र्‍यापिड टेष्ट गर्दा धादिङका एक युवकमा देखियो कोरोना पोजेटिभ

काठमाडौं । धादिङका एक २७ वर्षीय युवकमा र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । धादिङ ज्वालामुखी गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा भएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । उनी गत फागुन २० गते (४ मार्च) मा दक्षिण कोरियाबाट नेपाल आएका थिए ।

केहि समय अघिदेखी विदेशबाट नेपाल आएकाहरुको परीक्षण गर्ने क्रममा उनमा कोरोना पोजेटिभ पाइएको हो ।

उनलाई सदरमुकामस्थित अस्थायी आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइने त्यहाँको स्थानीय प्रशासनले जनाएको छ । साथै उनका परिवार र उनले भेटेका आफन्तको पनि खोजी भइरहेको जनाइएको छ ।

फागुन २० मै नेपाल आएका उनलाई चैत २/३ गते नै ज्वरो आएको बताइएको छ ।

हालसम्म नेपालमा १६ जनामा कोरोना संक्रमण देखिएको छ । भने १ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?