नेकपाको पत्रकार संगठनका नेताबीच बाझाबाझ, सह-संयोजकले भने प्रचण्ड मेरो नेता होइनन्

काठमाडौं । एक अनलाइन पोर्टलको समाचार डिलेट भएको सन्दर्भमा नेकपाभित्र विवाद सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीका सल्लाहकारहरुकै निर्देशनमा सो अनलाइनको समाचार साइट डेभलपर प्रयोग गरेर हटाएको भन्ने आशयको विज्ञप्ति नेपाल पत्रकार महासंघले निकालेपनि विवाद सिर्जना भएको हो ।
पत्रकार महासंघका महासचिव रमेश विष्टले बिहीबार एक विज्ञप्ति निकाल्दै ओलीका राजनीतिक सल्लाहाकार र प्रेस सल्लाहाकारले समाचार हटाउन दबाब दिएको तथा हटाउन नमानेपछि सेवा प्रदायक संस्थालाई दबाब दिएर उक्त समाचार हटाउनुका साथै केही समय कुनै पनि समाचार पोष्ट गर्न नमिल्ने गरी अनलाइन अवरुद्ध पारिएको उल्लेख गरिएको थियो ।
विष्टको विज्ञप्ति यस्तो छः

प्रधानमन्त्रीको सचिवालयबाट काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार हटाउन दबाब दिनुका साथै हटाउन नमानेपछि अनलाइनको सेवा प्रदायक कम्पनीलाई दबाब दिएर उक्त समाचार हटाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततासम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहाकार र प्रेस सल्लाहाकारले समाचार हटाउन दबाब दिएको तथा हटाउन नमानेपछि सेवा प्रदायक संस्थालाई दबाब दिएर उक्त समाचार हटाउनुका साथै केही समय कुनै पनि समाचार पोष्ट गर्न नमिल्ने गरी अनलाइन अवरुद्ध पारिएको काठमाडौं प्रेसले महासंघलाई जानकारी गराएको हो ।
प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए खण्डन गर्ने वा त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै राज्य सत्ताको आडमा प्रकाशित समाचार हटाउन लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो । यस्ता कार्यले संविधानको प्रस्तावनामै उल्लेख पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितता र विश्वव्यापी मूल्य मान्यताको समेत उपहास भएको महासंघको ठहर छ ।

महासंघ राज्यको जिम्मेवार निकायबाट भएको प्रेस स्वतन्त्रताविरोधी यस्तो कार्यको कडा शब्दमा भत्र्सना गर्दछ र घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दछ । साथै, भविष्यमा यस किसिमका प्रेस स्वतन्त्रताविरोधी कार्य दोहोरिन नदिन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गर्न तथा स्वतन्त्र, सुरक्षित र निर्वाधरुपमा काम गर्ने वातावण निर्माण गर्न महासंघ सरकारसँग माग गर्दछ ।
लगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले महासंघको विज्ञप्तिको खण्डन गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।
उनले भनेका थिए–
१. स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सामग्री खरिदसम्बन्धी रद्द भइसकेको विषयमा जे निर्णय भएको थियो वा छ, त्यसको स्पष्ट जवाफदेहिता बहन गर्ने निकाय र अधिकारीहरू संलग्न नै छन् । त्यसमा सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालय र सल्लाहकारहरू वा उहाँहरूका सरोकार नै नभएका छोराहरूलाई जबर्जस्ती र तथ्यहीन ढंगले तान्ने र बदनाम गर्ने षड्यन्त्रपूर्ण चालबाजी, उपक्रम र रवैया खेदजनक छ । यसको जति भर्त्सना गरे पनि कम हुन्छ । यस षडयन्त्रमा को संलग्न छज् रु यो सब किन गरिएको छ रु ककसले यसमा लगानी गरेका छन् रु ककसको शुरूदेखि अन्तिमसम्म नै सक्रियता र दौडधुप छ रु यो कुनै लुकेको कुरा छैन र हामी राम्रो जानकारी राख्दछौं । यसमा प्रधानमन्त्रीको सचिवालयका हामी र असम्बन्धित सन्तानहरू समेतलाई तानेर दुष्प्रचार गर्नुको नियत बुझिएकै छ । हामीलाई षडयन्त्रकारीहरूजस्तै यस्ता हरकतहरूको पछाडि लाग्ने कुनै फुर्सद छैन । बरू आफ्ना नियमित र परिभाषित कार्यमा व्यस्त रहेको पनि स्पष्ट गर्न चाहन्छौं ।
२.पत्रकार महासंघले उक्त समाचार हटाउन राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारले दबाब दिएको भनेर वक्तव्यमा जसरी भनेको छ, त्यसमा कुनै सत्यता छैन, बरू अत्यन्त हास्यास्पद र गैरजिम्मेवार छ । यो छाता संस्थाको गुटगत र निहीत स्वार्थमा नांगो दुरूपयोग मात्रै हो ।
३. मैले काठमाडौ प्रेसका प्रधानसम्पादक कसमस विश्वकर्माजीसँग टेलिफोनमा कुरा गरेको थिएँ र समाचारमा उपप्रधानमन्त्री र मुख्य सल्लाहकार अथवा जोसुकैका बारेमा लेख्न पनि तथ्य र प्रमाण नै चाहिन्छ, अझ राज्य संचालनसँग कुनै सरोकार र मतलब नभएका तथा स्वास्थ्य उपकरण खरिदसँग केही चासो र जानकारीसमेत नभएका उहाँहरूका छोराहरूलाई जोडेर संप्रेषित समाचारको परपीडनकारी उद्देश्यबारे चासो अवश्य राखेको थिएँ। मैले समाचार हटाउनेबारे कुनै कुरासम्म कहिल्यै गरेको नै थिइनँ । बरू यस षड्यन्त्रका संलग्न व्यक्तिहरू, तिनको उद्देश्य र विषयवस्तुबारे कुराकानी भएको हो । भोलिपल्ट समाचार हेर्दा हटेको देखेपछि कसमसजीलाई नै किन क्षमायाचनाको सार्वजनिक सूचना नगरी हटाउनुभयो भन्ने जिज्ञासा मैले नै राखेको थिएँ । उहाँले कसरी हट्यो बुझ्दैछु भन्नुभएको थियो । मुख्य सल्लाहकारज्यूको त कसैसँग यसबारेमा टेलिफोन संवादसम्म भएको छैन।
४. अनि हामीले कसरी श्रव्य वा दृश्य, मौखिक वा लिखित र टेलिफोन कुन माध्यमबाट कसलाई दबाब दियौं रु यसको प्रमाण प्रस्तुत गर्न, अन्यथा छायाँयुद्दको तथाकथित मोर्चा सिर्जना गर्ने दाउपेच, षड्यन्त्र र भ्रमको खेतीमा नलाग्न समयमै सचेत गराउन चाहन्छौं।
५.पत्रकार महासंघ अहिले त्यहाँ कार्यरत पदाधिकारीहरूको मात्र संगठन होइन। त्यसमा हाम्रो रगत, पसिना र उर्बर युवावय समय लगानी भएको छ। आज त्यसको नेतृत्वमा रहेका कोही व्यक्तिभन्दा हामीले स्वतन्त्रताको संघर्षमा कम योगदान गरेका छैनौं । र, कसैले हामीलाई स्वतन्त्रताको शिक्षा दिने धृष्टता पनि गरिरहनु आवश्यक छैन । सबैका खुट्टी र हैसियत देखेरै हामी यहाँ क्रियाशील छौं । खासमा यो सबै सदस्यहरूको संगठन हो । र, कार्यकाल सकिएर महाधिवेशनको सम्मुखमा उभिएको यस संगठनको लेटरप्याड र संस्थागत हैसियत दुरूपयोग गरी आफ्ना आकांक्षाहरूको तुष्टिकरणमा नलाग्न संलग्न व्यक्तिहरूलाई समयमै सचेत हुन र अविलम्ब माफी माग्न ध्यानाकर्षण गर्दछौं ।
६.अहिलेको स्वतन्त्रता, संविधान र राज्य संरचना हामी स्वयंले पनि संघर्ष गरेर स्थापित गरेको तथ्य सम्बद्ध सबैको जानकारीका लागि विनम्रतापूर्वक राख्न चाहन्छौं । हामी अरूले स्थापना गरिदिएको राज्य प्रणालीका उपभोक्ता भएजस्तो व्यवहार गर्ने र हावामा मुक्का चलाएर हिड्ने धृष्टता कसैबाट पनि नगरियोस् । हामी तथ्यको आधारमा सत्यको पक्षमा निरन्तर लडाई गरेर नै समाजलाई स्वच्छ, पारदर्शी, अझ लोकतान्त्रिक, न्यायपूर्ण र समानतामा आधारित बनाउन राजनीतिमा सक्रिय नै छौं । जोकसैका अनुचित आरोप, दुष्प्रचार र षडयन्त्रको विधिसम्मत मुकाबिला गर्न हामी सक्षम पनि छौं । कुनै गलत र षडयन्त्रपूर्ण तौरतरिका वा बलप्रयोगप्रति हाम्रो कहिल्यै पनि विश्वास रहेन र छैन । त्यस्तो तरिकाले सम्माननीय प्रधानमन्त्रीज्यूलाई कमजोर बनाउन सकिन्छ कि भन्ने कसैलाई लागेको छ र त्यही दुर्नियतका साथ यो सबै गरेर हामीलाई अनावश्यक विवादमा तान्ने वा आफ्नो करियर बनाउन तल्लीन राजनीति वा यस्ता कुनै सार्वजिक जिम्मेवारीसँग हाल शतप्रतिशत नै सरोकार नराख्ने छोराहरूलाई मुछ्ने षड्यन्त्रमा मतियार नबन्न सबैलाई अनुरोध गर्दछौं ।
७. राजनीतिमा सक्रिय सबैका सन्तानहरू बिग्रेका छन् र बाबुआमाको हैसियत दुरूपयोग गर्न लागिपरेका छन् भन्ने गलत बुझाइका साथ रचिने हरेक षड्यन्त्रहरूको पर्दाफास गरिनु र नांगेझार हुनु अनिवार्य छ ।

यहीबीच नेकपाभित्रै यो प्रकरणले नयाँ रुप लिएको छ । नेकपाको पत्रकार संगठन प्रेस संगठनका संयोजक र सहसंयोजकबीच बाझाबाझ भएको छ ।

यसबारे चौतारीका सहसंयोजक गणेश बस्नेतले सार्वजनिक रुपमै संयोजक महेश्वर दाहालको आलोचना गर्दै प्रचण्ड आफ्नो नेता नभएको समेत बताएका छन् ।

उनले महासंघका महासचिव रमेश बिष्टलाई विज्ञप्ती जारी दाहालले नै लगाएको आरोप लगाएका छन् । यतिमात्रै नभइ यसबारे फोन गर्दा दाहालले आफूलाई थर्काउँदै माओवादी र काँग्रेसको गठबन्धन अझै कायम रहेको र एमालेहरुको दिन गएको जवाफ दिएको दावी गरेका छन् ।

बस्नेतले सामाजिक सञ्जालमै लेखेका छन्, ‘महेश्वर दाहाललाई फोन गरें, उहाँले कमरेड प्रचण्डको आदेशमा पत्रकार महासंघका महासचिव रमेश बिष्टलाई बिज्ञप्ती जारी गर्न मैले लगाएँ, तिमी कोही होइनौं, म हुँ तिम्रो प्रेस चौतारीको नेता भन्नुभयो । अनि हामी कांग्रेस माओवादी गठबन्धन अहिले पनि जारी छ, तिमी एमालेहरुको दिन सकियो भन्दै अपमान गर्नुभयो । धन्यवाद महेश्वर कमरेड यो जानकारीको लागि अनि सत्य बोल्नु भएकोमा । तपाईको कुरा सत्य हो भने दुई तपाई त के कामरेड प्रचण्ड समेंत मेरो नेता होइन ।’

काठमाडौं प्रेस नामक अनलाइनमा स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सामग्री खरिद सेटिङ भएको र त्यसमा प्रधानमन्त्रीकै सल्लाहकारसहित परिवारका सदस्यको संलग्नता रहेको आशयको समाचार आएको थियो । सो समाचार डिलेट भएको विषयमा अहिले चर्को आलोचना भइरहेको छ ।

दाहाल तत्कालिन प्रेस सेन्टरका अध्यक्ष हुन् भने बस्नेत तत्कालीन प्रेस चौतारीका अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?