काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय सांसद प्रदीप यादवलाई गृह मन्त्रालयले क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ ।
सांसद यादवले भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएका थिए। क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर फर्किएपछि कानुनले तोकेबमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिइएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
गृह मन्त्रालयले बिहीवार जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिँदै सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन आदेश दिएको हो ।
सांसद यादवले क्वारेन्टाइनमा रहेका नेपालीहरुसँग कुराकानी गर्दै उनीहरुलाई मास्क, चिउरा तथा फलफूल समेत वितरण गरेका थिए ।
बुधबार सांसद यादव नेपालसँग सीमा जोडिएको भारतीय शहर रक्सौलको हजारी मल उच्च माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा पुगेका थिए ।
उक्त ठाउँमा २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जसमध्येका १५ जना नेपाली रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया