काठमाडौं । भक्तपुरमा मनाइदै आएको बिस्काः जात्रा यस वर्ष नमनाइने भएको छ ।
कोरोेना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम कमगर्न देशभर लकडाउन गरिएकाले भक्तपुरको बिस्काः जात्रा अर्थात बिस्केट जात्रा यस वर्ष नमनाइने भएको छ । देशमा अनिकाल, रोग, व्याधि, शत्रु नाशको कामना गर्दै मनाइने बिस्काः जात्रा विश्वव्यापी रूपमा देखिएको महामारीका कारण रोकिन पुगेको हो । चैत २७ गते बेलुकादेखि सुरु भएर आठ दिन नौ रात सम्म मनाइने बिस्काः जात्रा भक्तपुरको मुख्य जात्राको रुपमा लिइन्छ । स्थानीय भाषामा बिस्काः भनिने यो जात्रालाई बिस्केट जात्राको रुपमा पनि चिनिन्छ ।
भक्तपुर नगरको केन्द्रमा अवस्थित पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु हुन्छ । तर यसपटक लकडाउनका कारण रथ निर्माणको कामले पूर्णता समेत पाउन सकेको छैन् । गुठी संस्थानले यो वर्ष भैरवनाथको नयाँ रथ बनाउन बेतसीलगायत छानाका विभिन्न भाग तथा चारैवटा पांग्रा नयाँ निर्माण गराएको थियो । रथ तान्ने काम नभएपछि जात्रा पूजाआजामा सिमित हुने भएको छ ।
करिब २ हजार वर्ष लामो इतिहास रहेको बिस्काः जात्रा पहिलोपटक रोकिएको प्राध्यापक डा. पुरुषोत्तम लोचन श्रेष्ठले बताए । नेपाल संवत् ७ सय ४१ को चैत शुक्ल पूर्णिमाको दिन भैरवको रथ तान्ने क्रममा रथ पल्टिएको र त्यसलाई फेरी बनाएर जात्रा दोहो¥याएर निकालिएको श्रेष्ठले बताए । त्यस समयमा जात्रा रोकिएपछि विभिन्न विधानबाट क्षमा पूजा र राँगो बलि दिएर जात्रा पुनः सञ्चालन गरिएको इतिहास रहेको उनले बताए ।
जात्रा स्थगित भएपछि त्रान्त्रिक विधिबाट पूजाआजा गर्ने अथवा रथ एवं लिगो ठड्याउने काम गर्नुपर्ने उनले बताए । उनले भक्तपुरको तलेजु मन्दिरभित्र नै सुनको लिंगो बनाई उठाउने र विधि विधानअनुसार रथ तानेर जात्रालाई सम्पन्न गर्नुपर्ने बताए । उनले बिस्काः जात्राको स्थापना कालदेखि नै इतिहासमा फेला नपरेकाले यो नै पहिलोपटक रथ तान्न नपाउने गरी जात्रा स्थागित भएको इतिहास बन्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया