काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीको विभिन्न दर्जाको तलब काटिने भन्ने कुरा चौतर्फी विरोध भएको छ ।
प्रहरीको असईदेखि आइजीसम्मको तलव काट्न लागेको भन्दै काट्न नहुने भन्दै सर्वोच्चमा दायर गर्न लागिएको रिट खारेज भएको छ।
यस्तो संकटको बेला आफ्नै ज्यान जोखिममा रहेको सुरक्षाकर्मीहरुको तलब काट्न नहुने भन्दै अधिवक्ता टिका बहादुर कुँवरले सर्वोच्चमा रिट दायर गर्न लागेका थिए। तर सर्वोच्चले उक्त रिट दरपिट नगरी फिर्ता पठाएको छ।
उक्त विषयमा यस भन्दा अघि नै मुद्दा रहेको र सुनुवाई गर्नुपर्ने कानूनी आवश्यकता नदेखिएको भन्दै रिट दर्ता नगरिएको सर्वोच्च अदालतले मुद्धा दर्ता गर्न अस्विकार गरेको जनाइएको छ ।
प्रहरीका सिनियर र जुनियर प्रहरी अधिकृतको तीनदेखि सात दिनसम्मको तलब कोरोना कोषमा जम्मा गर्न निर्देशन दिएको हो । आर्थिक प्रशासनका प्रमुख एसएसपी दीपक थापाद्धारा हस्ताक्षरित पत्रमा प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी महानिरीक्षक (आईजीपी) सम्मको तलबबाट कोषमा जम्मा गरिने भएको हो ।
साथै उक्त पत्रमा वैशाख महिनाको तलबाट कोषमा रकम जम्मा गर्ने भनिएको छ । जम्मा गरिएको रकमको भौचर प्रतिलिपि प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी वा प्रदेश प्रहरी कार्यालयमा संकलन गरी आर्थिक महाशाखामा बुझाउन पत्रमा उल्लेख गरिएको छ ।
पत्रमा प्रहरी महानिरीक्षक (आईजीपी) र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), प्रहरी नायब महानिरीक्षक (डीआईजी) र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) ले सात दिनको तलब कट्टा गरी कोषमा जम्मा गर्नुपर्ने जनाइएको छ ।
यस्तै प्रहरी उपरीक्षक (एसपी), प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्सपेक्टर) ले पाँच दिनको तलब कट्टा गरी कोषमा दाखिला गर्नुपर्ने उल्लेख छ । यस्तै प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई) ले तीन दिनको तलब कट्टा गरी कोषमा जम्मा गर्नुपर्ने प्रहरी हेर्डक्वार्टरको निर्देशन रहेको थियो ।
जस अनुसार आईजीपीको एक दिनको तलब २,०२३ रुपैयाँ काटिने भएको छ । आईजीपीको सात दिनको तलब कट्टा गर्दा १४ हजार १६१ रुपैयाँ कोषमा जम्मा हुनेछ । त्यस्तै एआईजीको एक दिनको तलब १४ हजार १६१ रुपैयाँ नै कोषमा जम्मा हुनेछ ।
डीआईजीको एक दिनको तलब १७ सय रुपैयाँ छ । सात दिनको तलब तलब कट्टा गर्दा ११ हजार ९०० रुपैयाँ कोषमा जम्मा हुन्छ । यस्तै एसएसपीको एक दिनको तलब १५ सय ७९ रुपैयाँ छ । सात दिनको तलब कट्टा गर्दा ११ हजार ५३ रुपैयाँ कोषमा जम्मा हुनेछ ।
यस्तै एसपीको एक दिनको तलब पत्रका अनुसार १ हजार ४४९ रुपैयाँ छ । पाँच दिनको तलब कट्टा गर्दा ७ हजार २४५ रुपैयाँ कोषमा जम्मा हुनेछ । डीएसपीको एक दिनको तलब १ हजार ३४६ रुपैयाँ छ । जसमा पाँच दिनको तलब कट्टा गर्दा ६ हजार रुपैयाँ कोषमा जम्मा हुन्छ ।
यस्तै इन्सपेक्टरको प्रति दिनको तलब १ हजार २०० रुपैयाँ छ । जसमध्ये पाँच दिनको तलब बट्टा गर्दा ६ हजार रुपैयाँ कोषमा जम्मा हुन्छ ।
सईको एक दिनको तलब ९४० र असईको ८८६ रुपैयाँ छ । सईको तीन दिनको तलब कट्टा गर्दा २ हजार ८२० रुपैयाँ र असईको तीन दिनको तलब कट्टा गर्दा २ हजार ६५८ रुप्पैया कोषमा जम्मा हुन आउँछ । नेपाल प्रहरीका सिनियरदेखि जुनियर प्रहरी अधिकृतबाट ४ करोड १८ लाख २३ हजार २२१ रुपैयाँ कोषमा जम्मा हुन आउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया