काठमाडौं । कोरोना महामारीले सारा विश्व नै त्रसित छ । भयावहको रुपमा कोरोना भाइरस फैलिए पछि अहिले अधिकांश मुलुकहरुमा लकडाउन गरीएको छ । त्यस्तै, कोरोनाभाइरस नियन्त्रणका लागि इन्डोनेशियाको एउटा गाउँमा मानिसहरू घरभित्रै बसून् र बाहिर निस्किनुपर्दा एक अर्काबीच दूरी कायम राखून् भन्ने उद्देश्यले भूतको भेषमा स्वयंसेवकहरू परिचालित भएका छन् ।
गत महिनादेखि जाभा द्वीपको केपु गाउँमा ती स्वयंसेवकहरू गस्ती गर्न राति सडकमा निस्किन थालेका हुन् । इन्डोनेशियाको लोककथामा मृत्यु भएका मानिसको आत्माले मुक्ति पाएन भने पोकोङ बन्ने उल्लेख छ ।
पोकोङहरू डरलाग्दा हुन्छन् । स्वयंसेवकहरूले त्यस्तै भेषधारण गरेका हुन् । इन्डोनेशियामा झन्डै ४,५०० जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । तीमध्ये ४०० जनाको मृत्यु भएको जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङ्कले देखाउँछ ।
तर विज्ञहरूले देशभरि सङ्क्रमण नराम्ररी फैलिएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् । गाउँलेहरूका अनुसार स्वयंसेवकहरूले गस्ती गर्न थालेपछि अवस्थामा सुधार आयो ।
पोकोङ देखिन थालेपछि अभिभावक र बालबालिकाहरू घरबाट बाहिर निस्किएका छैनन्, कर्नो सुपद्मोले रोएटर्ससँग भने। अनि मानिसहरू सन्ध्याकालीन प्रार्थनापछि बाटोमा भेला हुने वा बसिरहने गर्दैनन् ।
पोकोङको भेषमा स्वयंसेवकहरूलाई देखेपछि कोरोनाभाइरस कति घातक हुन सक्छ भन्ने गाउँलेहरूले बुझेको र त्यो अभियान प्रभावकारी भएको स्थानीय मस्जिदका रक्षक अन्जर पान्काले जाकार्ता पोस्ट पत्रिकालाई बताए ।
गाउँले युवाहरूको समूहका प्रमुखको अगुवाइमा स्थानीय प्रहरीसँग सहकार्य गरेर उक्त अभियान थालिएको हो ।
हामी अरूभन्दा फरक हुन चाहन्थ्यौँ। अनि पोकोङहरू डरलाग्दा देखिने भएकाले तिनबाट (गाउँलेहरू) हतोत्साह होऊन् भन्ने चाहन्थ्यौँ, युवा समूहका प्रमुख अन्जर पन्कानिङ्त्यासले रोएटर्ससँग भने ।
पोकोङको गतिविधि नियाल्न केपु गाउँको भ्रमण गरेका समाचारसंस्था रोएटर्सका कर्मचारीका अनुसार भूतको भेषमा स्वयंसेवक परिचालन गर्दा सुरुसुरुमा गाउँलेहरू तिनलाई हेर्न बाहिर आए । त्यसबाट तत्कालै सोचे जस्तो परिणाम आएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया