लकडाउन अवधि बढाउन र अलपत्र नागरिकको उद्वार गर्न मुख्यमन्त्री शाहीको माग

एलपी पौडेल / सुर्खेत। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अहिले नेपाल लकडाउनमा छ । लकडाउनका कारण जो जहाँ थिए त्यहिँ रहेका छन् । अर्थात घर फर्किँदै गर्दा लकडाउनका कारण नागरिकहरू विभिन्न स्थानमा अलपत्र परेका छन् । अलपत्र परेका केही नागरिकहरूलाई स्थानीय, प्रदेश र संघ सरकारले उद्वार पनि गरिसकेको छ । बाँकि केही नागरिकहरू विभिन्न स्थानमा अलपत्र छन् । विशेषगरी भारतबाट फर्किएका नेपाली नागरिकहरू सिमा नाकामा अलपत्र छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अलपत्र नागरिकको उद्वार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसंग माग गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियनत्रण तथा उपचारका लागि संघ, प्रदेश र स्थानीय सरकारले गरिरहेका काम कारवाही र आगामी योजनाका सन्दर्भमा सात वटै प्रदेशका मुख्यमन्त्रीसंगको भिडियो संवादमा कर्णाली प्रदेशको अवस्थाका बारेमा मुख्यमन्त्री शाहीले जानकारी दिएका हुन् ।

मुख्यमन्त्री शाहीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले गरेका कामहरूको जानकारी गराएको बताउँदै प्रदेशमा आवश्यक स्वास्थ्य सामाग्रीको आपुर्ती व्यवस्था, तिव्रगतिमा कोरोना परिक्षण भइरहेको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको बताए ।

फाट्टफुट्ट बाहेक लकडाउनको उल्लंघन नभएको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले लकडाउनको अवधि बढाउनसमेत संघीय सरकारलाई आग्रह गरे ।

कर्णाली कोरोना संक्रमणको उच्च जोखिममा रहेको बताउँदै मुख्यमन्त्री शाहीले कर्णालीका नागरिकहरुको व्यवस्थापन तथा उद्वार कार्यमा सहयोग गरिदिन आग्रह गरेका छन् । ‘कर्णालीका हजारौं युवाहरु अहिले भारतका विभिन्न शहरमा अलपत्र परिरहेको खबर आइरहेको छ । उनीहरुको रोजगारी कोरोनाले खोसेको छ । ठाउँ ठाउँमा अलपत्र परेको खबर आइरहेको छ ।’ उनले भने ।

मुख्यमन्त्री शाहीले संघीय सरकारले भारतसरकारसँग कुराकानी गरेर भएपनि ती नागरिकलाई त्यहि बस्ने व्यवस्था गराउन वा कर्णाली फर्काउन पहल गरिदिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?