काठमाडौं । पुर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भारतको मुम्बईबाट स्वदेश फर्किने क्रममा अलपत्र नेपाली नागरिकहरुलाई यथाशिघ्र उद्धार गर्न माग गरेका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण करिब ८० जना नेपालीहरू नयाँदिल्ली महानगरनिकट पूर्ववर्ति गाजियावादमा भोकै–प्यासै बीच बाटोमा अलपत्र र उपायहिन अवस्थामा रोकिएको र हालसम्म उनीहरूको कतै–कसैबाट उद्धार नभएकाले आफू दुखि भएको बताएको बताएका छन् ।
नेपाल फर्किने क्रममा अलपत्र परेका डेढमहिनाको बच्चासहितकी सुत्केरी महिला पनि छन् र भोकै रहेको बच्चाले आमाको दूध पनि खान नपाएको हृदयविदारक,कारुणिक अवस्था देखिन्छ ।
उक्त कुराबाट दुखि हुँदै नेता केसीले भने, “एकातिर कोरोना भाईरस महामारीको संकट, अर्कातिर सर्वत्र सुनसान परिस्थितिमा यी नागरिकहरू बसिरहेको होटेलबाट निकालिएर सडकमा अलपत्र अवस्थामा रहनु साह्रै गम्भीर अन्याय हो र शारीरिक तथा मानसिक यातना पनि हो ।”
सन् २०१९ डिसेम्बर महिनाको अन्त्यमा चीनको वुहानबाट कोरोना फैलियो । त्यँहा करिव १८५ जना नेपाली रहेका थिए । सरकारको पहलमा उनीहरुलाई स्वदेश फर्काइएको थियो । सरकारले गरेको उक्त कामको प्रशंसा गर्दै केसीले उनीहरुलाइ पनि त्यसैगरि उद्धार गरिनुपर्ने माग गरेका छन् ।
विश्वभरिनै फैलिएको कोरोनाको कारण धेरै देशहरु लकडाउनको अवस्थामा छन् । गत मंगलवारबाट नेपाल सरकारले पनि नेपालमा संक्रमण थप नफैलियोस भन्नका लागि लकडाउन गरेको थियो । नेपालमा जस्तै भारतमा पनि लकडाउनको अवस्था रहेको छ । त्यसैले कारण अलपत्र परेका ती नागरिकहरूले चाहेर पनि स्वयं प्रबन्ध मिलाएर नेपाल फर्किन सक्ने अवस्थामा नभएकोले आफ्ना नागरिकहरूप्रति जिम्मेवारी लिनुपर्ने राज्यको अनिवार्य दायित्व रहेको भन्दै उद्धार गर्न माग गरेका हुन् ।
उक्त कुरालाई उद्धित गर्दै केसीले भनेका छन्, “संकटपूर्ण अवस्थामा तिनीहरूको यथाशिघ्र उद्धार गरी स्वदेश ल्याउन र आवश्यकता अनुसार क्वारेन्टाईनमा राख्ने प्रबन्ध मिलाउन ढिलाई नगरियोस्, यसका लागि नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा जो चाहिने निर्देशन तत्काल दिईयोस् भनी म नेपाल सरकारसमक्ष जोडदार माग गर्दछु ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया