कोरोना नियन्त्रणको लागि विश्व बैंकले नेपाललाई दियो साढे ३ अर्ब ऋण

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको लागि विश्व बैंकले नेपाललाई २९ मिलियन डलर (करिब ३ अर्ब ४८ करोड) रूपैयाँ सहुलियतपूर्ण ऋण सहायता प्रदान गरेको छ ।

विश्व बैंकले आपतकालीन, महामारी पूर्वतयारी तथा योजनाअन्तर्गत उक्त रकम बराबरको ऋण सरकारलाई दिएको हो । साथै उक्त रकम द्रूत प्रक्रियाबाट सरकारले प्राप्त गर्ने जनाइएको छ ।

मंगलवार नै ऋण सहायता प्राप्त गर्ने सम्बन्धमा विश्व बैङ्क र अर्थमन्त्रालयबीच द्विपक्षीय सम्झौता भएको हो ।

साथै नेपाललाई उक्त सम्झौतासँगै ऋण सहायता कार्यान्वयनमा समेत आएको विश्व बैङ्कले जनाएको छ । उक्त सम्झौतामा अर्थसचिव शिशिर ढुंगाना र नेपालका लागि विश्व बैङ्कका कन्ट्री म्यानेजर फारिस हदाद जेर्वोसले हस्ताक्षर गरेका हुन् । यस परियोजनाअन्तर्गत प्राप्त रकम कोरोना भाइरसविरुद्ध नेपालको क्षमता अभिवृद्धिमा प्रयोग हुने विश्व बैङ्कले जनाएको छ ।

गत चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको थियो । महामारीविरुद्ध लड्न विश्व बैङ्कले छोटो अवधिको तयारीकैबीच गरेको सहयोग प्रति अर्थसचिव शिशिरकुमार ढुंगानाले आभार व्यक्त गरेका छन् ।

देशभर आकस्मिक स्वास्थ्य क्षमता र पूर्वाधार बढाउन समेत यो रकम प्रयोग गरिने भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?