फोहोर सोचेर २० लाख रुपैयाँ डस्टबिनमा फालेपछि…

काठमाडौं । चीनमा एक व्यक्तिले बिर्सिएर फोहोर फ्याँक्ने भाँडोमा २० लाख रुपैयाँ फ्याँकिदिएका छन् । पैसा राख्नका लागि उनी बैंक पुग्दा बल्ल उनले फोहोरको साटो पैसा फ्याँकेको थाहा पाए ।

लियाओनिङमा वाङ नामक व्यक्ति हातमा दुईवटा थैला बोकेर निस्केका थिए । एउटामा घरको फोहोर थियो भने अर्कोमा लगभग २० लाख रुपैयाँ थियो । झुक्केर उनले पैसाको थैली फोहोर फ्याँक्ने भाँडोमा फ्याँकिदिए।

बैंकमा पुगेर गल्ती थाहा पाएपछि उनी दौडिँदै फोहोरको भाँडोमा आए तर त्यतिखेरसम्म पैसा हराइसकेको थियो । त्यसपछि उनले प्रहरीसमक्ष उजुरी दर्ता गरे ।

प्रहरीले फोहोरको भाँडोनजिक रहेको सीसीटीभी क्यामरा चेक गर्यो । तर फूटेज सफा नभएकाले केही पत्ता लाग्न सकेन ।

प्रहरीले वरपरका मानिसलाई सोधपुछ गर्यो । सोधपुछका बेलामा एक महिलाले आफूसँग थैलो भएको सुनाइन् । उनले प्रहरीलाई थैली बुझाइन् पनि ।

थैली भेटेदेखि आफू आरामले सुत्न नसकेको अनि यति धेरै पैसाको के गर्ने भनेर छटपटाएको उनले बताइन् ।

महिलाको इमान्दारी देखेर वाङ खुशी हुँदै पुरस्कारस्वरूप उनलाई दुई हजार युआन दिएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?