बुटबल, २१ माघ । प्रदेश ५ र ६ को प्रदेशसभाको बैठक सुरु भएको छ । आइतबार दिउँसो १ बजे बोलाइएको प्रदेश ५ को पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेलले गरेका छन् । बैठकमा पाँचवटा कार्यसूची रहेका छन् । बैठकमा सभामुख पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आहृवानसम्बन्धी पत्र पढेर सुनाएका छन् भने त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका सांसदले सम्बोधन गरिरहेका छन् । बैठकलाई सुरुमा एमाले संसदीय दलका नेता शंकर पोखरेलले सम्बोधन गरेका छन् । सबै दलका नेताले सम्बोधन गरेपछि प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि पारित गरिनेछ भने सभामुखको निर्वाचनको मिति तोकेर बैठक समापन हुनेछ । यता सुर्खेतमा प्रदेश ६ को प्रदेशसभा पहिलो बैठक बसिरहेको छ । पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य हिमबहादुर शाहीले गरेका छन् । यो बैठकले सभामुखको निर्वाचनको मिति तोक्नुका साथै कार्यविधि पारित गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया