कोरोना फैलिएको भ्रम फैलाउनेलाई प्रहरीले लगायो हत्कडी

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड) १९ को संक्रमण फैलिएको र केही व्यक्तिको मृत्यु समेत भएको भन्ने आशयको अडियो रेकर्ड गराएर सामाजिक सञ्जालमा भ्रम फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप घर भइ हाल भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवक थापा मगर रहेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।

नेपालमा कोरोना देखिएको भनी सामाजिक सञ्जालमा भाइरल बनेको भ्रामक श्रव्य सामग्री (अडियो) का विषयमा नेपाल प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको थियो ।

उक्त अडियोमा एक व्यक्तिलाई सम्बोधन गरेर रेकर्ड गरिएको उक्त अडियो एक मिनेटको छ । अडियोमा नर्भिक अस्पतालका कर्मचारीले दिएको जानकारी भनेर उल्लेख गरिएको छ । उक्त अडियोका विषयमा सामाजिक सञ्जालमा अहिले आलोचना भइरहेको छ भने जनमानसमा भ्रम सिर्जना भएको छ ।

उक्त अडियोमा नेपालमा कोरोना लागेको भनेर भ्रामक प्रचार गरिएको छ । प्रहरीले गलत हल्लाका पछि नलागी नेपाल सरकारको आधिकारिक सूचना र जानकारीबारे ख्याल गर्नसमेत भनेको छ । नेपाल सरकारले गलत सूचना सार्वजनिक गर्नेलाई कारवाही गर्ने जनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?