वि.सं. २०७७ साल समग्रमा कति शुभ, कति अशुभ ?

काठमाडौं । बार्हस्पत्यमानले यस वर्ष परिधावी नामको संवत्सर अवसानसँगै प्रमादीनामक संवत्सरको प्रवेश भएको छ । सौरमानले प्रमादीनामक संवत्सर पनि समाप्त भई आनन्दनामक संवत्सर प्रवृत्त भएको छ ।

आनन्द नाम संवत्सर पनि चैत्र शुक्ल प्रतिपदा अगावै चैत्र २३ गते समाप्त हुने भएकोले क्षय हुनेछ । आगामी वर्ष राक्षस नामको संवत्सर हुनेछ ।

भुक्तभोग्य विचार गर्दा चैत्र २३ गतेबाट राक्षस नामको संवत्सर प्रवृत्त एवं प्रभाव रहने भएपनि वर्षभरिकै धार्मिक कृत्यहरुमा संकल्प गर्दा प्रमादी संवत्सरकै प्रयोग गर्नु पर्ने हुन्छ ।

संवत्सर फललाई विचार गर्दा प्रमादी संवत्सरमा धान्यादी वस्तुमा मूल्यवृद्धि हुनेछ । शासकहरु मात्सर्यभावले ओतप्रोत हुनेछन् । राज्यमा बस्ने शासकहरुले जनताको काम भन्दा पनि स्वार्थ पुर्तिमा लाग्ने हुनाले जनताहरु मुश्किलसँग बाच्नेछन् । आनन्द संवत्सरको प्रभावको कारण नजानिदो सुखको अनुभूति भने हुनेछ ।

पञ्चसंवत्सरात्मक द्वादस युगव्यवस्था अनुसार ईन्द्रग्नि अधिपति भएको दशम युगको द्वितीय संवत्सर परिवत्सरको प्रवाभ वर्षभरि रहने हुनाले जनतामा आलस्य वृद्धि,विवाद एंव युद्धको सम्भावना,राता वर्णको फूल एवं फलको नाश हुनेछ ।

लेखक,संगीतज्ञ,गणितज्ञ,कवि आदि वर्गको अभ्युन्नती हुनेछ । कृषि,पशुपालन एवं व्यापारबाट सम्बद्ध पक्षलाई फाईदा हुनेछ ।

यस वर्ष ग्रहपरिषद्लाई विचार गर्दा बुध राजा र चन्द्रमा मन्त्री पदमा आसीन छन् । राजकुमार राजा र राजा मन्त्रीका रुपमा रहेकाले शासनव्यवस्थामा अविवेक उदय र महत्वकांक्षाका कारण प्रचारबाजिले स्थान जमाए पनि उपलब्धि न्युनप्राय हुनेछ । शक्तिसन्तुलनमा समस्या देखा पर्नेछ ।

वृश्टिबाहुल्य हुनेछ । मन्त्री चन्द्रमा वृश्टि आदी सुखवृद्धिका लागि बुध अनुरुप एंव अनुकुल नै बन्नेछ । मनोरञ्जनात्मक र देखावटी कार्यमा राज्यकोषको दुरुपयोग बढ्नेछ । राज्यकोषको चरम दुरुपयोग गर्न शासक वर्ग र कर्मचारीहरु लागि नै रहनेछन् ।

सस्येस पदमा आसीन गुरुका कारण उचित वर्षा हुनाले धान्यादी वस्तुका प्रशस्त उत्पादन हुनुका साथै दुग्ध वृद्धिसमेत हुनेछ । धान्येस मंगलका कारण ग्रैष्मिक धानको प्रशस्त मूल्यवृद्धि हुनेछ भने चिनी,घिउ र तेल जस्ता पदार्थको बजार माग बढ्नेछ ।

मेघेश चन्द्रमाका कारण शारदीय धान र फलफूलहरुको उत्पादनमा वृद्धि हुनेछ । विशेष नास्पाती,अङ्गुर जस्ता फलहरु सस्ता हुनेछन् । रसेश शनिका कारण मेघहरु मुस्किलले मात्र वर्षने छन् ।

वर्षयाममा रोगहरु फैलनेछन् । गाई बाख्राजस्ता घरेलु चौपायाका साथै हात्ती,घोडा,उँट लगाएतका जनवारहरुमा रोगको प्रकोप बढ्नेछ ।

निरसेश बृहस्पतीका कारण बेसार लगाएत पहेँला वर्णका वस्तुहरुप्रति सबैको अभिरुचि बढ्नेछ । फलेस सूर्यका कारण पृथ्विमा फल र फूल प्रशस्त मात्रामा उत्पादन हुनेछ ।

धनेश पदमा समेत बृहस्पतीको आधिपत्य भएको कारण व्यापारी वर्ग सुखी र खुशी हुनेछन् । व्यापार घाटा केहि घट्नेछ । दुर्गेश पदमा आसिन चन्द्रमा कारण विलासिता र असचेतनाको मनोवृत्ति बढ्दा सुरक्षा व्यवस्था फितलो हुनेछ । राज्यसीमा कमजोर हुनेछ ।

सूर्य आद्र्रामा प्रवेश गरेको समयलाई विचार गर्दा यथेष्ट वृश्टिले जनतामा सुखको सञ्चार र लोकमा सुभिक्ष बढ्नाले थोरै भएपनि राहत महसुस हुनेछ । तर त्रासदीपूर्ण वातावरण भने रहिरहनेछ ।

जगलग्नकुण्डली विचार गर्दा लग्नेस मंगल तृतिय स्थानमा बृहस्पति र शनिको साथमा मित्रगृही भएर बसेको छ । राज्यधिकारीहरुले समस्या समाधानको लागि योजना तर्जुमा गरेमा सबैको विश्वास र साथ प्राप्त हुनेछ । अपरिपक्व सरसल्लाहले राज्यको नेतृत्ववर्ग अलमलमा नै रहनेछन् ।

शासकवर्ग मनोरञ्जन र बिलाशी जीवनयापन गर्न उन्मुख रहनाले राज्यको व्ययभार बढ्नेछ । बिभिन्न रोगको प्रकोपको कारण आर्थिक गतिविधिमा मन्दि आउनेछ जसको कारण पुँजी परिचालन नहुदा राज्य आर्थिक संकटको दलदलमा फस्नेछ ।

ठूला-ठूला विकासका तथा गौरवका आयोजनाहरुले गति लिन सक्दैनन् । विप्रषणको कारोबार अन्य वर्षभन्दा कम रहनेछ ।

प्राप्त वौद्धिक परामर्ष एंव सुझावलाई नेतृत्वले मनन गरेपनि तदनुरुप क्रियान्वयन हुने सम्भावना न्यूनप्रायःदेखिन्छन् । संयम र सुझबुझका साथ अगाडि बढेमा केहि समस्याहरु समाधानतर्फ उन्मुख हुनेछन् ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?