काठमाडौँ, २४ माघ –राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था मिलाएकाले मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गरेका छन् । मतदानका लागि छ वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मतदान गराउन १२ मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नं २ मा भने सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेकाले त्यहाँ निर्वाचन हुनेछैन । आयोगका अनुसार कूल ५६ सदस्यका लागि हुने निर्वाचनमा २४ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेकाले आज ३२ सदस्यका लागि ५२ जना उम्मेदवारबीचमात्रै प्रतिस्पर्धा हुनेछ । नेपालको संविधानको धारा ८६ मा प्रत्येक प्रदेशबाट आठ जनाका दरले कूल ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ । त्यस्तै, सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक महिलासहित तीनजना समेत गरी जम्मा ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने संवैधानिक व्यवस्था छ । मतदाता कति ? प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्य गरी कूल दुई हजार ५६ मतदाता रहेका छन् । प्रदेश नं २ मा सबै निर्विरोध निर्वाचित आजको निर्वाचनमा बाँकी ६ प्रदेशका स्थानीय तहका एक हजार २३४ र प्रदेशसभाका ४४३ गरी कूल एक हजार ६७७ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । स्थानीय तहका पदाधिकारीको प्रत्येकको मतभार १८ र प्रदेशसभाका सदस्य प्रत्येकको मतभार ४८ हुने कानुनी प्रावधान छ । आयोगले निर्वाचनमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आपूm निर्वा्चित भएको प्रमाणपत्र वा विकल्पमा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ । मतदान सकिएलगत्तै मतगणना कार्य शुरु गर्न र मतगणना कार्यलाई निरन्तर जारी राखेर पूर्णता दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिइएको जानकारी गराउँदै प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवले भने, “मतगणना कार्यलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सबै प्रदेशमा सहयोग गर्न टोलीसमेत खटाइसकेका छौँ ।” आयोगले निर्वाचनको अनुगमनका लागि सबै प्रदेशमा सहसचिव खटाएको छ । आयोगले सकेसम्म माघ २४ गते नै र नभए माघ २५ गतेसम्म सबै पदको मत परिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया