गाउँपालिकाको एम्बुलेन्समा रिजर्भमा यात्रु ओसारपसार: जनप्रतिनिधिकै सिफारिस

सुर्खेत । दैलेखको भैरवी गाउँपालिकाको एम्बुलेन्सले लकडाउनको उल्लंघन गरि यात्रु ओसारपसार गरेको पाइएको छ । लकडाउनको समयमा विरामि भन्दै रिजर्भमा अन्य यात्रु बोक्ने गरेको खुलेको हो ।

मंगलवार उक्त एम्बुलेन्सले पाँच जना यात्रु बोकेर नेपालगन्ज जाँदै गर्दा दैलेखको रानिमत्तामा प्रहरीले नियन्त्रणमा लिएको छ । भैरवी गाउँपालिकाको भे १ झ २८९ नम्बरको एम्बुलेन्सलाई रानीमत्ता प्रहरी चौकीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

गाउँपालिकाको एम्बुलेन्सको दुरुपयोगमा जनप्रतिनिधिको पनि संग्लनता रहेको पाइएको छ । भैरवी गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष देवि भण्डारीको सिफारिसमा उक्त एम्बुलेन्स मंगलबार नेपालगन्ज जान लागेको खुलेको हो । सिफारिसमा बिरामि लिएर जाने भनिएपनि एम्बुलेन्समा कोहि पनि बिरामी नभएकोले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्सले नेपालगन्ज घर भएका ४ जनालाई लिएर जान लागेको रानीमत्ता प्रहरी चौकीले जनाएको छ । वडाध्यक्ष भण्डारीले भने बिरामी भएपछि नेपालगन्ज जानका लागि गाउँपालिका अध्यक्षसंगको सल्लाहमा सिफारिस दिएको दावी गरिन् ।

तर यसभन्दा अघि पनि गाउँपालिकाको एम्बुलेन्सको दुरुपयोग गरिएको खुलेको छ । उक्त एम्बुलेन्स केही दिनअघि सुर्खेतबाट पनि यात्रु बोकेको पाइएको हो । स्रोतका अनुसार सुत्केरीको नक्कली कार्ड बनाएर सुर्खेतबाट सुर्खेतबाट रिजर्भमा उक्त एम्बुलेन्स भैरवी गाउँपालिका ७ मा कुसापानिमा लगिएको हो । करिव एक वर्षअघि सुत्केरी भएकि महिलाको नक्कली सुत्केरी कार्ड बनाएर एम्बुलेन्स भैरवी पुगेको हो । स्रोतले भन्यो, “रिजर्भ गरेर प्रि पेड गरेर मात्रै एम्बुलेन्स रातारात दैलेख लगिएको हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?