिलो माध्यम हो स्मरण गर्नका लागि । पढ्दै गर्दा सँगसँगै लेख्ने ग-यो भने लेखन गति पनि बढ्दछ ।
कक्षामा शिक्षकले पढाएको विषयलाई घरमा आएर राम्रोसँग अध्ययन गर्ने बानी विद्यार्थीका लागि उपलब्धिमूलक हुनसक्छ । परिक्षामा मात्र पढ्ने विदार्थीहरुले भने कठिन सामग्रीहरु बिहानै उठेर पढ्नुपर्छ । फ्रेस दिमागले पढ्दा सम्झन सजिलो हुने विभिन्न अध्ययनमा देखिएको छ ।
चार्ट र डायग्रामको प्रयोग
कुनै विषयवस्तु पढ्दा श्रव्यदृश्य सामग्रीले सम्झन निकै सहयोग पु¥याउँछ । यदि यस्तो उपकरण नभएको खण्डमा महत्वपूर्ण विषयलाई चार्ट वा डायग्राममा उतार्नुपर्छ ।
पर्याप्त सुत्ने
परीक्षाका नाममा निद्रा मारेर पढ्दा भोलिपल्ट दिमाग फ्रेस नहुने समस्या हुन्छ । यसले स्वास्थ्यमा पनि समस्या निम्त्याउन सक्छ । त्यसैले पर्याप्त सुत्नु राम्रो हुन्छ ।
स्वास्थ्यको ख्याल गर्ने
परीक्षाको तनाव, अनिन्द्रा, खानपानमा अनियमितताको कारण धेरै बिद्यार्थीलाई यसबेला स्वास्थ्य समस्या देखापर्न सक्छ । केही विद्यार्थीहरु परीक्षाको समयमा बिरामी परेर परिक्षा नै छुटेको समाचारहरु पनि हामीले सुनेका छौँ । त्यसैले परीक्षामा पनि आफ्नो दिनचर्यालाई सन्तुलित राख्ने प्रयास गर्नुपर्छ । सही समयमा सुत्ने, उठ्ने खाने तालिका अनुसरण गर्नुपर्छ ।
खानेकुरामा ध्यान दिने
परीक्षाको बेलामा ताजा खानेकुरा खाने, पर्याप्त पानी पिउने गर्नुपर्छ । किनभने शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य भइयो भने नै पढेको कुरा मस्तिष्कले ग्रहण गर्छ । र, त्यसलाई आफूले सरल ढंगमा प्रस्तुत गर्न सकिन्छ ।
नियमित ब्रेक लिने
परीक्षा आयो भन्दैमा विद्यार्थीहरू निरन्तर पुस्तक र नोट बुकमा मात्र केन्द्रित हुनुहुँदैन । नियमित रुपमा ब्रेक लिनुपर्छ । रातमा पढ्दा सम्झन सजिलो हुने विद्यार्थीले दिनमा धेरै थकाइ मार्ने र दिनमा पढ्दा सम्झन सजिलो हुने विद्यार्थीले रातमा थकाइ मार्ने गर्नुपर्छ । जुन समयमा पढे पनि नियमित ब्रेक भने लिनुपर्छ ।
आफूले जानेको कुरा साथीहरुलाई भन्ने
भनाइ नै छ, विद्यार्थीलाई सिक्नको लागि पुस्तक अध्ययन गरेर भन्दा आफूले जानेको कुरा अरुलाई भन्दा बढी प्रभावकारी हुन्छ । त्यसैले साथीहरुलाई आफूले पढिरहेको विषयको प्रश्न आफैंलाई सोध्न लगाउनुपर्छ । यसो गर्दा सम्झन कठिन भएको विषय स्पष्ट हुने र परीक्षामा लेख्न अल्मलिने समस्याबाट मुक्ति पाइन्छ ।
परीक्षाको दिन विशेष तयारी
परीक्षाको दिन दिमागलाई प्रेसर दिनु कदापी सही होइन । त्यसैले परीक्षाको दिन अगावै मिहिनेत गरेर नियमित पठनपाठन गर्नुपर्छ भनिएको हो । परीक्षाको दिन सखारै उठेर केही बेर ध्यान गरेर ब्रेकफास्ट लिनुपर्छ । समयको हेक्का राख्नुपर्छ । परीक्षाको समय आवश्यक पर्ने पेन, पेन्सील, इरेजर, स्केल, एडमिट कार्ड अर्थात् प्रवेश पत्र जस्ता सामाग्री भुल्नुहुँदैन । परीक्षाको दिन परीक्षा समयभन्दा ठिक २० मिनेट अगाडि परीक्षास्थल पुग्नुपर्छ । र प्रशनपत्र राम्ररी अध्ययन गरेर मात्रै उत्तर दिनुपर्छ । नभुलौँ एउटा प्रश्न पूर्ण रुपमा बुझ्नु भनेको ४० प्रतिशत उत्तर आउनु बराबर हो ।
लोकपथबाट प्रकाशित यी समाचार पढ्नुभएको थियो ? पढ्नलाई हेडलाइनमा क्लिक गर्नुहोस् :
आमाबुबाको व्यस्तताले ‘आत्महत्या’ गर्न बाध्य बनाउँछ छोराछोरीलाई
पढाइमा किन रुचि छैन बालबालिकालाई ?
मोबाइल फोनको ‘वेभ’ले बच्चाहरुमा डरलाग्दो प्रभाव, होसियार ! अभिभावकले ध्यान दिनैपर्छ केही कुरा
बालबालिकालाई लोभ देखाएर काम गराउनु कतिको सही ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया