के नेपाल औषधि उत्पादनमा आत्मनिर्भर हुन सक्छ ?

लोकपथ आर्थिक ब्युरो
करिव ५० बर्ष भयो नेपालमा निजी क्षेत्रबाट औषधि उत्पादन थालेको । केमि ड्रग प्रालिले २०२६ साल बात नेपालमा निजी क्षेत्रबाट औषधि उत्पादन थालेको थियो । तर पनि आजसम्म आइपुग्दा हामी अझै औषधी, अन्तर्राट्रिय बजारबाट आयात नै गर्छौ । नेपालमा ५५ ओटा औषधि उद्योगहरुले विभिन्न प्रकारका औषधिहरु उत्पादन गरिरहेका छन् । जसमा २५ अर्बभन्दा बढीको लगानी छ ।नेपालमा ७ हजार ७ सय २७ ब्राण्डका औषधिहरु उत्पादन भईरहेका छन । छिमेकी मुलुकबाट हाल ९ हजार ४ सय ३५ ब्राण्डका औषधिहरु आयात भईरहेको औषधि व्यवस्था विभागको तथ्याङ्कमा उल्लेख छ ।

औषधि नीति २०५१, ले १० वर्षभित्रमा ८० प्रतिशत औषधि स्वदेशमै उत्पादन गर्ने लक्ष्य लिएको थियो। तर आज कोरोना भाइरस संक्रमण र यसले उत्पन्न गरको परिस्थितिले हाम्रो औषधी उत्पादन क्षमतामा मात्र होइन पुरै स्वास्थ्य क्षेत्रकै अवस्थामा ठुलो प्रश्न चिन्ह खडा गरेको छ ।
कोरोना भाइरसको महामारी फैलिएपछि गत फागुन २० मा भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले १३ थरीका कच्चा पदार्थ र तिनै कच्चा पदार्थबाट बन्ने १३ थरीका औषधिको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गर्यो ।

पारासिटामोल, ट्रिनिड्याजोल, मेट्रोनिडाजोल, एसाइक्लोभियर लगायतका औषधिको निर्यातमा प्रतिबन्धको कुरासँगै नेपालमा औषधि अभाव हुने हल्ला चल्यो । यसै क्रममा औषधि व्यवसायीहरूले प्रतिवन्ध लगाएका अधिकांश औषधिका कच्चा पदार्थ मौज्दात रहेकाले आफैं बनाउन सक्ने र चिनियाँ व्यवसायीबाट पनि औषधि र त्यसको कच्चा पदार्थ ल्याउन सक्ने समेत बताए ।

नेपालमा कुल वार्षिक खपतमध्ये ४८ प्रतिशत तयारी औषधि भारतबाट आउँछ भने ५२ प्रतिशत नेपाली कम्पनीले नै उत्पादन गर्छन् । यस्तै नेपालमा उत्पादन हुने औषधिका लागि ८० प्रतिशत कच्चा पदार्थ भारत र २० प्रतिशत चीनबाट आयात हुन्छ । माथिको तथ्यांकलाई मान्ने हो भने त नेपालमा औषधि उत्पादनको अवस्था राम्रै देखिन्छ । तर वास्तविकता अर्को पनि छ नेपालमा उत्पादन हुने धैरै औषधि सामान्य प्रकृतिका हुन् र विशिष्ट औषधिका लागि हामी अझैँ पनि आयातमै निर्भर रहनुपर्ने अवस्था रहेको छ ।

त्यस्तै अर्को तर्फ भारतले सो नियम नेपाल र भुटानलाइ नलाग्ने पनि स्पष्ट पर्यो र समस्या आइलाग्नु पूर्व नै सामसुम पार्यो ।

उत्पादनमा हामी पनि आत्मनिर्भर हुनसक्ने औषधि उत्पादकहरुको दाबी रहेको छ । नेपालका औषधि उत्पादकहरु सरकारले यस्ता उद्योगहरुलाई थोरै राहत र नियन्त्रित आयातको अवधारणा अघि सर्ने हो भने हामी सजिलै औषधि उत्पादनमा आत्मनिर्भर हुन सक्ने उद्योगीहरुको भनाइ छ । देउराली जनता फर्स्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्मा नेपालमा नै सम्भावना भएको औषधिहरु उत्पादनमा रोक लगाई सरकारले खुल्ला रुपमा विदेशबाट आयात गर्नमा भने प्रोत्साहन गरेको गुनासो गर्दछन् । सबै प्रकारको खुल्ला आयातलाई रोक लगाउन सरकार सक्षम भए मात्र नेपाल औषधिमा निर्भर हुन सक्ने निर्देशक शर्माको तर्क छ ।

भारतले स्वदेशी औषधि उद्योगलाई विशेष सुविधा दिएको छ, त्यसको आधा सुविधा मात्रै पायौं भने पनि धेरै प्रगती गर्न सक्ने औषधि व्यवसायीको तर्क छ । बंगलादेश जस्तो अति कम विकसित राष्ट्रले समेत विगतमा औषधि उद्योग सम्बन्धि अवलम्बन गरेको सहि नीतिकै कारण आज बंगलादेश औषधि उत्पादनमा आत्मनिर्भर हुन सकेको छ ।

कस्तो छ बंगलादेशको मोडेल ?

सन् १९८२ मा बंगलादेश कफ सिरफ, भिटामिन, एण्टासिड लगायतका सामान्य औषधिको उत्पादन स्वदेशी उद्योगले मात्र गर्ने र कुनै पनि दुइवटा बंगाली उत्पादकले उत्पादन गरेको औषधीको कच्चापदार्थ मात्र आयात गर्ने नीतिका कारण हाल बंगलादेशको निर्यात गर्ने वस्तुमा औषधी मुख्य रुपमा पर्न सकेको हो । बंगलादेशले हरेक नागरिकलाई सस्तो र गुणस्तरिय औषधि उपलब्ध गराउने औषधी नीति पूर्ण रुपले लागु गर्यो । सन् २०१३ सम्म पनि बंगलादेशमा उत्पादन हुने ८० प्रतिशत औषधिको कच्चापदार्थ भारत र चीनबाट मात्र आयात हुन्थ्यो।

कच्चापदार्थमा आत्मनिर्भर हुन सन २०१३ मा औषधिको कच्चा पदार्थ उत्पादनका लागि गजरिया, मुन्सीगञ्जमा लगायत स्थानमा औद्योगिक क्षेत्र बनाएर ती उद्योगलाई बिशेष सहुलियत प्रदान गर्ने कार्य बंगलादेशले गर्यो ।

आज बंगलादेश औषधिमा ९७ प्रतिशत आत्मनिर्भर छ । बंगलादेशले अनुदान दिँदैन तर बंगलादेशले ८० वटा मुलुकमा औषधि निर्यात गर्छ । यसको मुख्य कारण हो स्वदेशी उद्योगलाइ बंगलादेश सरकारले दिएको बिशेष संरक्षण, त्यति बेला बंगलादेश सरकार माथि पनि औषधि निर्यातक राष्ट्र र व्यापारिक समुहहरुको ठुलै दवाव थियो । तर हरेक नागरिकलाई सस्तो र गुणस्तरिय औषधि उपलब्ध गराउने औषधी नीति मा बंगलादेश ले कुनै सम्झौता गरेन र आज यो देश औषधी निर्यातक राष्ट्रमा पर्दछ ।

नेपालमा पनि हरेक उद्योगसँग आफ्नै प्रयोगशाला छ । डब्ल्युएचओ र जीएमपी मापदण्ड पुरा गरेका छन र आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । अब पालो औषधि नीतिको ८० प्रतिशत औषधि स्वदेशमै उत्पादन गर्ने लक्ष्य प्राप्ति को लागि अघि बढ्ने खाद्य सुरक्षा र स्वास्थ्य सुरक्षालाइ उद्योग र व्यवसाय भन्दा माथि उठेर राष्ट्रिय सुरक्षाको आँखाले राज्यले हेर्नुपर्छ । र सोहि अनुरुप व्यवहारमा काम गर्न सक्नुपर्छ । नेपाल पनि औषधि उत्पादनमा छोटो समयमै आत्मनिर्भर हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?