काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) सम्बन्धि छलफल गर्न प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति बैठक बसेको छ ।
उक्त बैठकमा सांसद गगन थापाले भारतमा लक डाउन खुकुलो हुने वित्तिकै नेपाली भित्रिनेको संख्यामा बृद्धि हुने भएकाले सीमानाका, र क्वारेन्टाइन व्यवस्थापनको योजना अहिले नै बनाएर लागु गनुपर्ने बताएका छन् । सरकारले सडक सुधारको कामलाई तिव्रता दिएजस्तै गरी तीन महिना पछि आउन सक्ने संकटको अवस्थालाई ध्यान दिँदै काम अगाडी बढाउनुपर्ने उनले बताए । पर्याप्त स्वास्थ्य उपकरणको व्यवस्था गर्नुपर्ने र नियमित स्वास्थ्य सेवालाई प्रभावित नगर्ने गरी अगाडी बढ्नुपर्ने सुझाव उनले दिएका छन् । राहत प्याकेजमा चामल र दाल मात्रै नभएर ज्यालादारी गर्दै आएका व्यक्तिहरुका लागि औषधिको व्यवस्था पनि गर्नुपर्ने सुझाव उनले दिए ।
अनौपचारिक रुपमा बसेको बैठकमा अनलाइन मार्फत सहभागि भएका सांसदहरुले सीमानाकाको व्यवस्थापन, परीक्षणको दायरा विश्वसनिय ढंगले बढाउनुपर्ने सुझाव दिएका छन् । भिडियो कन्फ्रेन्स मार्फत बसेको बैठकमा सांसदहरुले पठाएका सुझावहरुलाई केन्द्रीत गरेर सरकारको ध्यानाकर्षण गराउने र सुझाव पेश गर्ने निर्णय भएको समिति सभापति जयपुरी घर्तिले बताइन् ।
बैठकमा सांसद खगराज बरालले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) समितिमा औषधि विज्ञ, ल्याव विज्ञ र जनस्वास्थ्य विज्ञलाई समेत सहभागि गराउनुपर्ने बताए । मन्त्रालयको काम चुस्त दुरुस्त राख्न जरुरी रहेकाले भएका कमिकमजोरी सच्याउँदै अगाडी बढ्नुपर्ने उनले बताए । सरकारी र नीजि अस्पताललाई चिकित्सकहरुलाई अभियानमा सहभागि हुन आह्वान गर्नुपर्ने र पिसिआर मेसिनबाट परीक्षण दायरा बढाउनुपर्ने उनले बताए ।
काठमाडौंमा उपलब्ध सांसदहरु प्रत्यक्ष रुपमा बैठकमा सहभागि भएका थिए । काठमाडौं उपत्यका बाहिर र उपत्यकामै भएर पनि लक डाउनका कारण सिंहदरबार आउन नसकेका सांसदहरु भर्चुअल रुपमा बैठकमा सहभागि भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया