अझै लकडाउन लम्ब्याउनु पर्ने डब्लुएचओको चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन खुकुलो पार्ने विषयमा सतर्क हुनुपर्ने कुरामा जोड दिएको छ । यदि लकडाउन छिट्टै खुकुलो पार्ने हो भने कोरोना संक्रमितको संख्या धेरैको मात्रामा बढेर जाने भन्दै डब्लुएचओले सतर्क रहनुपर्ने चेतावनी दिएको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणको प्रयास स्वरुप प्राय सबै देशमा लकडाउन गरिएको छ । त्यसरी गरिएका लकडाउन छिट्टै खोलिने हो भने विश्वमा कोरोनाको संक्रमण थप जटिल भएर जाने भन्दै डब्लुएचओले सतर्क रहन समेत आग्रह गरेको छ ।

यसै क्रममा केही मुलुकले आर्थिक समस्याको सामना गर्नुपरेको भए पनि सामाजिक दूरी कायम राख्न गरिएका प्रयास खुकुलो पार्ने विषयमा भने सतर्क हुनुपर्ने डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेससले बताएका छन् ।

बीबीसीले बताए अनुसार यूरोपको सबैभन्दा प्रभावित मुलुकहरु स्पेन र इटालीले मुलुकमा लगाइएको केही प्रतिबन्ध खुकुलो पार्ने तयारी भइरहेको छ । तर, उनीहरुको लकडाउन भने जारी छ । अहिले विश्वभर संक्रमितको संख्या १६ लाख नाघिसकेको छ भने मृत्यु हुनेको संख्या पनि एक लाख दुई हजार नाघिसकेको छ ।

जेनेभामा भएको ‘भर्चुअल पत्रकार सम्मेलन’मा बोल्दै गेब्रेससले पछिल्लो समय यूरोपेली मुलुकमा यो महामारी सुस्ताउँदै गएको बताएका छन् । उनले डब्लुएचओले अहिले कडाइ बढाउने विषयमा विश्वभरका मुलुकहरुसँग सहकार्य गरिरहेको र गर्नुपर्ने कुरामा जोड समेत दिएका छन् ।

विभिन्न कारणले गर्दा अफ्रिका लगायतका मुलुकमा तीव्र दरमा भाइरस फैलिन सक्ने आशंका गेब्रेससले उक्त कार्यक्रममा व्यक्त गरेका छन् ।साथै अफ्रिकाको ग्रामीण क्षेत्रमा पनि यो भाइरस पुगिसकेको भन्दै आगामी दिनमा अवस्था अझै नराम्रो बन्न सक्ने चेतावनी गेब्रेससले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?