चैत ११ गते एकहप्ताका लागि कोरोना भाईरसविरुद्ध घोषित तालाबन्दी (लकडाउन) दुई नम्बर प्रदेश र तराई ईलाकामा बढी नै उल्लङ्घन भयो । नबुझेर होईन हठ र हेल्चेक्राईँको मनोवृत्ति । यो हाम्रै जीवन र स्वास्थ्यका लागि लागु गरिएको हो भन्ने थाहा छ र अनुशासनहिन र अराजकतावादी मनोवृत्ति वा चरित्रको प्रस्तुति ! भारतमा २२ राज्यमा लगाईएको लकडाउनलाई अनुशासनहिन जनताले उल्लङ्घन गरेको कारण ३१ राज्यको सिंगो भारतमा चैत १२ गते १२ बजेदेखि लागु हुनेगरी कर्फ्यू नै घोषित गर्नुप-यो ।
हामीलाई विदेशीसँग भएजस्तो चाहिन्छ, तर आफ्नो मौलिकता र अपनत्व प्रायः मन पर्दैन । भारतमा नरेन्द्र मोदीले असाधारण जनलहरका साथ चुनाब जिते, यता नेपालको सहरी चेतनशील वृत्तबाट सुन्नथालियो, ‘नेपालमा पनि मोदीजस्तै नेता हुनुप-यो’ मानौँ हामीलाई मोदीको चरित्र होइन चित्र चाहियो । यसपालीको भारतीय आमचुनाबले सरकारमात्र परिवर्तन गरेन ‘संस्कार’ पनि परिवर्तन गराएको हामीमध्ये कतिलाई यथार्थबोध गरायो ? केही महिनाअघि भ्रष्टाचारबिरोधी अभियानका नेता दिल्ली प्रदेशका मूख्यमन्त्री अरविन्द केजरीवालले दोस्रोपटक निर्वाचन जितेर दिल्लीको सत्तामा आफ्नो पार्टीको सत्ता कायम राखे, सरकार बनाए, तब हामी नेपालीहरू नेपालमा ‘केजरीवाल जन्मियोस्’ भन्ने पुकारा गर्न थाल्यौँ ।
मलेशियाका भाग्यविधाता पूर्व प्रधानमन्त्री महाथिर मोहम्मद ०६९ मा नेपाल आएका थिए, तब हामीलाई नेपालमा पनि महाथिर चाहियो । भारतमा अन्ना हजारेले भ्रष्टाचारबिरूद्धको जनलहर ल्याए, हामीलाई अन्ना हजारे नै चाहियो । नेल्सन मन्डेलाको निधन हुँदा हामी नेपालमा मन्डेला कहिले जन्मेलान् भनेर नेपालमै उनको पुनर्जन्मको धुप हाल्नथाल्यौँ । जो देख्यो उसकै पछि लाग्नखोज्ने, रेडिमेड नेता चाहिने, हामीले मौलिकता वा नेपालीपनको इमानदार नेता खोज्न नजानेर ‘फलानोजस्तो’ भनेर फेशनशैली देखाएका हौँ कि । सहरी चेतनाको यो स्तर छ भने ग्रामीण चेतनाको झन् कुन स्तर र के हालत होला !
यस्ता धेरै मनोवृत्ति हामीमा ब्याप्त भइरहेका छन्, जसले स्वाधीन राष्ट्रका स्वाभिमानी नागरिकको पहिचान दिँदैनन् । बेइमान हुने मौका नपाएकोले इमानदार देखिएका, भिसा नपाएकोले स्वदेशमै बसेका हामीमध्ये धेरै नै छन् । पीआर र ग्रीनकार्ड लिने, पत्नी–छोराछोरी विदेशमा राख्ने, ‘कमाएको’ सबै उतै लगेर थुपार्ने, त्यस क्रममा अख्तियार आदिले भ्रष्टाचारको कारवाही गर्ने भयो भने भागेर उतै पुग्ने, वारेश राखेर मुद्दा लड्ने, विदेशमा संगठन, समिति आदि पनि बनाउने र देश बर्वाद भयो भन्दै अर्ती उपदेशका लच्छेदार भाषण छाँट्ने प्रवृत्ति हामीभित्रै छ ।
महिलालाई पात्र बनाएर नेपाली समाजमा एउटा यस्तो ठट्टा सुनाइन्छ— पति बिहान घरमा अखबार पढ्दै हुन्छन्, पत्नीले आएर बाधा हाल्दै भन्छिन्, ‘अफिसमा गर्ने काम घरमा बसेर के गरिराख्या ?’ हाम्रा मानवोचित कमजोरीलाई परिभाषित गर्न चेकोस्लोभाकियाका राष्ट्रपति तथा नाटककार वास्लाभ हावेलले १ जनबरी १९९० मा दिएको नववर्ष भाषण सम्झिए पुग्छ, जुन भाषणले समकालीन युरोपभरि चर्चाको विषय भएको थियो भने आज पनि मानिसहरू त्यो ‘मास्टर पिस’ भाषण सम्झिन्छन्, ‘हामी दोहोरो जीवन बिताइरहेका छौँ, बाहिर एकथोक भित्र अर्कै । सबभन्दा खराब कुरा के भने हामी एउटा प्रदूषित नैतिक वातावरणमा बाँचेका छौँ । नैतिकरुपमा हामी बिरामी छौँ, किनभने हामीले सोचेभन्दा फरक कुरा गर्ने बानी बसालेका छौँ । केही चिजमा अविश्वास गर्न सिकेका छौँ, एकअर्कालाई अविश्वास गर्न सिकेका छौँ । हामीले त आफ्नो मात्र चिन्ता गर्न सिकेका छौँ ।”
यस्ता मनोवृत्तिले गर्दा हामीभित्रको स्वाभिमानमात्र होइन नागरिक जुझारुपन पनि मासिँदैगएको रुपमा देखिएको छ । कोरोना भाईरसको सन्त्रासले आधारभूत वस्तुहरूको जोहो गर्ने क्रममा टन्टलापुर घाममा केही लिटर पेट्रोल पाउने आसामा घन्टौँ लाईन बसेको मोटरसाइकलवाला युवा बल्लबल्ल पेट्रोल–पम्प छेउमा पुग्दा ब्यापारीले ‘पेट्रोल छैन’ को सूचना झुन्ड्याइदिएपछि खिन्न मुद्रामा चुपचाप फर्किँदा जुन निरास अनुहार देखिन्छ, आजको नेपालीको असहाय र असुरक्षित लोकमनोविज्ञान त्यही हो । अर्कातिर प्रातः भ्रमणबाट फर्किँदा तरकारीको झोला आपैmँ बोकेर आउनुपर्दा लाज लागेर रित्तै आउने र यो काम त महिलाहरूको पो हो भन्ने मान्यतामा रहेका सफेदपोशहरूमा आपैmँभित्र सच्चिएका ब्यवहारहरू कहिले पूर्णरुपमा देख्न पाइने ?
रोजगारी नहुनु, आम्दानी नहुनु, जनउत्तरदायी शासन प्रशासन नहुनुभन्दा वा सबभन्दा कठोर परिस्थिति हो उपाय नहुनु । उपायहिनता नै वर्तमान नेपाली समाजलाई असहाय बनाउने कारकतत्व हो, जुन उपायहिनताको बोधले हाम्रा जाँगर, जोश, स्वाभिमान र जुझारुपनलाई मासिरहेको छ । यस्ता मनोवृत्तिले एउटा समुदाय वा तप्कामात्र होइन सर्वत्र ढाकेको छ ।
अखबार पल्टायो भने त्यहाँ झस्काउने वा निरास बनाउने समाचार धेरै पढ्न पाइन्छ, सन्तुष्टि दिने र दिल बहलाउने रचनात्मक, सकारात्मक समाचारको प्रायः अभाव छ । हामी लेखभन्दा पनि लेखक पढ्छौँ, किनकि सम्पादकहरू लेखभन्दा लेखकलाई महत्व दिन्छन् । समाज नै त्यस्तै भइसक्यो जहाँ विचार होइन, धम्की बिक्छ, अनुरोधको भाषा निरिह हुन्छ, हप्काउन सक्नेको बोलवाला हुन्छ ।
चेतनाका नाममा हामीभित्र उत्तेजना बढिरहेको छ । अरूलाई सुनाउने पाण्डित्य वा उपदेश र मनका तरङ्गहरूमा रमाउने हाम्रो प्रवृत्ति छ । कुनै कुरालाई नकारात्मक अर्थमा बुझ्नखोज्ने हामीलाई बानी नै भइसकेको छ । त्यसैले त, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्रष्टाचारीलाई म छोड्दै छोड्दिन’ भन्दा ‘छोड्दिन भनेको आपैmँसँग राख्छु भनेको हो’ भन्ने अर्थ लगाउनतिर हाम्रो मन जान्छ ।
कार्यकाल पूरा गरेलगत्तै हैदरावादको एउटा भब्य कार्यक्रमलाई सम्बोधन गर्दै भारतका एघारौँ राष्ट्रपति ए.पी.जे. अब्दुल कलामले आफ्नो प्रवचनमा भन्नुभएको यो अंशले हामी नेपालीलाई पनि उत्तिकै संवोधन गर्नसक्छ, र भारतमा हालै गरिएको लक्ड डाउन उल्लङ्घन गरेको आजको अवस्थालाई पुष्टि गर्छ, ‘…..प्रणालीमा सकारात्मक योगदान पु-याउने जब समय आउँछ, हामी आफ्नो परिवारसँग सुरक्षित ठाउँमा गएर बस्छौँ र कुनै अर्कै ठाउँको अर्कै व्यक्ति आएर चमत्कार गरिदेओस् भन्ने चाहन्छौँ, वा हामी यो देश छोडेर भाग्छौँ । आफ्नो समस्यादेखि डराएर वा लाछी वा अल्छी बनेर हामी अमेरिकाको समृद्धि र त्यहाँको प्रणालीको प्रशंसा गर्दै त्यतातिर लाग्छौँ । जब न्युयोर्क असुरक्षित हुन्छ हामी बेलायत भाग्छौँ । जब बेलायतमा रोजगारी पाईँदैन, हामी खाडी मुलुकतिर लाग्छौँ । जब खाडीमा युद्ध हुन्छ हामी सुरक्षित उद्धारको माग गर्छौँ, अनि सरकारले हामीलाई आफ्नै देशमा फिर्ता ल्याउँछ ।
हामी सबै आफ्नो देशलाई गाली गर्छौ । कोही पनि यहाँको प्रणाली खराब छ भन्ने बुझेर यसको स्याहार सम्भार गर्ने कुरा सोच्दैन । हामीले आफ्नो चेतनालाई पैसाको बन्धक बनाएका छौँ ।’ यस्ता मनोबृत्तिलाई सच्याउनका लागि हामीले हाम्रै नियत र मनोबृत्तिबिरूद्ध आन्दोलन गर्न जरुरी भइसक्यो कि !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया