सनसिटी अपार्टमेन्टमा रहेकाहरुको परीक्षण शुरु

काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ मा कोरोना संक्रमण देखिएसँगै अन्य व्यक्तिहरुको कोरोना परीक्षण शुरु गरिएको छ ।

गत चैत ५ गते विदेशबाट आएका तीन जनामा सोमवार कोरोना संक्रमण देखिएको थियो । जसमध्ये २ जनाको पुष्टि भइसकेको भने एकजनाको परीक्षण भइरहेको छ । साथै अन्यमा पनि संक्रमण देखिएको आशंकामा परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विभिन्न माध्ययमबाट संक्रमित व्यक्तिसँगको सम्पर्कमा आएका अन्य मानिसहरुको ट्रेसिङ पनि सुरु गरिएको मन्त्रालयले मंगलबार फेसबुकमार्फत जानकारी दिएको छ ।

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आइ बसेका एकै परिवारका ५८ वर्षका पुरुष र ८१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुकै परिवारका अर्का एक जनाको पहिलो परीक्षणमा भने कोभिड १९ पोजेटिभ नदेखिएको मन्त्रालयले जनाएको छ ।

हाल संक्रमितहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ । हालसम्म नेपालमा १६ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने १ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?