र्‍यापिड टेष्टमा देखियो बाग्लुङमा थप एकजनालाई कोरोना पोजेटिभ

काठमाडौं । बाग्लुङमा एक जनामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएको छ । उनी भारतबाट तिर्थ गरेर फर्किएको एक महिला भएको बुझिएको छ । काठेखोला गाउँपालिका घर भएकी अन्दाजी ५५ /६० वर्षीय महिलामा आइतवार स्वास्थ्यकर्मीले र्‍यापिड कीट टेष्ट गरेका थिए । ती महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि फेरि जाँच गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

पहिलाको र्‍यापिड टेष्टमा दोधारजस्तो भएपछि चेकजाँचका लागि जिल्लाका अन्य स्वास्थ्यकर्मीहरुलाइ समेत बोलाइएको थियो ।

यसअघि आजै वीरगंजमा ३ जना भारतीयलाई कोरोना भएको पुष्टि भएको थियो । आईतबार थपिएका उनीहरु तीनै जना भारतिय नागरिक हुन् ।

आईतबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ३ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको थियो । गएराति परिक्षण गरिएका नमूनामध्ये तिन वटा नमूना पोजेटिभ देखिएको संक्रमित ३७ वर्षिय, ४४ वर्षिय र ५५ वर्षिय पुरुष रहेको र उनीहरुको वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । दिउँसो थपिएका तीन जना संक्रमित र अहिले संक्रमण पोजेटिभ देखिएकी महिला गरी नेपालमा हालसम्म कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको छ ।

पीसीआर र र्यापिड किटबाट उपत्यका र उपत्यका बाहिर गरी देशभर आठ हजार पाँच सय ५ जनाको नमुना परीक्षण भएको छ । हालसम्म ७ हजार ९ सय ७३ जना क्वारेन्टाईनमा छन् । त्यस्तै काठमाडौंमा १५ जना र काठमाडौँबाहिर ७० जना गरी जम्मा ८५ जना आईसोलेसनमा रहेका छन् ।

डाक्टर देवकोटाका अनुसार हालसम्म र्यापिड डाईग्नोस्टिक टेष्टमार्फत ३३२१ जनाको पछिल्लो जाँचसँगै हालसम्म ८ हजार ५ सय ५ जनाको जाँच भएको छ । मन्त्रालयको कल सेन्टर १११५ र ११३३ मा ३१३६ वटा फोन कल आएकोमा सबैलाई जवाफ दिएको छ । उनले भने, मोबाईल एप्लिकेसन वेव पेजमा हालसम्म १५ हजार ७० जनाले विवरण टिपाएकोमा गत २४ घण्टामा ९५४ जनाको विवरण अपडेट भएको छ ।

तिमध्ये १७ जना रेड जोनमा परेका छन् । हालसम्म २०६ जना रेडजोनमा रहेका छन् । उनीहरुलाई परामर्श दिने, निरन्तर संवाद गर्ने काम भइरहेको छ ।

यसअघिका ९ जना कोरोना संक्रमित नेपाली, को कहाँ बाट आएका थिए  ? 

पहिलो संक्रमित – चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो

दोस्रो संक्रमित – फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको

तेस्रो संक्रमित-  युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको

चौंथो संक्रमित – युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको

पाचौं संक्रमित – बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको

छैठौं संक्रमित – कतार हुँदै फर्किएकी बाग्लुङकी महिलाको २० चैत्रमा पत्ता लागेको

सातौं संक्रमित – भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, २२ चैत्रमा पत्ता लागेको

आठौं संक्रमित – भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष, २२ चैत्रमा पत्ता लागेको

नवौं संक्रमित – कैलालीकी ३४ वर्षीय महिला २२ चैत्रमा पत्ता लागेको

आईतबार थपिएका वीरगंजका तीन जना भारतीय मुस्लिम धर्म प्रचारक थिए

शुक्रबार दिउँसो २ बजे हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा ३५ जनाको कोरोना परीक्षण रिपोर्ट जारी गर्दा वीरगन्जको एक मस्जिदमा बसिरहेका तीन भारतीय मुस्लिम धर्म प्रचारकहरुमा कोरोनाको आशंका गरिएको थियो।

मिश्रित रिपोर्ट आएपनि उनीहरुलाई कोरोनाको आशंका गरिएको थियो । त्यसपछि लगत्तै उनीहरुलाई वीरगञ्जको छपकैयाँस्थित मस्जिदबाट नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा सारिएको थियो।

उनीहरुको नमूना पोजेटिभ हो वा होइन भन्ने प्रस्ट हुन नसकेपछि थप पुष्टि गर्नका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको थियो ।

शनिबार साँझ उनीहरुसँगै छपकैयाँस्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका अन्य २१ धर्मप्रचारकहरुलाई पनि क्वारेन्टाइनमा पठाइएको छ।

उनीहरुलाई स्थानीय सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा सारिएको छ।

बिहीबार छपकैयाँ र बाराको घुसुकपुर मस्जिदका २४ जना धार्मिक गुरु नारायणी क्षेत्रीय अस्पतालमा ‘स्क्रिनिङ’का लागि आएका थिए।

उनीहरुले आफूहरु चार महिनादेखि नेपालमा रहेको अस्पतालमा बताएका थिए। तर स्थानीयहरुले ९ /१० दिनअघि मात्र यी गुरुहरु मस्जिदमा आएको बताएका छन्। यतिबेला नेपालमा लकडाउन छ । यदि स्थानीयको भनाई साँचो हो भने उनीहरु लकडाउनको समयमा कसरी र के उदेश्यले नेपाल आए ?  प्रश्न गम्भिर छ । त्यस्तै नेपाल भारत सीमा क्षेत्रमा यस्ता धर्म प्रचारकहरु ठुलो सङ्ख्यामा रहनु र तिनीहरू संक्रमित भएको सम्भावना हुनुले सो क्षेत्रमा अहिले नयाँ चुनौती थपिएको छ ।

१३ औँ संक्रमित : भर्खरै प्राप्त जानकारी अनुसार भारतमा तिर्थ गरेर फर्किएकी बाग्लुङकी महिला भएको स्रोतले बताएको छ ।

यद्यपी स्वास्थ्य मन्त्रालयले भने यसबारे पुष्टि गरेको छैन । यसअघि पनि शनिबार नै वीरगंजको खबर बाहिरिएको अवस्थामा मन्त्रालयले आईतबार दिउासो मात्रै जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?