यस्तो गाउँ जहाँ बसाई सर्दा २ लाख पुरस्कार पाइन्छ !

काठमाडौं । मानिसहरु जग्गा किनेर घर बनाउँनका लागि लाखौं रुपैयाँ खर्च गर्ने गर्दछन् । जग्गाको मूल्य आकाशिएसँगै मानिसहरु किन्न नसक्दा समस्यामा परेका छन् । तर विश्वमा यस्तो देश रहेको छ जहाँ बसोबास गर्दा पैसा पाइन्छ ।

इटालीको बोरमिडा गाउँमा बसोबास गर्ने मानिसहरुका लागि आकर्षक योजना अघि सारिएको छ ।
गाउँका प्रमुख डानियल ग्याल्लियानोले मानिसहरुलाई उक्त गाउँमा बसोबास गर्नेहरुका लागि विशेष योजना अघि सारेका छन् ।

उनको प्रस्ताव अनुसार उक्त गाउँमा बसोबास गर्ने हरेक व्यक्तिलाई एकमुष्ट करीब २ लाख ३० हजार रुपैयाँ बराबरको रकम दिइनेछ । अनि घरभाडा बापत चाहीँ महिनाको झण्डै साढे ५ हजार रुपैयाँ तिर्नुपर्नेछ । यस्तो लोभलाग्दो प्लान तयार गर्नुका पछाडि मेयरको एउटै मात्र उद्देश्य छ गाउँलाई जिवन्त बनाउनु ।

पर्वतीय लिगुरिया क्षेत्रमा अवस्थित यो गाउँमा अहिले जम्मा ३ सय ९४ जना मानिस बस्दछन् । यो गाउँबाट अवसरको खोजी गर्दै अन्य सहरतिर बसाइ सर्नेहरुको संख्या बढिरहेको छ । जनसंख्याको अभावमा गाउँ मृत बन्न थालेसँगै मेयरले गाउँमा मानिसहरुको संख्या बढाउन यस्तो योजना ल्याएका हुन् ।

उनको प्रस्तावित योजनाप्रति सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले चासो राखिरहेका छन् । धेरै मानिसले आफूहरु उक्त गाउँमा बसाई सर्ने बताइरहेका छन् । तर उनको योजना कति सफल हुने हो त्यो भने हेर्न बाँकी नै छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?