सीमाभन्दा १० प्रतिशत थप कर्जा र व्याजदर ३ प्रतिशत घटाउनुपर्ने व्यवसायीको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्वीकृतभन्दा १० प्रतिशत अतिरिक्त कर्जा र सबैखाले कर्जाको ब्याज तीन प्रतिशतले घटाइनुपर्ने माग गरेको छ ।

महासंघकी अध्यक्ष भवानी राणाले आइतवार नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारी समक्ष पेश गरेको सुझावमा यस्तो माग गरिएको हो ।

अध्यक्ष राणाको नेतृत्वमा गएको महासंघको पदाधिकारीहरू सहितको प्रतिनिधिमण्डलले महामारीको रूपमा संसार भरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि मुलुक लकडाउनमा रहेका कारण उद्योग, व्यापार तथा व्यवसायमा पर्न गएको असर वारेमा ध्यानाकर्षण गराउंदै राष्ट्र बैंकबाट हुनुपर्ने सहयोगका विषयमा सुझाव दिएको छ ।

लकडाउन समाप्त भएपछि कम्पनी तथा फर्म खुले पनि नगद प्रवाहको व्यवस्थापन गर्न कम्पनी तथा फर्मलाई अत्यन्त चुनैतिपूर्ण हुने भन्दै माग गरिएको छ । जसमा बैंक तथा वित्तीय संस्थाबाट विभिन्न शीर्षकमा कर्जा स्वीकृत गरी ऋण लिई पौष मसान्तसम्म नियमित कारोबार गरिरहेका बैंक तथा वित्तीय संस्थाका ग्राहक (कम्पनी तथा फर्म) लाई स्वीकृत सीमा भन्दा बढीमा १० प्रतिशतसम्म थप कर्जा दिन सक्ने व्यवस्था तत्कालै गरिनुपर्ने माग छ ।

सो अवसरमा नवनियुक्त गभर्नर अधिकारीले कोरोनाको कारण मुलुकको अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा राष्ट्र बैंकले पनि अध्यनलाई अगाडी बढाएको अवस्थामा निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघले बुझाएको सुझाव अध्ययनलाई अगाडी बढाउन थप सहयोगी हुने बताएको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?