काठमाडौं । मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले बैशाख १५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । त्यससँगै सरकारले वैशाख १८ गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय पनि यसअघि गरिसकेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि २०७६ चैत ११ गतेबाट १८ गतेसम्म पहिलो पटक लकडाउनको घोषणा गरेको थियो । भने कोरोनाको जोखिम कम गर्न चैत २५ र त्यसपछि बैशाख३ गते बुधवारसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको थियो ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । सोमवार मात्र काठमाडौंको सनसिटी अपार्टमेन्टमा पनि तीनजनामा कोरोना आशंका गरिएको थियो, जसमध्ये २ जनाको रिपोर्ट पोजेटिभ आइसकेको छ । साथै १ जनाको परीक्षण भइरहेको छ । एकाघरका तीनजना सदस्यको एन्टिबडीको नतिजा पोजेटिभ आएपछि निक्र्यौलका लागि स्वाब जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।
त्यसको साथसाथै हालसम्म प्रदेश नम्बर २, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित फेला परेका छन् । कोरोना भाइरसको कारण हालसम्म विश्वमा १ लाख २० हजार भन्दा बढी मानिस मरिसकेका छन् । भने १९ लाख ३० हजार भन्दा बढी मानिस संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया