आलेख : सम्झनामा अनौठा विशेषताका गिरिजाप्रसाद – कार्यकर्ता भन्थे ‘गिर्जादाजु’

म्युनिष्ट नाराद्वारा प्रायः गाली गरिएका, विचारद्वारा आलोचना गरिएका, ब्यवहारद्वारा सम्मान गरिएका, छःपटक यस मुलुकको प्रधानमन्त्री र तीनपटक नेपाली काङ्ग्रेसको पार्टी सभापति भइसकेका, आफ्नो “शब्दकोशमा विश्राम भन्ने शब्द छैन” भनी दावी गर्ने र त्यही अनुरूपको आचरण भएका ऐतिहासिक तथा वयोवृद्ध नेता गिरिजाप्रसाद कोइरालाले चीर विश्राम लिए २०६६ चैत ७ गते शनिबार । त्यसैले आज चैत ७ गते उनको एघारौँ स्मृति दिवस हो ।

वि.सं. २००३ सालमा विराटनगर जुटमिल्स्मा मासिक पच्चीस रूपैयाँको मजदूरी गर्दागर्दै नेपालको पहिलो मजदूर हडताल र २००७ सालको जनक्रान्तिको श्रीगणेश गरेदेखि अथक संघर्षशील राजनीति गर्दै मृत्युसम्म पुगेका गिरिजाप्रसाद नेपाली राजनीतिको एउटा मौलिक उदाहरणको नाम हो ।

आलाकाँचा वा गधापच्चिसे युवाका ‘गिर्जादाजु’, समकालीन वा प्रौढहरूका ‘गिर्जाबाबु’ र जल्दोबल्दो उमेर र राजनीतिक सकृयताको पराकाष्ठामा विरोधीहरूले घृणा ओकल्दै “गिरिजा” भनिएका यी नेता बाचुञ्जेल कुनै दिन बृद्ध भएनन्, युवा जोश लिएरै राजनीतिमा छाइरहे । जुन दिन परलोक भए, त्यही दिन मात्र बुढा भए ।

“ल किशुनजी, मैले भन्या पनि मान्नुहुन्छ भने आलटाल नगरिकन गिरिजालाई पार्टीबाट निष्काशन गर्न कारबाही शुरू गरिहाल्नुहोस्…..” गणेशमानजीले २०५० सालतिर उहाँहरूवीच कलह चर्किँदा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई जोडका साथ यस्तो दबाब दिए । काङ्ग्रेसका नेताहरू पञ्चायत वा राजासँग संघर्ष गर्न माहिर थिए भने राजा र पञ्चायतलाई सिध्याइसकेपछि आफू–आफैँवीच झगडा गर्न बहादुरी देखाईरहेका छन् । त्यो बेला पनि यस्तै गृहकलह थियो ।

काङ्ग्रेसभित्रको यो विवाद, दबाब र कलहका वीच किशुनजीले दुई–चारपटक ‘हेर्दैछु’, ‘विचार गर्दैछु’ भन्ने जवाफ दिनुभयो । केही नलागेपछि उहाँले एकदिन गणेशमानजीलाई स्पष्ट जवाफ दिनुभएछ, “काजी साहेब, म असमर्थ छु । हामीले इण्डियामा बसेर काङ्ग्रेस बनायौँ, र नेपालमा आन्दोलन गर्ने कार्यक्रम बनायौँ । त्यत्रो मजदूर हड्ताल गरेर काङ्ग्रेसको त्यो कार्यक्रमलाई पहिलोपटक नेपाली धर्तीमा उतार्ने मान्छे त गिरिजाबाबु नै हुनुहुन्थ्यो । त्यस्तो ब्यक्तिलाई काङ्ग्रेसबाट निकाल्न म कसरी सक्छु ? सक्दिन ।” के स्मरणीय छ भने, किसुनजी गणेशमानजीलाई कुनै मन नपरेको विषयबारे भन्नुप¥यो भने दरबारिया काजी खलक भएकोले होला, ‘काजी साहेब’ भन्ने गर्नुहुन्थ्यो ।

त्यसैताका ‘ब्रेन ट्युमर’ को शङ्का भएको हुँदा उनी स्वास्थ्यजाँच गराउन अमेरिका गएका थिए । यता उनका विरूद्ध देश भ्रमण गर्दै विराटनगर पुगेर कुनै होटलमा बस्न लाग्नुभएका गणेशमानजीलाई स्व. नोना कोइराला होटेलमै गएर उहाँकै जोडमा कोइराला निवासमा लगेर राखियो ।

नोनाले भन्नुभएछ, “गणेशमानजी, गिरिजाबाबुसँग तपाईँ सन्तुष्ट हुनुहुन्न भन्ने मलाई थाहा छ । तर यहाँ आएका बेला तपाईँ अन्यत्र बस्न पाउनुहुन्न, हाम्रो सम्मानित अतिथिका रूपमा स्वागत गर्न पाउँ गणेशमानजी । तपाईँका भन्नुपर्ने कुरा जतिछन् यही घरमा बसेर भन्नुहोस् । म प्रेसलाई बोलाइदिन्छु ।

कोइराला निवासको प्राङ्गणमा गणेशमानजीका कुरा सुन्न काङ्ग्रेस कार्यकर्ता र प्रेसको ठूलो जमघट भएको थियो । त्यहीँ गणेशमानजीले गिरिजाबाबुको ब्रेन ट्युमरबारे अमेरिकी डाक्टरले भनेको भन्दै सुनाउनु भयो, “नो बे्रन, नो बे्रन ट्युमर !” अनुभव भएन, यिनको बे्रन थियो कि थिएन । ब्रेन भएकाले पनि यस मुलुकलाई बर्वाद बनाउन बाहेक ख्वै के नै लछारपाटो लगाए ! प्रजातन्त्रका लागि यिनले कलम पनि उठाएनन्, हतियार चाहिँ उठाएकै हुन् । दक्षिण एशियामै पहिलोपटक प्लेन हाईज्याक गराएकै हुन् ।

यी विचारक होइन, योद्धा थिए, भाग्ने होइन भिडने, दुर्धर्ष मान्छे थिए । यिनको निर्णय क्षमताले ठीकसँग निर्णय लिएको भए नेपाल आज कहाँको कहाँ पुग्नेथियो ।

नेपालका कम्युनिष्टहरूका विरूद्ध यिनले जति अरू कसले आगो ओकल्यो होला र “माले, मण्डले, मसाले एउटै हुन्…..” ! उनीहरूलाई कसैले आतङ्कित बनायो भने उनैले बनाए । तर जीवनका अन्तिम चरणमा उनी कम्युनिष्टहरूका निम्ति सबभन्दा बढी “भरपर्दो संरक्षक र अभिभावक” भए ।

कहिले त यस्तो पनि लाग्दथ्यो, उनी गाई मारेर गधा पोस्ने काम गर्दैछन् ।
चराको जस्तो आहारा, सिंहको जस्तो साहस, कुनै तपस्वी वा महानब्रतीको जस्तो इच्छाशक्ति तथा लगाव, पतिभक्तिनीको जस्तो अचल धैर्य, श्रमवीरको जस्तो थकानरहित मिहिनेत यिनका गुण हुन् । परिवारवादी, अहम्वादी, महत्वोन्मादी, मनोगतवादी, हठीजस्ता लोकतान्त्रिक आचरण प्रतिकूलका दुर्गुणको बयान लगाउने काङ्ग्रेसजन पनि पार्टीभित्रै बग्रे्रल्ती छन् । पछिल्लो चरणमा, एक्ली तर चरम विवादास्पद छोरीलाई राजनीतिमा स्थापित गर्न देखाएको पुत्रीमोहको अस्वाभाविक ब्यवहारले उनको छविमा साह्रै ठूलो क्षति पु¥यायो । किशुनजी र गिरिजाबाबुको कार्यशैलीको तुलना गर्दै काङ्ग्रेसजन भन्छन्, पहिलोले पार्टीलाई परिवार मानेर काम ग¥यो, दोस्रोले परिवारलाई पार्टी मानेर काम ग-यो ।

यिनका केही अनौठा पक्षबारे चर्चा गरौँ ।

जन्मअघि नै न्वारान :

जनकपुरधामको ‘बृहत् परिक्रमा’ भित्र पर्ने भारत, मधुवनी जिल्लाको जटहीमा पार्वतीको मन्दीर छ, जसलाई ‘गिरिजास्थान’ भनिन्छ । भन्सारको आय ठेक्कामा चल्ने त्यो जमानामा भन्सार आयको ठेक्का रकम बुझाउन नसकेपछि चन्द्र शम्शेरद्वारा गरिएको सर्वश्वहरणमा परेर भारतमा निर्वासित जीवन बिताइरहेका गिरिजाबाबुका पिता कृष्णप्रसाद र माता दिब्या १९८१ साल जेठमा घुम्दै उक्त मन्दिरमा दर्शनार्थ पुग्नुभयो ।

गिरिजास्थानमा दर्शन गर्न निहुँरिदा गर्भवती माताको शिरमा मूर्तिबाट पूmल खसेछ । गर्भवती महिलाको शीरमा पूmल खस्नु अत्यन्त शुभलक्षण हो भनी मन्दीरका पूजारीले बताएपछि दुबैले त्यहीँ सल्लाह गरे, छोरा जन्मिए गिरिजाप्रसाद र छोरी जन्मिए गिरिजादेवी नाम राख्ने ।

त्यसै सालको असार २० गते निर्वासनको हण्डर खाँदै हिन्दुस्तानका विभिन्न ठाउँमा यायावर जीवन बिताउँदै भौँतारिँदै शरणार्थीका रूपमा टाउको लुकाउन आखिर कोशी नदी किनार बिहारको दीपनगर (टेडी) भन्ने ठाउँमा फुसको झुपडी हालेर बस्नपुगेको अवस्थामा यिनको जन्म भएको थियो ।

त्यसकारण जन्मिँदा यिनका वरिपरि थिए, बिरानो मुलुक, पराई समाज, कठोर गरिबी, पराले झुपडी, कोशीको बाढीले बनाइदिएको हिलाम्य आँगन, गरिब आमाबाबु र राजनीतिक शरणार्थीहरूको क्षुधापीडित एउटा ठूलो पारिवारिक तथा आफन्ती जमात । उनी पहिलोपटक प्रधानमन्त्री (२०४८) बनेको खबर सुनेर त्यो भारतीय गाउँका बासिन्दाले गाउँभरि नै दीपावली गरेछन् ।
शिक्षा : 

दीपनगर–टेडीमै रहँदा ‘पिताजी’ ले एउटा विद्यालय खोल्नुभएको थियो— आदर्श विद्यालय । चारवर्षको उमेरमा गिरिजाप्रसादले कखरा शुरू गरे । आदर्श विद्यालयलाई महात्मा गान्धीको सावरमती आश्रमजस्तै बनाउने पिताजीको इच्छा थियो र त्यहाँ त्यस्तै जीवनशैली अपनाइएको थियो ।

वि.सं. १९८६ सालमा भीम शम्शेरबाट कोइराला परिवारले आम माफी पाएर निर्वासनबाट स्वदेश फर्किएपछि त्यही विद्यालयलाई पिताजीले विराटनगरमा सार्नुभयो । त्यो विद्यालयमा नाम दर्ता गराउने पहिलो छात्र थिए, गिरिजाप्रसाद कोइराला । त्यसबखत काठमाडौँको दरबार हाईस्कूल बाहेक उपत्यकाबाहिर स्थापित भएको त्यो नै एकमात्र हाईस्कूल थियो । कोइराला निवासको हाताभित्र फुसको छानो भएको त्यो स्कूलमा खाकी रङ्गका कमिज र हाफपाइन्ट लगाएका छात्रहरू र घाँघर वा कुर्ता सुरवाल लगाएका, तेल लगाएर कोरिएको कपालमा दुई चुल्ठो बाटेका छात्राहरू बिहान पंक्तिबद्ध भएर हिन्दीमा ईश्वर–प्रार्थना गर्दथे—

तेरे हि जलबे से जग के करता
यह बाग यह आलम महक रहा है,
तरे हि खुश्बु से जग के करता,
यह बाग यह आलम महक रहा है ।…..

आदर्श विद्यालयले विराटनगरमा शैक्षिक क्रान्ति नै ल्यायो । प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय, बीपीपत्नी सुशीला कोइराला, विश्वबन्धु थापा, नगेन्द्रप्रसाद रिजाल, तोलाराम दुगड, हंशराज गोल्छा, डीपी अधिकारी, केशब र तारिणी कोइराला, सीपी लोहनी, युवराज शर्मा, हिन्दीका प्रसिद्ध उपन्यासकार वा कथाकार फणीश्वरनाथ ‘रेणु’ आदि त्यस विद्यालयका उत्पादन थिए ।
आदर्श विद्यालयको विद्यार्थी हुँदा यिनले बाल्यकालमा भिषण गरिबी देखेका थिए । यिनको जीवनको अमूल्य र महत्वपूर्ण कालखण्ड गरिबी र संघर्षमै बित्यो ।

विवाह

निर्वासनबाट स्वदेश फर्केपछि काठमाडौँको भोटेबहालमा डेरा गरी बस्दाको कुरा हो, ५/६ वर्षका गिरिजा (‘गिरू’) सँग खेल्ने घरबेटीकी एउटी राम्री बालिका थिइन् । पिता कृष्णप्रसादलाई ती बालिका खुब मन परेछ, उहाँले आफ्ना पारिबारिक पण्डित (ईलामतिरका) गजाधरसँग सल्लाह गर्नुभयो, “यी बच्ची मेरो गिरूलाई सुहाउने खालकी रहिछन् । यिनलाई कान्छी बुहारी बनाउने मलाई मन छ ।

बिहेको लागि अहिलेदेखि नै कुरा गरौँ कि ?” गजाधर पण्डितले जवाफ दिए, “तपाईँको छोराको जन्मकुण्डलीमा अविवाहित कन्यासँग विवाह गर्ने योग नै छैन, के केटी माग्नुहुन्छ ?” नभन्दै त्यस्तै भयो ।

लोग्नेको यातना सहन नसकेर माइतै बसेकी पूर्वविवाहिता महिला (सुशीला चालिसे) सँग यिनको विवाह भयो । कोईराला परिवारमा नाम जुधेपछि यिनलाई सुष्मा भन्न थालिएको हो । २०२४ चैतमा वालिका विद्यालयकी शिक्षिका पत्नी सुषमा मट्टितेलबाट (पनि) चल्ने रिफ्रीजेरेटरको ट्यांकी जलेर निधन हुँदा यिनको उमेर ४२ वर्षको थियो । त्यो बेलादेखि यिनले दोस्रो विवाहको इच्छै गरेनन् ।

राजनीति :

वीपी कोइरालाले आफ्नो जीवनको अन्तिम अवस्थामा गणेशमानजी, किसुनजी र गिरिजाप्रसादलाई राखेर भन्नुभएको थियो, “गिरिजा चिन्तनमा आधारित राजनीति गर्ने मानिस होइन । यसबाट चिन्तनयुक्त राजनीतिको आसै नगर्नुहोस् । पार्टीको इमानदार सिपाही हो यो । यसले तपाईँहरूले लिनुभएको निर्णयलाई पार्टीमा कार्यान्वयन गर्नसक्छ ।…..” यिनका पालामा काङ्ग्रेस पार्टीको समाजवादमात्र ध्वस्त भएन, लोकतन्त्र नै प्रतिरक्षात्मक अवस्थामा पुग्यो ।

आज राष्ट्रियता कमजोर भएको छ । काङ्ग्रेस पार्टी स्खलित भएको छ । शान्ति प्रक्रियाका नाममा काँग्रेस मध्यमार्गबाट च्यूत भएर अर्काका एजेण्डाको भरिया बन्ने हुँँदा यसको प्रतिष्ठामा गम्भीर असर पुगेको छ । सबै काम लथालिङ्ग र भताभुङ्ग अवस्थामा छ ।

पार्टी यसैगरी ओरालो लागेकै अवस्थामा गिरिजाबाबुको निधन भयो । त्यसपछिका तथाकतिथ नेतृत्वबाट यसको श्रीबृद्धि र जनप्रियता बढाउनमा माखो पनि मरेन । त्यसैले पार्टीलाई पुनर्जीवन दिन बीपी कोइराला र गणेशमान सिंह जस्ता नेताको पुनर्जीवन जरूरी भइसकेको छ । गिरिजाबाबुलाई श्रद्धाञ्जली छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?