काठमाडौं – वर्ष २०७६ लाग्दै गर्दा हलहरुमा ७५ सालको अन्तिम शुक्रबारबाट रिलिज भएका फिल्महरु ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ प्रदर्शनरत रहेका थिए । तर, वर्ष २०७७ लाग्दै गर्दा हलहरुमा कुनै पनि फिल्महरु छैनन् भने फिल्मी गतिविधि ठप्प छन् । चीनको बुहानबाट शुरु भएको भनिएको कोरोना भाइरसको प्रकोपले विश्व बजार लगभग ठप्प छ, जसको प्रत्यक्ष प्रभाव नेपाली फिल्म क्षेत्रमा पनि परेको हो ।
कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन अगावै चैत ५ देखि नेपालका सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, जिम, हेल्थ क्लब, म्युजियम लगायतका मनोरञ्जन स्थल अप्रिल ३०(वैशाख १८) सम्म बन्द गर्ने निर्णय गरेको थियो । सो अवधि अझै लम्बिने संभावना पनि रहेको छ ।
वैशाख १३ मा कालो वर्षबाट यस वर्षको फिल्म रिलिजको पर्दा उघ्रेको थियो भने लक डाउन(चैत ११ ) अघि फागुन ९ गते सेन्टी भाइरस र आमा पर्दामा लागेका थिए । त्यसो त पुष महिनामा कुनै पनि नेपाली फिल्म हलमा लागेनन् । दशैँलाई लक्षित गर्दै फिल्म हलमा लगाउन मेकरबीच हानथापको अवस्था सिर्जना भएको थियो ।
नाफा कमाएका आधा दर्जन फिल्म
कोरोनाबाट प्रभावित हुनुअघि नेपाली रजतपटमा ५५ जटा फिल्महरु रिलिज भएका थिए । ती मध्ये औँलामा गन्न सकिने फिल्मले मात्र मुनाफा कमाउन सकेका छन् । कतिपय फिल्म हल्लामा चलेका छन् । त्यसो त फिल्मले फिक्समा हलको पर्दा किन्ने गरेको भनेर आलोचना समेत हुने गरेको छ । समीक्षागत र व्यवसायिक रुपमा सफल भएका फिल्म भने ‘जात्रै जात्रा’, ’कबड्डी कबड्डी कबड्डी’, ‘छ माया छपक्कै’ र आमा हुन् । यस्तै ए मेरो हजुर ३ ले पनि व्यवसायिक सफलता भने पाएको थियो । करिव आधा दर्जन फिल्मले निर्मातालाई मुनाफा दिएको छ ।
ठूलो अपेक्षाको आलोचित फिल्म
फिल्म दाल भात तरकारीलाई भने व्यवसायिक सफलता मिलेपनि समीक्षागत रुपमा नकरात्मक टिप्पणी आएको थियो । त्यस्तै, जनस्तरबाट निर्माण भइरहेको गौतम वुद्ध अन्तर्राष्ट्रिय रंगशालाको सहयोगार्थ निर्माण गरिएको फिल्म सेन्टी भाइरसले आर्थिक संकलन सुरुवात राम्रो गरेपनि निर्माणमा लापरबाही गरेको आरोप खेपेको थियो ।
आस गरिएका पनि असफल
चर्चा पाएर पनि असफल रहेको फिल्महरुमा कप्स, साइनो, जाइरा, मारुनी, रातो टिका निधारमा, हजार जुनी सम्म, पोइ प¥यो काले, बादशाह जुट, माछा माछा, चच हुई, मिस्टर नेपाली, घामड शेरे, सरौतो रहे । यी फिल्महरुका औषत ३० करोड बराबरको लगानी पनि खेर गयो । त्यस्तै, अभिनयमा पारगंत अभिनेता विपिन कार्की अभिनित फिल्म सेल्फी किङ्ग र विराज भट्टको फिल्म साङ्लो सफल हुनेमा आस गरिए पनि दर्शकलाई निराश बनायो ।
जो असफल रहे
यस्तै कालोवर्ष, पसिना, कुम्भकरण, काउसो, रेश, प्रेम दिवस, झट्का, आप्पा, कीर्तिपूर, सानो मन, घर, बदला, एकलव्य, सुपर गोर्खे, न यता न उता, रातो गलबन्दी, साइनो, रे, काँचुली आए गएको पत्तै भएन । यी फिल्महरुले प्रचारको पैसा पनि फिर्ता गर्न सकेन । त्यस्तै सोच, हिरो नं वान, काले दाई, शिवम्, लक्ष्मी रानी, जीवन काँडा कि फूलको पनि अवस्था उस्तै रह्यो । लभ यू हमेशा, मखमली मखमली, माया पिरिम, सूर्य किरण, १२ सत्ताइस, दी कर्मा, ले पनि बक्स अफिसमा पानी भन्न पाएन । यी फिल्महरुले लगानीको हिसाबले फिल्मको संख्यामा बढावा दियो तर, निर्माताको खल्ती भने भर्न सकेन ।
स्टारडम हारेको वर्ष
समीक्षकको मतलाई आधार मान्ने हो भने नेपाली रजतपटमा कुनै स्टनर छैनन् जसको फिल्म हेर्नको लागि दर्शकले हलसम्म जाने कष्ट गरुन् । वर्ष २०७६ मा रजतपटमा स्टारडमले प्रभुत्व जमाउन सकेनन् । वर्तमान समयमा मेगास्टार भनिएका अनमोल केसीले अलमलमै यस वर्ष विताए । उनले यस वर्ष फिल्ममा अनुबन्ध हुँदै बाहिरिने काममा नै केही समय व्यतित गरे । केही समय पहिले अनमोलले स्क्रिप्ट चित्तबुझ्दो नभएको भन्दै फिल्म ‘ब्याचलर बन्टी’बाट अन्तिम समयमा हात झिकेको थिए । अर्को फिल्म ‘एन्टी हिरो’ पछि धकेलेर ‘धुपौरे’ साइन गरेका थिए ।
अनमोलले ‘एन्टी हिरो’ लाई पनि अन्तिम समयमा आएर स्क्रिप्ट चित्तबुझ्दो नभएको बहानामा हात झिकेको चर्चा फिल्मीवृतमा चलेको थियो । स्क्रिप्ट दराजमा थन्किएको फिल्म ‘भागवत गीता’ मा अनमोलले काम गर्ने चर्चा पनि चलेको थियो । तर, उनी ए मेरो हजुरको चौथो सिरिजमा अनुबन्ध भए । ए मेरो हजुर ४ फ्लोरमा गए पनि कोरोनाका प्रकोपको कारणले फिल्मको काम अघि बढ्न सकेको छैन ।
त्यस्तै, अर्का स्टार प्रदीप खड्का आफूलाई स्थापित गरेको फिल्म प्रेमगीतको सिरिजको भरमा रहेको थिए । गतवर्ष अभिनित फिल्म ‘रोज’ र ‘लभ स्टेशन’ रिलिज भएका थिए । तर, दुई ओटै फिल्म बक्स अफिसमा चिप्लियो । समीक्षकलाई एक हप्ता पछि मात्र समीक्षा गर्न सुझाएका प्रदीप अभिनित ‘लभ स्टेशन’ लाई चोरीको आरोपले खुइलाईदिएको थियो, जसकारण प्रदीप प्रेम गीत ३ को लागि दिलो ज्यान दिएर लागेका थिए ।
अर्की स्टार साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनति फिल्म ‘मारुनी’ र ‘रातो टिका निधारमा’ ब्याक टू ब्याक फ्लप भयो । गतवर्ष फिल्म बुलबुलमा जीवन्त अभिनय गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डको हकदार बनेकी स्वस्तिमा खड्काको पनि यसवर्ष पर्दामा जादु चलेन । ‘बुलबुल’ पछि रिलिज भएको ‘हजार जुनीसम्म’ले बक्स अफिसमा रेड सिग्नल देखायो । त्यस पछिको फिल्म ‘घामड शेरे’ को पनि उस्तै हाल भयो । ब्याक टू ब्याक फ्लप स्वस्तिमालाई राम्रै झट्का लागेको चर्चा पनि फिल्मी वृतमा चलेको छ । त्यसो त कोराना प्रकोपले रिलिज रोकिएको फिल्म चपली हाइट ३ मार्फत उनी पर्दामा आउने थिइन् । त्यस्तै, अर्की स्टार पूजा शर्माको स्टारडम पनि उतिसाह्रो टिकेन । अभिनित फिल्म ‘पोइ प¥यो काले’ बक्स अफिसमा सफल हुन सकेन ।
त्यस्तै साम्राज्ञी र पूजाबीच पारिश्रमिक कसको बढी भनेर अघोषित प्रतिस्पर्धा नै चल्यो । छोटो समयमा नै नम्बर एक नायिकाबाट ओरालो यात्रामा लागेकी प्रियंका कार्कीको स्टारडम पनि चलेन । चर्चित अनुहार सौगात मल्ल, निश्चल बस्नेत, आर्यन सिग्देलको स्टारडम पनि उपयोगि रहेन ।
जो चले
जेठ ३ बाट प्रदर्शनमा आएको फिल्म जात्रै जात्रामा विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, रवीन्द्र सिंह बानियाँ, दयाहाङ राई लगायत शीर्ष भूमिकामा छन् । यस्तै दशैँको अवसर पारेर असोजको पहिलो साता प्रदर्शनमा आएको कबड्डी कबड्डी कबड्डी मा दयाहाङ राई, उपासना सिंह ठकुरी, विजय बराल, कर्मा, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ । असोज २३ बाट प्रदर्शनमा आएको फिल्म छ माया छपक्कैमा दीपक राज गिरी, केकी अधिकारी, केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल, सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । फागुन ९ बाट प्रदर्शनमा आएको फिल्म आमामा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।
दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘छ माया छपक्कै’ ले समीक्षकबाट पनि राम्रो चर्चा कमायो । विषयवस्तुका हिसाबले प्रदीप भट्टराई निर्देशित फिल्म जात्रै जात्रा, रामबाबु गुरुङ निर्देशित कबड्डी कबड्डी कबड्डी, दीपेन्द्र के खनाल निर्देशित फिल्म आमा सफल फिल्मका रुपमा दरिए त्यसैले यी निर्देशक सफल निर्देशकको रुपमा दरिए ।
सिरिज र कमेडीले धानेको वर्ष
वर्ष २०७६ सिक्वेल र कमेडीले धानेको वर्ष भन्दा अत्युक्ति नहोला । बक्स अफिसमा सफल फिल्म जात्रै जात्रा र कबड्डी कबड्डी कबड्डी सिक्वेल तथा सिरिज हुन् । सन् २०१६ मा प्रदर्शनमा आएको फिल्म ‘जात्रा’ को सिक्वेल हो जात्रै जात्रा । कबड्डी कबड्डी कबड्डी फिल्म कबड्डीको तेस्रो सिरिज हो । विषयवस्तुका हिसाबले ‘जात्रै जात्रा’, ‘कबड्डी कबड्डी कबड्डी’ र ‘छ माया छपक्कै’ फरक भए पनि तीनै फिल्म कमेडी जानरामा बनाइएका थिए । यी तीनै कमेडी फिल्म वर्षका स्तरीय फिल्मको रुपमा देखा परे । समाजिक कथामा बनेको फिल्म आमाले धेरैको मन जितेको थियो ।
स्क्रिप्टमा पर्याप्त ध्यान नदिइनु, फिल्मको प्रस्तुतिकरणमा ध्यान नदिइनु, व्यवशायीक रुपमा प्रचार–प्रसारको अभाव, कलाकार अनप्रोफेशनल भइदिने लगायतका विगतका वर्षहरुको कमजोरी यसवर्ष पनि सुधार भएन ।
यस वर्ष प्रदर्शन गर्ने भनिएका फिल्महरु ‘म यस्तो गीत गाउँछु २’, ‘नीरफूल’, ‘लक्का जवान’, ‘प्रेमगीत ३’ र ‘चपली हाइट ३’ र ‘माइकल अधिकारी’ रिलिज हुन पाएनन् । लकडाउन भन्दा अघि करिब ८ वटाको हाराहारीमा फिल्महरु फ्लोरमा थिए । फिल्मी गतिविधि ठप्प हुँदा फिल्मकर्मीको ठुलो रकम फसिरहेको छ । फिल्मी गतिविधि ठप्प हुँदा अहिले दैनिक करोड बराबारको घाटा नेपाली रजतपटले व्यहोरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया