कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकैदिन ६२७ जनाको मृत्यु, चीनमा ३ जनामात्रै

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट युरोपेली देश इटालीमा शुक्रबार एकैदिन ६२७ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ३२ जनाको मृत्यु भएको छ । यो महामारीबाट इटालीमै सबैभन्दा धेरैको ज्यान गएको हो ।

भाइरसको उत्पत्तिस्थल चीनमा यो भाइरसबाट ३२ सय ४८ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा चीनमा ३ जनाको मात्रै मृत्यु भएको छ । चीनले कोरोनाको महामारी आफ्नो देशमा सकिएको यसअघि नै बताइसकेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार स्पेनमा पनि भाइरसबाट एकै दिन २१२ जनाको मृत्यु भएको छ भने इरानमा १४९ जनाको मृत्यु भएको छ । स्पेन र इरानमा मृतको संख्या क्रमशः १ हजार ४३ र १४ सय ३३ पुगेको छ ।

हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभर ११ हजार १८६ जना पुगेको छ भने संक्रमितको संख्या २ लाख ६५ हजार ९७६ पुगेको छ । यस्तै ९० हजार बढी भनेर निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?