काठमाडौं । विपद कहिले आइपर्छ कसैलाई थाहा हुदैन । बाढी, पहिरो, आगलागि, भूकम्प जस्ता प्राकृतिक विपदबाट कयौँ मनिसहरुले संसार त्याग्नु परेको छ भने कति घाईते र अपांग भएर बस्नु परेका प्रशस्त उदाहरण हामी माझ छन् ।अर्बौंको सम्पत्ती नोक्सान भएपछि मानसिक सन्तुलन समेत गुमाउनेहरु पनि हाम्रो समाजमा छन् । चल–अचल सम्पत्तीको हानी नोक्सानीले मानिसलाई कति खेर पागल बनाउछ त्यो पनि थाहा हुँदैन् ।
महलको वासबाट कति बेला सडकमा पु-याउछ, कसलाई के थाहा ? करिव दुइवर्ष अगाडि भूकम्पले नेपालीहरुलाई सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न सक्ने पाठ सिकाएको छ । आपत विपदमा कसरी एकतावद्ध भएर पीडितको उद्धार गर्न सकिन्छ भन्ने कुरा पनि भर्खरै मात्र तराईको बाढी र डुवानको समस्याले प्रमाणित गरेको छ । यस्ता विपदमा तत्कालको लागि राहतको कार्यक्रम प्रभावकारी भए पनि दीर्घकालीन रुपमा भने उठ्नै नसक्ने गरि थिचिदिन्छ ।
घर, खेतबारी मात्रै होइन, परिवारको सदस्य समेत गुमाउनेहरुको अवस्था कस्तो होला ? आफ्नो अभिभावक गुमाउने कलिला बालबालिकाको भविष्य कस्तो होला ? उनीहरुको जीवन कसरी अगाडि बढ्ला ? यवात् प्रश्नहरु हाम्रो मन मस्तिष्कमा छन् ।
विभिन्न संघ संस्थाहरुले केही सहयोग गरे त ठिकै छ । नभए कसरी जीवन चलाउने ? कहाँ जाने ? के गर्ने ? कसको सहारा खोज्न जाने ? यस्ता प्रश्नहरुको जवाफ एउटै छ, ‘बीमा’ । बीमा नै जिवनको सहारा हो । बीमालेखमा उल्लेख गरेको प्रक्रिया पूरा गरेपछि दाबी र हक सजिलै प्राप्त गर्न सकिन्छ ।
कँही कतै कसैको आश र भरमा वर्षौं कुर्नु पनि पर्दैन् । बीमा कार्यक्रमहरुले हरेक जोखिमहरुबाट हुन सक्ने सम्भावित हानी नोक्सानीको सुरक्षित गर्दछ । जीवन बीमा होस वा र्निजिवन, यस्ता बीमा योजनामा सहभागि भएपछि तपाईको जीवनमा आइपर्ने समस्या र हानी नोक्सानी आर्थिक सुरक्षाको ग्यारेन्टी प्रदान गर्दछ । आफ्नो लगानी र परिवारको भविष्यलाई सुरक्षित गर्दछ ।
बीमा सरकारी ऐन अनुसार स्थापना भई नियामक निकायको रेखदेखमा सञ्चालन हुने तथा विदेशी ठूला कम्पनीसँग पुनर्बीमा हुने हुँदा बीमा कम्पनी कसैको पैसा लिएर भाग्न सक्दैनन् । यी कम्पनीहरु आधिकारीक, भरपर्दो र विश्वासीलो मानिन्छन् ।
बीमा भनेको के हो ?
बीमा भनेको आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको सुनिश्चितता हो । बीमा गर्दा बीमा गर्ने व्यक्ति (बिमित) र बीमा गरिदिने व्यक्ति (बीमक) बीच लिखित सम्झौता हुन्छ । त्यहि सम्झौताका आधारमा बीमा कम्पनीले नोक्सानी बराबरको क्षतिपूर्ति रकम दिन्छ ।
भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्ने जोखिम सबैलाई उत्तिकै हुन्छ । कतिखेर कसलाई के हुन्छ्, कसैलाई थाहा हुदैन। त्यसैले भोलिका दिनमा हुन सक्ने जोखिमको न्युनिकरण गर्न तथा भविष्यमा हुने जोखिम अरुलाई हस्तान्तरण गर्नका लागि अपनाइने कानूनी विधि वा बीमा कम्पनिसँग गरिने एक प्रकारको सम्झौता नै बीमा हो ।
बीमा सरकारी ऐन अनुसार स्थापना भई नियामक निकायको रेखदेखमा सञ्चालन हुने तथा विदेशी ठूला कम्पनीसँग पुनर्बीमा हुने हुँदा बीमा कम्पनी कसैको पैसा लिएर भाग्न सक्दैनन् ।
यी कम्पनीहरु आधिकारीक, भरपर्दो र विश्वासीलो मानिन्छन् । ‘बीमा’ शब्द फारसीबाट आएको शब्द हो । जसको अर्थ हुन्छ– ‘भावार्थ’ अर्थात ‘जिम्मेवारी लिनु ।’ त्यसैले विश्लेषकहरुले बीमालाई ‘जोखिम हस्तान्तरण’को रुपमा पनि लिने गरेका छन् । बीमालाई जीवन बीमा, र्निजीवन बीमा र पुर्नबीमा गरी तीन किसिमले छुट्याइएको छ ।
जीवन बीमा – एउटा लामो करार हो, जसले निश्चित भुक्तानी अवधिसम्म किस्ता तिरी बीमा अवधिको अन्त्यमा बोनस सहित भुक्तानी प्राप्त गर्दछ ।
यदि विमीतको बीमा समय अवधिबीचमै अकालमा मृत्यु हुन गएमा बीमा कम्पनीसँग भएको करारको आधारमा बीमा कम्पनीले विमीतको आश्रित परिवारलाई बोनस सहित विमाङ्क फिर्ता गर्दछ । यो नै बीमाको नियम हो ।
मानिसको जोखिमलाई ग्रहण गर्नुको साथ साथै यदि विमीतको अकालमा मृत्यु भयो भने उसको आश्रित परिवारको पनि जोखिम ग्रहण गर्दछ ।
बीमा समिति (बीमा क्षेत्रको नियामक निकाय) ले ‘जीवन बीमा’ भनेको व्यक्तिको आयुको आधारमा किस्ताबन्धी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी कारोबार भनेर उल्लेख गरेको छ ।
मुलतः ‘जीवन बीमा’ भनेको हामीलाई कुनै पनि बेला जे पनि हुन सक्छ र त्यस्तो अबस्थामा पैसाको अभावले समस्या नआओस् भन्ने नै हो ।
निर्जिवन बीमा – यो बीमा सम्पतिको हानी नोक्सानी र दायित्वको जोखिमबाट मुक्त हुनको लागि गरिने करार हो । यसमा विमित कम्पनी वा व्यक्तिले बीमा गरिसकेपछि दुबै हानी नोक्सानी र जोखिमबाट मुक्ति प्राप्त गर्दछ ।
यो बीमामा बीमा गरिएको अवधिमा कुनै हानी नोक्सानी वा दुर्घटना भएमा बीमा कम्पनीले कुनै रकम तिर्नु पर्दैन । मानिसले आर्जन गरेको चल–अचल सम्पत्तीको सुरक्षा गर्नका लागि गरिने बीमा हो ।
जस्तै घर, उद्योग कलकारखाना, गाडी, मोटरसाइकल वा यस्तै प्रकारका सम्पत्ती हानी नोक्सानी भएमा सो को क्षतिपूर्ती होस् भनेर निर्जिवन बीमा गरिन्छ ।
यस किसिमका बीमा अन्तर्गत दुर्घटना, औषधि उपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायातको बीमा हुन्छ ।
दुर्घटना, आगलागी, चोरी तथा भूकम्पलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने हानीको क्षतिपुर्ति प्राप्त गर्न तथा यस्ता जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति र राहत पाउन बीमा गर्ने गरिन्छ । पछिल्लो समय सरकारले कृषि बीमा पनि ल्याएको छ ।
यस अन्तर्गत व्यवसायिक कृषि र पशुपालनमा पनि बीमा हुने गर्दछ । भौतिक सम्पत्ती, उत्पादनमुलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बीमाको क्षेत्र विस्तार भईरहेको छ ।
यसरी बीमा गरीसकेपछि तोकिएअनुसार थोरै रकम भुक्तानी गर्दा सम्पूर्ण सम्पत्तीको सुरक्षा हुने हुँदा बीमा गर्नु अत्यन्तै आवश्यक मानिन्छ ।
बीमा भनेको ठग्ने व्यवसाय हो, संसदमै सांससदहरुको गलत बुझाई ।
पुनर्बीमा – बीमा कम्पनीहरुको बीमा नै पुनर्बीमा हो । बीमा कम्पनीले आफूले उठाएको बीमीतहरुको सम्पूर्ण जोखिम बहन गर्नु पर्ने भएकोले उक्त जोखिमलाई कम्पनीको माध्यमबाट अर्को कम्पनीमा बीमा गर्नु गराउनु नै पुर्नबीमा हो । हाल नेपालमा नेपाल पुर्नबीमा नामक एक मात्र पुनर्बीमा कम्पनी रहेको छ ।
बीमाको गतल बुझाई
बीमा व्यवसाय शुरु भएको दशौँ वर्ष भयो तर अझै फस्टाउन सकेको छैन । बीमा व्यवसाय फस्टाउन नसक्नुमा बीमा कम्पनीहरु आफैँ जिम्मेवार छन् ।
लामो समय भई सक्दा पनि यो व्यवसाय शहर केन्द्रित भयो । गाँउ गाँउमा पुगेर बीमा सेवा दिन बीमा कम्पनीहरु असक्षम भए ।
शहरमा भएकाहरुलाई पनि बीमा के हो भनेर बुझाउन सकिएको देखिदैन । त्यसैले पनि बीमा कम्पनीहरुको चुक्ता पूूँजी करोड मै खुम्चिएको छ ।
सर्वसाधरणहरुमा बीमाको बुझाई नै गलत रहेका पाईन्छ । जसले गर्दा बजारमा बीमाको नकरात्मक प्रभाव परेको छ ।
केही वर्ष अघि मात्रै सम्मानित संसदमा सांसदहरुले राष्ट्रपति तथा उपराष्ट्रपतिको बीमा सुविधामा असन्तुष्ट व्यक्त गर्दै, ‘यो बीमा भनेको ठग्ने व्यवसाय हो’, भन्दै आरोप लगाएका थिए । मुलुकको सम्मानित स्थानमा रहेको सदस्यहरुको बीमा सम्बन्धि बुझाई त यस्तो छ भने सर्वसाधारणहरुले कसरी बुझेका होलान् ? सर्वसाधारणहरुमा बीमा सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरुको अभाव देखिन्छ । बीमाको बारेमा कसरी सर्वसाधारणहरुलाई सहज तरीकाले बुझाउन सकिन्छ भन्ने तर्फ बीमा कम्पनीहरु र नियामक निकाय लाग्नु पर्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया