नयाँ वर्ष २०७७ सुरु, घरभित्रै मनाइँदै

आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । नेपालभर र विदेशमा रहेका नेपालीले एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँदैछन् ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।
सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराईले बताए। “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उनले भने

सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलियुग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण नेपालीले घरमै बसेर नयाँ वर्ष मनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?